२०८३, कार्तिक २३ गते

सोमवार, कार्तिक २३ गते २०८३

होर्मुजमा ट्याङ्करमा आगला

होर्मुज जलडमरूमा दुई तेल ट्याङ्करमा आगलागी भएको इरानको दाबी

अनधिकृत जलमार्ग प्रयोग गरेको आरोपमा आईआरजीसीको दाबी; ट्याङ्करको नाम र राष्ट्रियता भने सार्वजनिक भएन

आइतवार , कार्तिक २२, २०८३

 

नेपालसेज, काठमाडौं । स्ट्रेट अफ होर्मुजमा नौसैनिक बारुदी सुरुङमा ठोक्किएपछि दुईवटा तेल ट्याङ्करमा आगलागी भएको इरानले दाबी गरेको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले आइतबार ती ट्याङ्कर अनधिकृत जलमार्ग प्रयोग गरी अघि बढ्ने क्रममा बारुदी सुरुङमा ठोक्किएको जनाएको हो।

सम्पादकीय सारांश

Verified

स्ट्रेट अफ होर्मुजमा दुई तेल ट्याङ्करमा आगलागी भएको इरानको दाबी छ।

ट्याङ्करहरू नौसैनिक बारुदी सुरुङमा ठोक्किएको आईआरजीसीले जनाएको छ।

दुवै जहाजले अनुमति नलिएको जलमार्ग प्रयोग गरेको इरानको आरोप छ।

इरानले ट्याङ्करहरूको नाम र राष्ट्रियता खुलाएको छैन।

होर्मुजमा जहाज आवागमनलाई लिएर इरान र अमेरिकाबीच तनाव जारी छ।

सरकारी समाचार संस्था आईआरएनएका अनुसार आईआरजीसीले जारी गरेको विज्ञप्तिमा दुईमध्ये एउटा ट्याङ्कर स्ट्रेट अफ होर्मुजको पूर्वी भागमा र अर्को जलडमरूको मध्य क्षेत्रमा नौसैनिक बारुदी सुरुङमा ठोक्किएको उल्लेख छ। त्यसपछि दुवै जहाजमा आगलागी भएको इरानको दाबी छ।

इरानका अनुसार ती ट्याङ्करहरूले तोकिएका नियम उल्लङ्घन गरेका थिए। उनीहरूले अनुमति नलिएको जलमार्ग प्रयोग गर्नुका साथै नेभिगेसन तथा आफ्नो स्थान पहिचान गर्ने प्रणालीसमेत बन्द गरेका थिए। तर, इरानले ती ट्याङ्करको नाम, राष्ट्रियता वा अन्य विस्तृत विवरण सार्वजनिक गरेको छैन। घटनाबारे इरानको दाबी स्वतन्त्र रूपमा पुष्टि भएको विवरण भने उपलब्ध छैन।

फेब्रुअरीको अन्त्यमा इरानमा युद्ध सुरु भएयता तेहरानले विश्वकै प्रमुख ऊर्जा आपूर्ति मार्गमध्ये एक स्ट्रेट अफ होर्मुजमा जहाज आवागमनमा कडा प्रतिबन्ध लगाउँदै आएको छ। इरानले आफ्नो अनुमति लिएर तोकिएका जलमार्ग मात्र प्रयोग गर्न जहाजहरूलाई निर्देशन दिएको छ। यसको जवाफमा अमेरिकाले इरानी बन्दरगाहहरूमा नौसैनिक नाकाबन्दी लगाउनुका साथै ट्याङ्करहरूलाई उक्त जलमार्ग पार गर्न सहयोग गर्दै आएको छ।

विश्वभर खपत हुने कुल तेलको करिब पाँच भागको एक भाग स्ट्रेट अफ होर्मुज हुँदै ओसारपसार हुने गर्छ। अमेरिकी सेन्ट्रल कमान्डका अनुसार गर्मीयामयता खाडी राष्ट्रहरूलाई होर्मुज हुँदै एक अर्ब ५० करोड ब्यारेल तेल निर्यात गर्न अमेरिकाले सहयोग गरेको थियो। अमेरिकी सेनाले हालै उक्त जलमार्गबाट सबै बारुदी सुरुङ हटाइसकिएको दाबीसमेत गरेको छ।

यसैबीच, शनिबार राति इरानका विभिन्न स्थानमा विस्फोटजस्ता आवाज सुनिएको आईआरएनएले जनाएको छ। समाचार संस्थाका अनुसार केसम, सिरिक, जास्क र बन्दर अब्बासमा त्यस्ता आवाज सुनिएका थिए। ती आवाजको कारण भने खुल्न सकेको छैन। जास्क बन्दरगाह सहरमा कुनै वस्तु ठोक्किएको अधिकारीहरूले पुष्टि गरेको पनि आईआरएनएले जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि इरानमाथि पुनः ठूलो सैन्य आक्रमण गर्ने सम्भावनाबारे चर्चा गरेका थिए। पछि उनले उक्त योजनाबाट पछि हटेको सङ्केत गरे पनि अमेरिकी सेनाले इरानमाथि सीमित आक्रमण जारी राखेको विवरणमा उल्लेख छ। होर्मुजमा जहाज आवागमन र सैन्य गतिविधिलाई लिएर दुवै देशबीचको तनाव कायम रहँदा पछिल्लो घटनाले क्षेत्रीय सुरक्षा र विश्व ऊर्जा आपूर्तिबारे थप चिन्ता बढाएको छ।

— नेपालसेज | प्रकाशित: २२ कात्तिक २०८३

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
images
images
सम्बन्धित समाचार
images
images