२०८३, कार्तिक २२ गते

आइतवार, कार्तिक २२ गते २०८३

अन्नपूर्ण आधार शिविरमा चहलपहल

अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढ्यो, दैनिक दुई सय हाराहारीमा पुग्दै

आइतवार , कार्तिक २२, २०८३

 

 

नेपालसेज, म्याग्दी ।

सम्पादकीय सारांश

Verified

म्याग्दीको अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढेको छ।

दसैँपछि दैनिक करिब २०० पर्यटक पदयात्रामा जाने गरेका छन्।

नेपाली, भारतीय तथा तेस्रो मुलुकका पर्यटकको आकर्षण बढेको छ।

पदमार्गका होटल, रेस्टुरेन्ट र क्याम्प भरिभराउ छन्।

पर्यटकको सुविधाका लागि खानेपानी, शौचालय र आश्रयस्थल निर्माण गरिएको छ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोग पदमार्गमा पर्यटकको चहलपहल बढेको छ। अनुकूल मौसमसँगै दसैँ–तिहारको बिदा मनाउन आन्तरिक तथा बाह्य पर्यटक यस क्षेत्रमा पुग्न थालेका छन्। आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर, पञ्चकुण्ड ताल र मौरिस हर्जोग पदमार्ग पछिल्लो समय पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ।

मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरुङका अनुसार दसैँपछि दैनिक करिब दुई सय नेपाली, भारतीय तथा तेस्रो मुलुकका पर्यटक आधार शिविरको भ्रमणमा जाने गरेका छन्। गत असोजमा आएको मनसुनजन्य विपद्बाट पदमार्गमा क्षति नपुगेको र क्षेत्र सुरक्षित रहेकाले बिदा मनाउन चाहने युवायुवती तथा रोजगारीमा संलग्न व्यक्तिको आकर्षण बढेको उनको भनाइ छ। पदमार्गका रेस्टुरेन्ट तथा क्याम्पसमेत पर्यटकले भरिभराउ हुन थालेका छन्।

समुद्री सतहदेखि चार हजार ५० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविर पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ। पर्यटकको आगमन बढेसँगै बेनी, भुरुङ–तातोपानी र नारच्याङका पर्यटन व्यवसायी उत्साहित भएका छन्। यस क्षेत्रको पर्यटन गतिविधिले स्थानीय व्यवसाय तथा रोजगारीमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

अन्नपूर्ण आधार शिविरको पारिवारिक भ्रमण सकेर बेनी फर्किएकी म्याग्दी बहुमुखी क्याम्पसकी प्राध्यापक मनिता रायमाझीले दुईदेखि तीन दिनमा पूरा गर्न सकिने यो यात्रा छोटो, साहसिक र रमणीय रहेको प्रतिक्रिया दिएकी छन्। प्राकृतिक सुन्दरता र पदयात्राको अनुभव लिन चाहनेका लागि यो उपयुक्त गन्तव्य भएको उनको भनाइ छ।

पर्यटकको सहजताका लागि हुमखोलादेखि आधार शिविरसम्म विभिन्न स्थानमा अस्थायी संरचना निर्माण गरी चिया तथा खाजा पसल सञ्चालनमा ल्याइएको छ। खाना र बसोबासको सुविधासहितका होटलसमेत सञ्चालनमा छन्। सन्धीखर्क, भुस्केट मेला र पञ्चकुण्ड ताल परिसरमा आश्रयस्थल निर्माण गरिएको छ।

त्यस्तै, हुमखोला, फुतफुते झरना, गुफाफाँट, भुस्केट र पञ्चकुण्ड क्षेत्रमा खानेपानी, शौचालयलगायत पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ। सङ्घीय, प्रदेश र गाउँपालिकाको बजेटबाट पदमार्ग तथा झोलुङ्गे पुलहरूको मर्मतसम्भारसमेत गरिएको छ। गत साता पदमार्गको प्रवेशद्वार बाँसबोटमा पर्यटक सूचना केन्द्र स्थापना गरिएको छ।

आधार शिविरमा पहिलो आरोही मौरिस हर्जोग, लुइस लचेनल र नेपाली सहयोगी सोनाम वाङ्चुक शेर्पाको सालिक राखिएको छ। त्यहाँ खुला सङ्ग्रहालयसमेत स्थापना गरिएको छ। अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामीका अनुसार पहिलो आरोही मौरिस हर्जोगको नामबाट यस पदमार्गको नामकरण गरिएको हो।

नेपालमा ‘जेठो हिमाल’का रूपमा चिनिने अन्नपूर्ण प्रथमको आधार क्षेत्रमा पुग्ने मौरिस हर्जोग पदमार्गअन्तर्गत नारच्याङको दोभान–छोटेपा हुँदै हुमखोलासम्म करिब २० किलोमिटर सवारीसाधनमा यात्रा गर्न सकिन्छ। त्यसपछि करिब २१ किलोमिटर पैदलमार्ग हुँदै दुई दिनको पदयात्रापछि आधार शिविर पुग्न सकिन्छ। बाटोमा पर्ने फुतफुते झरना, पञ्चकुण्ड ताल र हिमाली प्राकृतिक दृश्यले यस यात्रालाई थप आकर्षक बनाउने गरेका छन्।

— नेपालसेज | प्रकाशित: २२ कात्तिक २०८३

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
images
images
सम्बन्धित समाचार
images
images