मादलको प्रयोग घट्नु, आधुनिक प्रविधिको विस्तार, कच्चा पदार्थ अभाव र नयाँ पुस्ताको अरू पेसातर्फ आकर्षणले ओखलढुङ्गाका परम्परागत मादल कालीगढको जीविकोपार्जन र पुस्तौँदेखिको सीप सङ्कटमा परेको छ।
नेपालसेज/ ओखलढुङ्गा।
मादल बनाउने दक्ष कालीगढको अभावसँगै ओखलढुङ्गाको स्थानीय बजारमा नयाँ मादल पाउन मुस्किल पर्दै गएको छ। कुनै समय तिहारको समयमा नयाँ मादल बनाउन र पुराना मादल मर्मत गर्न भ्याइनभ्याइ हुने कालीगढ अहिले ग्राहकको प्रतीक्षामा छन्। मादलको प्रयोग घट्नु, कच्चा पदार्थको अभाव र नयाँ पुस्ताको अरू पेसातर्फ आकर्षण बढ्नुले परम्परागत मादल बनाउने पेसा सङ्कटमा परेको छ। ओखलढुङ्गाको ठूलाछापका नीरकाजी बिशङ्खेले करिब ५६ वर्षदेखि मादल बनाउने काम गर्दै आएका छन्। उनका लागि तिहार कुनै समय वर्षकै व्यस्त सिजन थियो। नयाँ मादल बनाउन र पुराना मादल मर्मत गर्न आउने ग्राहकको चापले फुर्सद मिल्दैनथ्यो। तिहारको समयमा नयाँ तथा पुराना गरेर सयौँ मादल बनाउने र मर्मत गर्ने गरेको उनलाई अझै सम्झना छ। तर अहिले त्यही समयमा मुस्किलले केही थान मादल मात्रै मर्मतका लागि आउने गरेका छन्।
दक्ष कालीगढको अभावमा ओखलढुङ्गाका बजारमा नयाँ मादल पाउन मुस्किल।
कुनै समय तिहारमा लाखौँ रुपैयाँ आम्दानी गर्ने कालीगढको कमाइ घटेर केही हजारमा सीमित।
मादल बनाउन आवश्यक काठ र गाईगोरुलगायतका छाला सहजै उपलब्ध हुन छाडेका छन्।
डेक, मोबाइल र अनलाइनबाट आउने मादलले स्थानीय उत्पादनको माग घटाएको कालीगढको अनुभव।
नयाँ पुस्ता पेसामा आकर्षित नहुँदा पुर्खौँदेखि हस्तान्तरण हुँदै आएको सीप हराउने चिन्ता।
“पहिले मादलको काम मनग्यै हुन्थ्यो। अहिले मादल खासै छैनन्। नयाँ मादल पनि खासै बनाउने गरेको छैन,” नीरकाजी भन्छन्, “आफ्नो मेहनत नउठेपछि नयाँ मादल बनाउनै छाड्यौँ, पुराना मादल मर्मत गरेर यसो बसिबियाँलो गर्दैछु।”
उनका अनुसार पहिले तिहारको सिजनमा मादल बनाउने कामबाट डेढ लाख रुपैयाँभन्दा बढी आम्दानी हुन्थ्यो। कुनै समय दुई लाखदेखि तीन लाख रुपैयाँसम्म कमाइ हुने गरेको उनको अनुभव छ। पोहोरसम्म ७० देखि ८० हजार रुपैयाँसम्म आम्दानी हुने गरे पनि अहिले त्यो घटेर २५ देखि ३० हजार रुपैयाँमा सीमित भएको छ। ठूलाछापमा मादल बनाउने चार–पाँच घर भए पनि सबैको अवस्था उस्तै छ। नयाँ मादल उत्पादनभन्दा पुराना मादल मर्मत गर्ने काम बढी हुन थालेको छ। मादल मर्मतको शुल्कसमेत कामअनुसार फरक छ। नीरकाजीका अनुसार पुरानो मादलमा खरी मात्रै लगाउँदा दुई हजार रुपैयाँ, दुवैपट्टि ताल फेर्दा चार हजार रुपैयाँ र एकपट्टि मात्रै फेर्दा तीन हजार रुपैयाँ लिने गरिएको छ। तर ग्राहक नै कम हुन थालेपछि मर्मतको काम पनि नियमित हुन छाडेको छ।
मादल बनाउने पेसामा देखिएको अर्को ठूलो समस्या कच्चा पदार्थको अभाव हो। मादल बनाउन आवश्यक काठ र गाईगोरु, राँगा तथा बाख्राको छाला सहजै उपलब्ध हुन छाडेको कालीगढहरू बताउँछन्। सामुदायिक वनबाट काठ काट्न नपाइने र छालाको व्यवस्था गर्न कठिन भएपछि नयाँ मादल उत्पादनमा समस्या थपिएको छ। पहिले गाउँमै गाईगोरु पाइने र छाला जुटाउन सहज हुने गरे पनि अहिले त्यसको अभावमा राँगा र बाख्राको छाला मिलाएर काम चलाउनुपर्ने अवस्था छ। मादल बनाउने पेसामा आएको सङ्कट नीरकाजीको मात्रै अनुभव होइन। ८० वर्षीय कालीबहादुर बिशङ्खेले १२ वर्षको उमेरदेखि मादल बनाउन थालेका थिए। पहिले तिहारको समयमा २० देखि २२ वटासम्म नयाँ मादल बनाउने गरेको उनलाई सम्झना छ। बजारमा मादल बिक्री नभए अर्को हप्ता लगेर बेच्ने गरिन्थ्यो भने मर्मतका लागि आउने ग्राहक पनि उत्तिकै हुन्थे। तर अहिले नयाँ मादल बनाउने काम लगभग बन्द भएको छ। उनले बिक्री हुने आशामा बनाएका केही मादल घरमै राखेका छन्।
“अहिले नयाँ मादल बनाएकै छैन। तीनवटा साना मादल बनाएर राखेको छु,” उनी भन्छन्, “बिक्री भए त हुन्थ्यो, नभए दुःख मात्रै हुन्छ।”
पुर्खाबाट सिकेको सीप नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्नु पनि पेसा सङ्कटमा पर्नुको अर्को कारण हो। बुबा र बाजेले मादल बनाएको देखेरै सीप सिकेका धनबहादुर बैराङ्गी सार्कीका अनुसार अहिलेका छोराछोरी हुर्किएपछि गाउँ छाडेर बाहिर जाने क्रम बढेको छ। उनीहरू यो पेसामा लाग्न इच्छुक छैनन्।
“बाबुबाजेले गरे, त्यही काममा हामीले पनि सिक्यौँ,” उनी भन्छन्, “अहिले छोराछोरी अलिकति हुर्केपछि बाहिरतिर हिँडिहाल्छन्। यो काममा हात लगाउँदैनन्।”
खेतीपातीसँगै मादल बनाउने काम गरेर जीविकोपार्जन गर्दै आएका धनबहादुर अहिले नियमित काम नपाउँदा समस्यामा छन्। पहिले दैनिक आम्दानी हुने गरेको भए पनि अहिले महिनामा दुई–तीन दिन मात्रै काम पाउने अवस्था रहेको उनको भनाइ छ। काम पाएको दिन पाँच सयदेखि एक हजार रुपैयाँसम्म कमाइ हुने गरे पनि नियमित काम नहुँदा परिवार चलाउन कठिन भएको छ। तिहारको समयमा मादल मर्मत गरेर पाँचदेखि सात हजार रुपैयाँसम्म मात्रै आम्दानी हुने गरेको उनले बताएका छन्। मादलको प्रयोग घट्नुमा आधुनिक प्रविधिको विस्तारलाई पनि कालीगढहरूले प्रमुख कारण मानेका छन्। पहिले चाडपर्व, उत्सव र रमाइलोका अवसरमा गाउँघरमा मादल बजाउने चलन थियो। मादलको तालमा गीत गाउने र सामूहिक रूपमा रमाइलो गर्ने गरिन्थ्यो। अहिले गीतसङ्गीतका लागि डेक र मोबाइलको प्रयोग बढेसँगै मादल बजाउने र किन्ने मानिसको सङ्ख्या घटेको उनीहरूको अनुभव छ।
ठूलाछापकै लगने सार्कीले पनि यो परिवर्तन नजिकबाट अनुभव गरेका छन्। कुनै समय उनको घरमा मात्रै होइन, वरपरका १२–१४ जना मानिस मादल बनाउने काममा संलग्न हुन्थे। तिहारको समयमा दुई हप्तासम्म कामको चाप हुन्थ्यो। अहिले भने ग्राहक नै आउन छाडेको उनको भनाइ छ। बजारमा मादल बिक्रीका लागि लैजाँदा गाडीभाडा खर्चसमेत उठाउन कठिन हुने गरेको उनले बताएका छन्। स्थानीय कालीगढले बनाएका मादललाई अनलाइनबाट आउने मादलले समेत प्रतिस्पर्धामा पारेको छ। बजारमा आकर्षक देखिने मादल पाइए पनि स्थानीय कालीगढले बनाउनेजस्तो खरीको आवाज र गुणस्तर नहुने लगनेको दाबी छ। मादलको वास्तविक आवाज निकाल्न खरी लगाउने र त्यसलाई मिलाउने सीप महत्वपूर्ण हुने भएकाले यसमा लामो अनुभव आवश्यक पर्ने उनी बताउँछन्।
मादल बनाउने पेसामा सङ्कट आउनुका पछाडि एउटै कारण छैन। मादलको प्रयोग घट्नु, डेक र मोबाइलको बढ्दो प्रयोग, अनलाइनबाट आउने मादलसँगको प्रतिस्पर्धा, कच्चा पदार्थको अभाव र नयाँ पुस्ताको अरू पेसातर्फ आकर्षण यसका प्रमुख कारणका रूपमा देखिएका छन्।
कालीगढका लागि मादल बनाउनु आम्दानीको माध्यम मात्रै होइन, पुर्खाबाट सिकेको सीप र जीवन गुजार्ने आधार पनि हो। तर अहिले यही पेसाबाट परिवार चलाउन कठिन हुँदै गएको छ। मादल नेपाली लोकसंस्कृति र चाडपर्वसँग जोडिएको परम्परागत बाजा भए पनि यसलाई बनाउने सीप भएका कालीगढकै पेसा सङ्कटमा पर्दै गएको छ। यही अवस्था कायम रहे मादल बनाउने पेसासँगै पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सीपसमेत हराउने चिन्ता कालीगढहरूमा देखिएको छ।
प्रतिक्रिया दिनुहोस