२०८३, कार्तिक २२ गते

आइतवार, कार्तिक २२ गते २०८३

भोटेकोशी विपद्को कथा

भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा समेटिएको ‘द सनसाइन फ्लड’ पुस्तक सार्वजनिक

रसुवा, नुवाकोट र धादिङका प्रभावित क्षेत्रको बाढी, मानवीय क्षति, उद्धार, राहत तथा पुनर्निर्माणका अनुभव समेटिएको पुस्तकमा विपद् जोखिम न्यूनीकरणका उपायसमेत प्रस्तुत गरिएको छ।

आइतवार , कार्तिक २२, २०८३

नेपालसेज/ ललितपुर।
गत भदौ १० गते रसुवा, नुवाकोट, धादिङलगायत भोटेकोशी–त्रिशूली नदी करिडोरमा आएको विनाशकारी बाढी, त्यसबाट भएको मानवीय तथा भौतिक क्षति, उद्धार र खोजीका अनुभव तथा विपद्पछिको राहत र पुनर्निर्माण प्रयास समेटिएको ‘द सनसाइन फ्लड’ पुस्तक प्रकाशित भएको छ। तरङ्ग नेपालले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा पुस्तकको आवरण सार्वजनिक गरेको हो। पुस्तकमा विपद्को उत्पत्ति र प्रभावदेखि प्रभावित समुदायको अवस्था तथा भविष्यमा यस्ता घटनाबाट हुने क्षति न्यूनीकरणका उपायसम्म समेटिएका छन्।

सम्पादकीय सारांश

Verified

भोटेकोशी–त्रिशूली नदी करिडोरमा आएको बाढीको घटनाक्रम समेटिएको ‘द सनसाइन फ्लड’ पुस्तक प्रकाशित।

डा. ईश्वर थापा र इन्जिनियर राजन थापाद्वारा लिखित पुस्तकमा ६ भाग र ३१ अध्याय छन्।

तरङ्ग नेपालले विभिन्न कार्यक्रममार्फत १ हजार ४४८ घरपरिवारलाई राहत तथा सहयोग उपलब्ध गराएको विवरण समेटिएको छ।

३०६ शिक्षक तथा विद्यार्थी, दुई स्वास्थ्य संस्था र एउटा वडा कार्यालयलाई समेत सहयोग गरिएको थियो।

पुस्तकमा पूर्वसूचना प्रणाली, नदीजन्य गेग्रानको व्यवस्थापन, जलविद्युत् पूर्वाधारको सुरक्षा र जोखिम न्यूनीकरणका सुझाव समावेश छन्।

डा. ईश्वर थापा र इन्जिनियर राजन थापाले लेखेको पुस्तकमा सात जना सहसम्पादकसहित इन्जिनियर, अनुसन्धानकर्ता, प्राविधिक तथा विभिन्न क्षेत्रका विज्ञले सहकार्य गरेका छन्। पुस्तकको नाम ‘द सनसाइन फ्लड’ अर्थात् ‘आकाशमा बादल नहुँदै आएको बाढी’ राखिएको छ। ‘द डे द माउन्टेन फेल विदाउट अ क्लाउड इन द स्काई’ उपशीर्षक रहेको पुस्तकले हिमाली क्षेत्रमा हिउँ र चट्टान खस्दा कसरी अचानक बाढी उत्पन्न भयो भन्ने घटनालाई प्रत्यक्षदर्शीका अनुभव, प्रभावितका भनाइ, आधिकारिक अभिलेख र वैज्ञानिक अध्ययनका आधारमा प्रस्तुत गरेको छ।

पुस्तकमा उल्लेख भएअनुसार, गत अगस्ट २६ मा हिमाली क्षेत्रमा हिउँ र चट्टान खसेर ल्हेन्दे उपत्यकामा पुगेपछि केही मिनेटमै पानी, हिलो र ठूला ढुङ्गासहितको बाढी आएको थियो। उक्त बाढी रसुवागढी, टिमुरे र स्याफ्रुबेँसी हुँदै भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा फैलिएको थियो। सामान्यतया बाढी आउनुअघि देखिने वर्षा, बादल वा नदीको सतह बढ्ने सङ्केतबिनै आएको बाढीले नदी तटीय क्षेत्रका बस्ती, विद्यालय, पुल तथा अन्य पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको थियो।

‘न्यारेटिभ नन-फिक्सन’ अर्थात् कथात्मक गैरआख्यान विधामा तयार गरिएको पुस्तकमा विपद्का बेला उद्धारमा खटिएका व्यक्ति, खोजी तथा सहयोगमा जुटेका समुदाय र प्रभावित परिवारका अनुभव समेटिएका छन्। पुस्तकका लेखक डा. ईश्वर थापाका अनुसार विपद्का बेला देखिएका चुनौती र आगामी दिनमा यस्ता घटनाबाट हुने क्षति न्यूनीकरण गर्न आवश्यक परिवर्तनबारे पनि विश्लेषण गरिएको छ। पुस्तकमा राहत, पुनःस्थापना तथा सामुदायिक सहयोगका गतिविधि र प्रभावित क्षेत्रको स्थलगत अध्ययनबाट प्राप्त विवरणसमेत समावेश छन्।

पुस्तकमा उल्लेख भएअनुसार, तरङ्ग नेपालले Peace Winds Japan र MERCY Malaysia को सहयोगमा प्राविधिक टोली परिचालन गरी क्षतिको मूल्याङ्कन, प्रभावित परिवारको आवश्यकता पहिचान र राहत वितरण गरेको थियो। संस्थाले विभिन्न कार्यक्रममार्फत १ हजार ४४८ घरपरिवारलाई राहत तथा सहयोग उपलब्ध गराएको थियो। त्यस्तै, ३०६ शिक्षक तथा विद्यार्थी, दुई स्वास्थ्य संस्था र एउटा वडा कार्यालयलाई पनि सहयोग गरिएको विवरण पुस्तकमा छ।

राहत कार्यक्रमअन्तर्गत रसुवाको उत्तरगया गाउँपालिका–५ का ५०१ घरपरिवारलाई जाडोयाममा प्रयोग हुने विद्युतीय हिटर, इलेक्ट्रिक केतली र थर्मस वितरण गरिएको थियो। नुवाकोटको विदुर नगरपालिका–१ का १९५, वडा नम्बर ७ का ५० र वडा नम्बर १० का २५२ घरपरिवारलाई घरायसी तथा पुनर्निर्माणका लागि आवश्यक औजार उपलब्ध गराइएको थियो। त्यसैगरी, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ का ३५० घरपरिवारलाई इन्डक्सन चुल्होसहित भान्साका सामग्री र नुवाकोटको विदुर नगरपालिका–१० का १०० घरपरिवारलाई ग्यास सिलिन्डरसहित भान्साका सामग्री वितरण गरिएको थियो।

स्वास्थ्य सेवा निरन्तर राख्न विदुर नगरपालिका–५ स्थित आयुर्वेदिक अस्पताल र वडा नम्बर १० स्थित सहरी स्वास्थ्य केन्द्रलाई औषधि तथा स्वास्थ्य सामग्री सहयोग गरिएको थियो। विदुर नगरपालिका–१० को वडा कार्यालयमा सौर्य ऊर्जा र इन्भर्टर प्रणाली जडान गरी वैकल्पिक विद्युत् आपूर्तिको व्यवस्था मिलाइएको थियो। त्यस्तै, विदुर नगरपालिका–२ बट्टारस्थित भीमसेन माध्यमिक विद्यालयका ३०६ शिक्षक तथा विद्यार्थीलाई पनि सहयोग गरिएको पुस्तकमा उल्लेख छ। राहत वितरणलाई सामग्री हस्तान्तरणमा मात्र सीमित नराखी आवश्यकता पहिचान, स्थानीय तहसँगको समन्वय, सामग्रीको अभिलेखीकरण, पारदर्शिता र समुदायको पुनःस्थापनालाई प्राथमिकता दिइएको पुस्तकले देखाएको छ।

पुस्तकले विपद्पछिको पुनर्निर्माणसँगै भविष्यमा हुनसक्ने क्षति न्यूनीकरणका उपायलाई पनि महत्व दिएको छ। नदीले बगाएर ल्याएको गेग्रान तथा ढुङ्गामाटोको पुनःप्रयोग, नदी किनारका भवनको सुरक्षा, भोटेकोशी–त्रिशूली करिडोरमा पूर्वचेतावनी प्रणालीको विकास र रसुवाको खाद्य सुरक्षालाई आगामी दिनका प्राथमिकताका रूपमा प्रस्तुत गरिएको छ। विशेषगरी हिमाली विपद्को जोखिम मूल्याङ्कन, सीमापार सूचना आदानप्रदान, जोखिमयुक्त क्षेत्रमा पूर्वाधार निर्माण गर्दा अपनाउनुपर्ने सावधानी र जलविद्युत् आयोजनाको सुरक्षाबारे अनुसन्धान तथा नीतिगत दृष्टिकोणबाट विश्लेषण गरिएको छ।

वरिष्ठ भूगर्भविद् इन्जिनियर सन्मुखेश चन्द्र अमात्यले पुस्तकले विपद्को कथा र समुदायको सहनशीलतालाई अभिलेखीकरण गरेको बताएका छन्। उनका अनुसार पुस्तकले बाढीबाट भएको विनाशको विवरण मात्र नभई समुदाय, स्वयंसेवक, प्राविधिक जनशक्ति, स्थानीय सरकार तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय सहयोगी संस्थाबीचको सहकार्यले पुनःस्थापनामा पुर्‍याउन सक्ने योगदानलाई पनि उजागर गरेको छ। रसुवा र त्रिशूली उपत्यकाका बासिन्दालाई समर्पित पुस्तकले विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी र मानवीय सहायताका क्षेत्रमा काम गर्ने निकाय तथा सरोकारवालालाई महत्वपूर्ण सन्दर्भ सामग्री उपलब्ध गराउने अपेक्षा गरिएको छ।

कार्यक्रममा तरङ्ग नेपालका कार्यकारी निर्देशक अमितप्रसाद तिमल्सेनाले ‘पर्दापछाडिका कुरा’ शीर्षकमा प्रस्तुति दिँदै विपद्पछिको स्थलगत अध्ययन, मानवीय सहायता र प्रभावित समुदायसँगको अन्तरक्रियाले पुस्तक तयार पार्न सहयोग पुगेको अनुभव सुनाएका थिए। बाढीको खबर प्राप्त हुनासाथ संस्थाले प्रभावित क्षेत्रका स्थानीय सम्पर्क व्यक्ति, जलविद्युत् आयोजनामा कार्यरत प्राविधिक तथा अन्य सरोकारवालासँग समन्वय सुरु गरेको थियो। उद्धार तथा खोजीमा प्रत्यक्ष संलग्न हुन कठिन परिस्थिति रहेकाले राहत तथा पुनर्लाभका गतिविधिमार्फत सहयोग गर्ने निर्णय गरिएको उनले जानकारी दिएका थिए।

छ भाग र ३१ अध्यायमा विभाजित पुस्तकमा बाढीअघिको भोटेकोशी नदी करिडोरको अवस्था, विपद्को दिनका घटनाक्रम, उद्धार तथा जीवनरक्षाका अनुभव, मानवीय क्षति र शोक, आर्थिक तथा वातावरणीय प्रभाव एवं भविष्यका लागि आवश्यक पाठ समेटिएका छन्। पुस्तकले माथिल्लो भोटेकोशी क्षेत्रमा पूर्वसूचना प्रणाली पुनःस्थापना तथा सुदृढीकरण, सीमापार सूचना आदानप्रदान, पुनर्निर्माणअघि जोखिम मूल्याङ्कन, जलविद्युत् पूर्वाधारको सुरक्षा र बेपत्ता व्यक्तिको पहिचान प्रक्रिया तीव्र बनाउनुपर्ने सुझाव दिएको छ। प्रभावित समुदायका अनुभवसँगै वैज्ञानिक अध्ययन र दस्तावेजीकृत तथ्यलाई एउटै पुस्तकमा प्रस्तुत गर्नु यसको विशेषता रहेको लेखकहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
images
images
सम्बन्धित समाचार
images
images