२०८३, कार्तिक २२ गते

आइतवार, कार्तिक २२ गते २०८३

विपी राजमार्ग पुनःनिर्माण सुरु

विपी राजमार्ग पुनःनिर्माणमा जाइकाको प्रवेश, बर्खेखोला–पिप्ले खण्डमा काम सुरु

शनिवार , कार्तिक २१, २०८३

नेपालसेज/ काभ्रेपलाञ्चोक। प्राकृतिक विपद्बाट क्षतिग्रस्त विपी राजमार्गको पुनःनिर्माणले गति लिएको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (JICA) ले सिन्धुलीको बर्खेखोला–पिप्ले सडकखण्डमा पुनःनिर्माणको काम सुरु गरेको छ भने अन्य तीन खण्डमा समेत निर्माण कार्य अघि बढिरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ। कार्यालयका अनुसार बर्खेखोला–पिप्ले खण्ड पुनःनिर्माणका लागि जाइकासँग २ अर्ब ६० करोड रुपैयाँमा सम्झौता भएको छ। डिभिजन सडक कार्यालयका प्रमुख सुमन योगेशले जाइकाले हालै निर्माण कार्य सुरु गरेको जानकारी दिएका छन्। उनका अनुसार पिप्लेदेखि काभ्रेपलाञ्चोकको भकुण्डेबेँशीसम्मको सडकखण्डमा हालसम्म ५२ प्रतिशत भौतिक प्रगति भएको छ। बाढीबाट क्षतिग्रस्त सडकलाई डेडिकेटेड डबल लेनमा पुनःनिर्माण गर्ने लक्ष्यसहित काम अघि बढाइएको छ।

सम्पादकीय सारांश

Verified

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (JICA) ले विपी राजमार्गको बर्खेखोला–पिप्ले खण्डमा पुनःनिर्माण सुरु गरेको छ।

उक्त खण्ड पुनःनिर्माणका लागि २ अर्ब ६० करोड रुपैयाँमा सम्झौता भएको छ।

अन्य तीन खण्डमा समेत पुनःनिर्माण जारी छ। पिप्ले–भकुण्डेबेँशी खण्डमा ५२ प्रतिशत भौतिक प्रगति भएको छ।

बाढीबाट क्षतिग्रस्त २५.११ किलोमिटर सडकलाई डेडिकेटेड डबल लेनमा पुनःनिर्माण गरिँदैछ।

आगामी वर्षायामअघि निर्माणाधीन तीन खण्डमा कम्तीमा एक तह कालोपत्रे गर्ने लक्ष्य राखिएको छ।

काभ्रेपलाञ्चोकतर्फको सडक पुनःनिर्माणलाई तीन खण्डमा विभाजन गरी काम भइरहेको छ। पिप्लेदेखि डालाबेँशीसम्मको २.३ किलोमिटर सडक पुनःनिर्माणको जिम्मा उमा एण्ड कम्पनी–भण्डारी अमरज्योती जेभीले पाएको छ। उक्त कम्पनीले २०८४ कात्तिक २६ गतेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ। यस खण्डका लागि ६८ करोड ८० लाख रुपैयाँमा सम्झौता भएको छ।

त्यसैगरी, डालाबेँशीदेखि चारसयबेँशीसम्मको ८.५ किलोमिटर सडक पुनःनिर्माणको जिम्मा खानी–एवान–कमलजीत जेभीले पाएको छ। एक अर्ब ४२ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको उक्त खण्ड २०८४ जेठ मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य छ। चारसयबेँशीदेखि भकुण्डेबेँशीसम्मको ११.८ किलोमिटर सडक पुनःनिर्माणको जिम्मा लामा–नवकान्तिपुर जेभीले पाएको छ। एक अर्ब ३३ करोड रुपैयाँमा सम्झौता भएको उक्त खण्डको काम २०८४ असार १७ गतेभित्र सम्पन्न गर्ने गरी प्रक्रिया अघि बढाइएको डिभिजन प्रमुख योगेशले बताएका छन्।

विसं २०८१ असोज दोस्रो सातामा रोशी खोलामा आएको बाढीका कारण काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित दाप्चाखोला पुलदेखि सिन्धुलीको नेपालथोकसम्म विपी राजमार्गको करिब २९ किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो। त्यसमध्ये काभ्रेपलाञ्चोकतर्फको २५.११ किलोमिटर सडक तीन खण्डमा पुनःनिर्माण भइरहेको छ। आगामी वर्षायामअघि नै निर्माणाधीन तीन खण्डमा कम्तीमा एक तह कालोपत्रे गर्ने तयारी भइरहेको योगेशले बताएका छन्।

पुनःनिर्माणका क्रममा सडकलाई दुई लेनको बनाउनुका साथै पाँचवटा पुललाई पनि दुई लेनमा विस्तार गर्ने योजना छ। तीनवटै खण्डमा कुल ६.३ किलोमिटर आरसीसी पर्खाल निर्माण गरिनेछ। बाढीबाट क्षतिग्रस्त संरचनालाई दीर्घकालीन रूपमा सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यसहित पुनःनिर्माण भइरहेको कार्यालयले जनाएको छ।

यसैबीच, हाल विपी राजमार्गमा पुनःनिर्माण गरिएका सडकबाटै सवारी आवागमन भइरहेको छ। केही साँघुरा तथा भिरालो स्थानमा डाइभर्सन बनाएर दुईतर्फी सवारी सञ्चालन गरिएको छ। चौकीडाँडा, पिन्थली र डालाबेँशी–पिप्ले खण्डमा आवश्यक मर्मत तथा डाइभर्सनको व्यवस्था गरिएको डिभिजन प्रमुख योगेशले बताएका छन्। उनका अनुसार हाल सडकमा ठूलो जामको समस्या छैन। वर्षाका कारण सडकमा लेदो वा पहिरो खसेर अवरुद्ध भएमा आधा घण्टादेखि केही घण्टाभित्र खुलाउन आवश्यक सामग्री व्यवस्थापन गरिएको छ।

विपी राजमार्ग नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई राजधानी काठमाडौंसँग जोड्ने छोटो मार्गका रूपमा महत्त्वपूर्ण मानिन्छ। क्षतिग्रस्त सडक पुनःनिर्माणका लागि सरकारले कुल ८ अर्ब ५० करोड रुपैयाँको स्रोत सहमति दिएको छ। यसमध्ये काभ्रेपलाञ्चोकतर्फका तीन खण्डका लागि ७ अर्ब ५० करोड र सिन्धुलीतर्फको एक खण्डका लागि एक अर्ब रुपैयाँ छुट्याइएको छ।

जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि धुलिखेल–सिन्धुली–बर्दिबास जोड्ने १६० किलोमिटर लामो विपी राजमार्ग निर्माण सुरु गरिएको थियो। विभिन्न खण्डमा विभाजन गरी निर्माण सम्पन्न गरिएको उक्त राजमार्ग जापान सरकारले विसं २०७२ असार १८ गते नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो।

— नेपालसेज | प्रकाशित: २१ कात्तिक २०८३, शनिबार

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
images
images
सम्बन्धित समाचार
images
images