२०८३, कार्तिक २२ गते

आइतवार, कार्तिक २२ गते २०८३

तिहारमा मादलको सम्झना

डिजिटल धुनको भीडमा हराएन मादलको ताल

शनिवार , कार्तिक २१, २०८३

 

नेपालसेज / सुनसरी। आधुनिक प्रविधिसँगै गीतसङ्गीत र सांस्कृतिक कार्यक्रममा डिजिटल साउन्ड सिस्टमको प्रयोग बढ्दै गए पनि नेपाली मौलिक बाजा मादलको लोकप्रियता भने घटेको छैन। तिहार नजिकिएसँगै देउसीभैलो खेल्ने समूहले मादल खरिद गर्न थालेपछि यसको व्यापार बढेको छ। विशेषगरी धरान र आसपासका बजारमा मादलको माग बढ्न थालेको व्यापारीहरूले बताएका छन्।

सम्पादकीय सारांश

Verified

तिहार नजिकिएसँगै नेपाली मौलिक बाजा मादलको बिक्री बढेको छ।

धरानका एक व्यापारीले तिहारमा दैनिक ७० देखि ८० वटासम्म मादल बिक्री गर्दै आएका छन्।

मादलको मूल्य गुणस्तर र आकारअनुसार २ हजारदेखि ८ हजार रुपैयाँसम्म रहेको छ।

देउसीभैलो खेल्ने समूहका कारण लक्ष्मीपूजादेखि मादलको माग थप बढ्ने गरेको व्यापारीको भनाइ छ।

डिजिटल साउन्ड सिस्टमको प्रयोग बढे पनि देउसीभैलोमा मादलको आकर्षण कायमै छ।

तिहारमा देउसीभैलो खेल्ने परम्पराले मादलको व्यापारलाई हरेक वर्ष चलायमान बनाउँदै आएको छ। धरान उपमहानगरपालिका–२ छाताचोकस्थित साल्सा म्युजिक स्टोरका सञ्चालक सुमन चौधरीका अनुसार तिहारका बेला दैनिक ७० देखि ८० वटासम्म मादल बिक्री हुने गरेको छ। सामान्य समयमा भने दैनिक पाँचदेखि १० वटासम्म मात्रै बिक्री हुने गरेको उनले बताएका छन्।

विगत २० वर्षदेखि मादल, गितारलगायत विभिन्न बाजाको व्यापार गर्दै आएका चौधरीले भोजपुर, खाँदबारी, चैनपुर, धनकुटा, हिले, सिदुवा, उदयपुर, रामपुर र बेलटारलगायत स्थानमा मादल पठाउँदै आएका छन्। उनको पसलमा तीन हजारदेखि आठ हजार रुपैयाँसम्मका मादल उपलब्ध छन्। पहिले बाहिरबाट मादल ल्याएर बिक्री गर्ने उनले अहिले आफ्नै कारखानामा उत्पादनसमेत गर्दै आएका छन्। आफ्नै कारखाना भएकाले ग्राहकको मागअनुसार विभिन्न आकार र गुणस्तरका मादल बनाउन सहज भएको उनको भनाइ छ। उनको पसल तथा कारखानामा हाल छ जनाले रोजगारी पाएका छन् भने परिवारका सदस्यले पनि व्यवसायमा सहयोग गर्दै आएका छन्।

धरानको मुख्य बजार भानुचोकदेखि पूर्वतर्फको देसी लाइनमा मादलको व्यापार गर्दै आएका यदुनाथ अधिकारीले पनि तिहार नजिकिएसँगै बिक्री बढेको बताएका छन्। विगत १५ वर्षदेखि परिवारका सदस्यसँग मिलेर मादल र खुकुरीको व्यापार गर्दै आएका उनको पसलमा दुई हजारदेखि सात हजार रुपैयाँसम्मका मादल उपलब्ध छन्। देउसीभैलो खेल्ने समूहले मादल खरिद गर्ने भएकाले तिहारमा यसको माग बढ्ने गरेको उनले बताएका छन्।

अधिकारीका अनुसार लक्ष्मीपूजादेखि मादलको बिक्री अझ बढ्ने गरेको छ। कहिलेकाहीँ एकै दिन आठदेखि १० वटासम्म मादल बिक्री हुने गरेको उनले जानकारी दिएका छन्। भोजपुर, धनकुटा तथा पश्चिम नेपालमा उत्पादित मादल खरिद गरी बिक्री गर्दै आएका उनले ग्राहकको मागअनुसार विभिन्न मूल्य र गुणस्तरका मादल राख्ने गरेका छन्। देउसीभैलो खेल्ने समूहले केही समयका लागि प्रयोग गर्न सस्तो मादलसमेत खोज्ने भएकाले महँगा मादल मात्रै बिक्रीका लागि नराखिएको उनको भनाइ छ।

यसैगरी, इटहरी उपमहानगरपालिका–६ का भेषराज अधिकारीले पनि विगत नौ वर्षदेखि मादल र खुकुरीको व्यापार गर्दै आएका छन्। उनका अनुसार तिहारको समयमा मादलको बिक्री उल्लेख्य रूपमा बढ्ने गरेको छ। तिहारका बेला मात्रै एक लाखदेखि डेढ लाख रुपैयाँसम्मको मादल बिक्री हुने गरेको उनले बताएका छन्।

डिजिटल प्रविधिको विस्तारसँगै सांगीतिक प्रस्तुति र मनोरञ्जनका माध्यम परिवर्तन भइरहे पनि देउसीभैलोमा मादलको ताल अझै उत्तिकै महत्त्वपूर्ण छ। पुस्तौँदेखि चल्दै आएको देउसीभैलो परम्परा र मौलिक सांस्कृतिक अभ्यासले नेपाली बाजा मादलको बजारलाई निरन्तरता दिँदै आएको छ। तिहारको सांस्कृतिक रौनकसँगै मादलको बढ्दो मागले स्थानीय व्यापार र परम्परागत बाजा उत्पादनलाई समेत टेवा पुर्‍याएको छ।

— नेपालसेज | प्रकाशित: २१ कात्तिक २०८३, शनिबार

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
images
images
सम्बन्धित समाचार
images
images