२०८३, कार्तिक २२ गते

आइतवार, कार्तिक २२ गते २०८३

देउवाको १८ करोड प्रश्न

देउवाको प्रश्न– ‘१८ करोडमा पार्टी किनिदियो भन्ने छ, अब पैसामा पार्टी बेच्ने?’

शनिवार , कार्तिक २१, २०८३

 

सम्पादकीय सारांश

Verified

पूर्वसभापति शेरबहादुर देउवाले १८ करोड रुपैयाँको दाबीबारे प्रश्न उठाएका छन्।

प्रहरी हिरासतमा रहेका भनिएका इनम सापकोटाको अडियोबारे उनले प्रतिक्रिया दिएका छन्।

निर्वाचन आयोगका तत्कालीन प्रमुख आयुक्तको भूमिकाबारे पनि देउवाले टिप्पणी गरेका छन्।

आफू विदेशमा रहेका बेला विशेष महाधिवेशन गरिएको देउवाको भनाइ छ।

कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा आफूले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको उनले बताएका छन्।

 

नेपालसेज, काठमाडौं ।

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले इनम सापकोटाको भनिएको अडियोमा उल्लेख भएको १८ करोड रुपैयाँको दाबीबारे प्रश्न उठाएका छन्। प्रहरी हिरासतमा रहेका सापकोटाले कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा १८ करोड रुपैयाँको आर्थिक लेनदेन भएको दाबी गरेको भनिएको अडियो सार्वजनिक भएपछि देउवाले आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

देउवा पक्षले शनिबार राष्ट्रिय सभागृहमा आयोजना गरेको जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले १८ करोड रुपैयाँ दिएर पार्टी किनिएको भन्ने दाबीप्रति आश्चर्य व्यक्त गरे। ‘इनम सापकोटाले १८ करोड भनेको छ । बा, सानो पैसा हो त्यो ? त्यो पैसा दिएर पार्टी किनिदियो । अब पैसामा पार्टी बेच्ने हामीले ?’ उनले प्रश्न गरे।

सम्बोधनका क्रममा देउवाले कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा निर्वाचन आयोगका तत्कालीन प्रमुख निर्वाचन आयुक्तको भूमिकाबारे पनि टिप्पणी गरे। तत्कालीन प्रमुख आयुक्तले आफ्नो ज्यानको खतरा रहेको कारण निर्णय गरेको भन्ने समाचार आफूले सञ्चारमाध्यमबाट थाहा पाएको उनले बताए।

‘उसबेला निर्वाचन आयोगमा पनि मुद्दा हालेका थियौँ हामीले । तर, निर्वाचन आयोगले, उसबेलाका प्रमुख आयुक्तले बाहिर न्युजमा आएको थियो है– मेरो ज्यानको खतरा भएको कारणले मैले दिएको भनेर बोलेका पनि छन्,’ देउवाले भने।

उनले तत्कालीन आयुक्त जानकी तुलाधरको प्रसंग उल्लेख गर्दै आयोगको निर्णयमा पैसाको लेनदेन भएको आफ्नो आशंका रहेको संकेत गरे। ‘तर, त्यो महिला चाहिँ नडराउने, ऊ डराउने कहीँ हुन्छ ? पैसाको लेनदेन छ पैसाको । थाहा भइहाल्यो नि । त्यसबाट स्पष्ट भयो नि त,’ उनले भने।

देउवाले आफू अहिले पनि नेपाली कांग्रेसको सभापति रहेको दाबी गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेको पनि बताए। आफू विदेशमा रहेका बेला विशेष महाधिवेशन आयोजना गरिएको र आफूलाई सभापतिबाट हटाउने प्रक्रिया नभएको उनको भनाइ थियो।

‘म विदेश भएको समयमा यता विशेष महाधिवेशन भयो । अब पार्टी सभापति म छु, मलाई निकालेको पनि छैन, मैले महाधिवेशन गराएको पनि छैन,’ उनले भने, ‘त्यसै कारणले हामीले अदालतमा मुद्दा हालेका हौँ।’

यसैबीच, इनम सापकोटाको भनिएको अडियोको प्रामाणिकता र त्यसमा उल्लेखित आर्थिक कारोबारको दाबी स्वतन्त्र रूपमा पुष्टि भएको छैन। कांग्रेस सभापति गगन थापाले उक्त आरोप अस्वीकार गर्दै अडियोबारे निष्पक्ष अनुसन्धानको माग गरेका छन्। प्रहरीले पनि यस विषयमा अनुसन्धान भइरहेको जनाएको छ।

 

 

— नेपालसेज | प्रकाशित: २२ कात्तिक २०८३

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
images
images
सम्बन्धित समाचार
images
images