नेपालसेज, काठमाडौं ।
सर्वोच्च अदालतका लागि सिफारिस चार न्यायाधीशको नाम अनुमोदित।
संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत निर्णय।
प्रस्तावित न्यायाधीशविरुद्ध १३ वटा उजुरी परेका थिए।
असोज २० गते न्याय परिषद्ले नाम सिफारिस गरेको थियो।
अब राष्ट्रपतिबाट न्यायाधीश नियुक्त हुने संवैधानिक व्यवस्था छ।
सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चार जनाको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ। समितिको शुक्रबार बसेको बैठकले प्रस्तावित चारै जना न्यायाधीशको नाम अनुमोदन गर्ने निर्णय गरेको हो। अनुमोदित हुनेमा उच्च अदालतका विभिन्न इजलास तथा अदालतमा कार्यरत न्यायाधीश रहेका छन्।
समितिले उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द, उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारु, उच्च अदालत पाटनको हेटौँडा इजलासका न्यायाधीश जनक पाण्डे र उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीश गोकर्ण डाँगीको नाम अनुमोदन गरेको हो।
न्याय परिषद्ले गत असोज २० गते सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि उनीहरूको नाम सिफारिस गरेको थियो। त्यसपछि संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीशहरूको योग्यता, अनुभव तथा पृष्ठभूमिबारे अध्ययन गर्दै सुनुवाइ प्रक्रिया अघि बढाएको थियो।
समितिले चारै जना प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया यही कात्तिक १९ गतेदेखि सुरु गरेको थियो। सुनुवाइका क्रममा उनीहरूमाथि सार्वजनिक रूपमा आएका उजुरी तथा प्रश्नहरूमाथि छलफल गरिएको थियो।
समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार प्रस्तावित चारै जना न्यायाधीशविरुद्ध १३ वटा उजुरी परेका थिए। उजुरीमाथि अध्ययन तथा सुनुवाइ प्रक्रिया पूरा गरेपछि समितिले उनीहरूको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो।
संवैधानिक व्यवस्थाअनुसार न्याय परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गर्ने व्यवस्था छ। समितिबाट अनुमोदन भएसँगै अब चारै जनाको नियुक्तिका लागि राष्ट्रपतिको प्रक्रिया अघि बढ्नेछ।
— नेपालसेज | प्रकाशित: २१ कात्तिक २०८३
प्रतिक्रिया दिनुहोस