२०८३, कार्तिक २२ गते

आइतवार, कार्तिक २२ गते २०८३

भारत भ्रमणका १५ एजेण्डा

प्रधानमन्त्रीको भारत भ्रमण तय, रेल र हवाई कनेक्टिभिटीमा जोडसहित यस्ता छन् एजेन्डा

जनकपुर–अयोध्या रेलमार्ग, अन्तर्राष्ट्रिय हवाई सम्पर्क, बुटवल–पोखरा एक्सप्रेसवे, जलविद्युत् र २ अर्ब अमेरिकी डलरभन्दा बढी आर्थिक सहयोगका प्रस्ताव भ्रमणको प्राथमिकतामा

बिहिवार , कार्तिक १९, २०८३

 

नेपालसेज, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण मंसिर ६ देखि १० गतेसम्मका लागि तय भएको छ। प्रधानमन्त्रीनिकट स्रोतले नेपालसेजलाई दिएको जानकारीअनुसार बिहिबार भारतीय विदेश सचिव विक्रम मिश्रीसँगको भेटपछि भ्रमणको मिति तय भएको हो। यद्यपि, उक्त मितिमा एक–दुई दिन तलमाथि हुन सक्ने सम्भावना पनि छ।

सम्पादकीय सारांश

Verified

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण मंसिर ६ देखि १० गतेसम्मका लागि प्रस्तावित रहेको नेपालसेजलाई स्रोतले जानकारी दिएको छ।

रामायण सर्किटअन्तर्गत जनकपुर–अयोध्या रेलमार्ग उद्घाटन र सीधा हवाई उडानको प्रस्ताव।

भारतबाट नेपाललाई २ अर्ब अमेरिकी डलरभन्दा बढी आर्थिक सहायता उपलब्ध गराउने प्रस्तावबारे छलफल हुने अपेक्षा।

पोखरा, भैरहवा र नेपालगञ्जलाई भारतीय सहरसँग सीधा हवाई सम्पर्कमा जोड्ने योजना।

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा रामायण सर्किटअन्तर्गत जनकपुर–अयोध्या रेलमार्गको उद्घाटन हुने निश्चित भएको छ। नेपाल र भारतका यी दुई सहरको धार्मिक तथा ऐतिहासिक महत्त्वलाई थप विस्तार गर्न रेलमार्गले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वाससहित दुवै सहरलाई रेलमार्गबाट जोड्न लागिएको हो। यससँगै जनकपुरदेखि अयोध्यासम्म सीधा हवाई उडानसमेत सञ्चालन गर्ने तयारी छ।

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा दुई अर्ब अमेरिकी डलरभन्दा बढी आर्थिक सहायता प्राप्त हुने विश्वास लिइएको छ। यसमा एक अर्ब डलरभन्दा बढी सहुलियतपूर्ण ऋण र ५०/५० करोड डलरका दुईवटा अनुदान प्रस्ताव रहेका छन्। भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि ५० करोड डलर र सिद्धार्थ राजमार्ग (सुनौली–बुटवल–पोखरा) स्तरोन्नतिका लागि ५० करोड डलर अनुदान प्रस्ताव गरिएको छ।

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पोखरा खण्डलाई ७५ किलोमिटर लामो ६ लेनको एक्सप्रेस–वेका रूपमा विकास गर्ने प्रस्ताव छ। उक्त सडकमा सुरुङसमेत निर्माण गर्ने योजना रहेको छ। त्यस्तै, नेपालगञ्जबाट दिल्लीसम्म सीधा हवाई उडान सञ्चालन गरी पश्चिम नेपालको पर्यटन तथा व्यापार विस्तारमा सहयोग पुर्‍याउने प्रस्ताव पनि अघि सारिएको छ।

यसैगरी, भारतीय सहरबाट पोखरामा सीधा हवाई उडान सुरु गर्ने प्रस्तावलाई पनि प्राथमिकतामा राखिएको छ। दिल्ली, मुम्बई, हैदराबाद र बैंगलोरबाट पोखरासम्म सीधा हवाई सम्पर्क विस्तार गर्ने प्रस्ताव अघि सारिएको हो। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि दिल्ली, मुम्बई र हैदराबादलगायत भारतीय सहरमा सीधा उडान सञ्चालन गर्ने प्रस्ताव नेपाल पक्षले तयार पारेको छ।

पोखरा र भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान आकर्षित गर्न सञ्चालन तथा व्यवस्थापनमा भारतीय कम्पनीहरूको सम्भावित सहभागिताबारे पनि छलफल अघि बढाउने प्रस्ताव छ। थप हवाई प्रवेश मार्ग विस्तारका लागि भैरहवा तथा अन्य अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय हवाई क्षेत्र हुँदै थप प्रवेश बिन्दु उपलब्ध गराउने विषयसमेत प्रस्तावमा समेटिएको छ।

त्यस्तै, रक्सौल–काठमाडौं रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्ने तथा निर्माण प्रक्रिया अघि बढाउने विषयमा पनि छलफल हुने छ। ६ हजार ४८० मेगावाट क्षमताको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनामा पानीको बाँडफाँट, लागत र लाभसम्बन्धी विवाद समाधान गर्ने प्रस्तावसमेत भ्रमणको एजेन्डामा रहेको छ।

जलविद्युत् आयोजना तथा विद्युत् व्यापारका सम्बन्धमा पनि विभिन्न प्रस्ताव तयार पारिएका छन्। ७५० मेगावाटको पश्चिम सेती, ४८० मेगावाटको फुकोट कर्णाली, ४५० मेगावाटको सेती नदी, माथिल्लो कर्णाली र अरुण चौथोलगायत आयोजना अघि बढाउने तथा विद्युत् निर्यात विस्तार गर्ने विषयलाई पनि महत्त्वपूर्ण एजेन्डाका रूपमा समेटिएको बुझिएको छ।

प्रधानमन्त्री शाहको भारत भ्रमणमा पेट्रोलियम पाइपलाइन तथा सीमापार पूर्वाधारसम्बन्धी योजनाहरू पनि अघि सारिएका छन्। यसअन्तर्गत सिलिगुडी–चारआली पेट्रोलियम पाइपलाइन र दोधारा चाँदनी एकीकृत जाँच चौकी निर्माणको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ।

यसका अतिरिक्त व्यापार, पारवहन र द्विपक्षीय सहकार्यका विषयमा पनि विभिन्न प्रस्ताव तयार पारिएका छन्। कृत्रिम बौद्धिकता (एआई), व्यापार घाटा न्यूनीकरण, नेपाली वस्तुको भारतीय बजारमा पहुँच विस्तार, सीमा विवाद समाधान, भन्सार सहजीकरण, डिजिटल कनेक्टिभिटी, खेलकुद तथा अन्य विकासका क्षेत्रमा सहकार्य गर्ने विषय भ्रमणका एजेन्डामा समेटिएका छन्।

भ्रमणका क्रममा केही पूर्वाधार तथा विकास आयोजनाको उद्घाटन र शिलान्यासका कार्यक्रमसमेत राखिएका छन्। जसमा पनौतीस्थित नेपाल प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान, दार्चुलाको पुल, भैरहवा एकीकृत जाँच चौकी र महाकाली नदीमाथिको मोटरेबल पुल रहेका छन्।

प्रधानमन्त्रीको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ सहभागी हुने सम्भावना रहेको नेपालसेजले जानकारी प्राप्त गरेको छ।
WhatsApp Image 2026-11-05 at 6.28.54 PM.jpeg

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
images
images
सम्बन्धित समाचार
images
images