समाचार कक्षमा प्रहरी प्रवेश गराएर पत्रकार पक्राउ गरिएको भन्दै फ्रन्टले अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार भएको जनाएको छ
नेपालसेज/काठमाडौं। समाचार कक्षमा प्रहरी प्रवेश गराएर पत्रकार पक्राउ गरिएको घटनाको नेपाल जेन-जी फ्रन्टले घोर भर्त्सना गरेको छ। फ्रन्टले नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी, डीएनखबरका धिरज बस्नेत र मोटिभेट न्युजका शोभराज बराललाई समाचार कक्षबाट नियन्त्रणमा लिइएको तथा नयाँ पत्रिका र दियो पोस्टका कार्यालयमा सादा पोशाकका प्रहरी पुगेर पत्रकारबारे सोधखोज गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको हो।
नेपाल प्रेसका विश्वमणि सुवेदी, डीएनखबरका धिरज बस्नेत र मोटिभेट न्युजका शोभराज बराल पक्राउ परेको घटनाप्रति जेन-जी फ्रन्टको आपत्ति।
नयाँ पत्रिका र दियो पोस्टका कार्यालयमा सादा पोशाकका प्रहरी पुगेर पत्रकारबारे सोधखोज गरेको आरोप।
पक्राउ पुर्जी र कारण नदेखाई पत्रकार नियन्त्रणमा लिनु संविधानप्रदत्त मौलिक हकको उल्लङ्घन भएको फ्रन्टको दाबी।
पक्राउ परेका पत्रकारलाई तत्काल बिनाशर्त रिहा गर्न र घटनामा संलग्न अधिकारीमाथि छानबिन गर्न माग।
समाचारको स्रोत पत्ता लगाउने वा अभिव्यक्ति नियन्त्रण गर्ने नाममा विद्युतीय कारोबार ऐनका विवादित दफा प्रयोग नगर्न आग्रह।
नेपाल जेन-जी फ्रन्टका संयोजक रक्षा बमद्वारा जारी विज्ञप्तिमा पक्राउ पुर्जी नदेखाई र पक्राउको कारण नखुलाई समाचार कक्षमै प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिनु संविधानप्रदत्त मौलिक हकको गम्भीर उल्लङ्घन भएको उल्लेख गरिएको छ। यस्तो कार्यले अभिव्यक्ति स्वतन्त्रता, सञ्चारको हक तथा पक्राउ र थुनासम्बन्धी अधिकारमाथि प्रहार गरेको फ्रन्टको ठहर छ।
अभिव्यक्ति स्वतन्त्रता, पारदर्शिता र जवाफदेही शासनको माग गर्दै भएको जेन-जी विद्रोहको जगमा बनेको सरकारबाटै पत्रकारमाथि धरपकड हुनु विद्रोहको मर्म र जनादेशविपरीत भएको फ्रन्टले जनाएको छ। समाचारप्रति असहमति वा उजुरी भए प्रेस काउन्सिल वा अदालतमार्फत कानुनी प्रक्रिया अपनाउन सकिने अवस्थामा ‘माथिको आदेश’ भन्दै प्रहरी परिचालन गर्नु अधिनायकवादी प्रवृत्ति भएको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा प्रधानमन्त्री बालेनको सचिवालयले घटनामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको संलग्नता र जानकारी नरहेको बताएको विषयप्रति पनि प्रश्न उठाइएको छ। प्रधानमन्त्रीको सचिवालयले अनभिज्ञता जनाउनुको सट्टा घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने र संविधान उल्लङ्घनमा संलग्न प्रहरी अधिकारी तथा जिम्मेवार प्रहरी नेतृत्वमाथि आवश्यक कारबाही गर्नुपर्ने फ्रन्टको माग छ।
नेपाल जेन-जी फ्रन्टले पक्राउ गरिएका सम्पूर्ण पत्रकारलाई तत्काल र बिनाशर्त रिहा गर्न तथा समाचार कक्षमा प्रहरीको धरपकड रोक्न सरकारसँग माग गरेको छ। साथै, पक्राउको आधार र आदेश दिने अधिकारीको विवरण सार्वजनिक गरी गृहमन्त्रीलाई संसद् र नागरिकप्रति जवाफदेही बनाउनुपर्ने माग पनि अघि सारेको छ।
फ्रन्टले घटनाको नैतिक तथा राजनीतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने उल्लेख गर्दै समाचारको स्रोत पत्ता लगाउने वा विचार तथा अभिव्यक्ति नियन्त्रण गर्ने नाममा विद्युतीय कारोबार ऐनका विवादित दफा प्रयोग गर्ने कार्य रोक्न र सम्बन्धित दफा खारेज गर्ने प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।
अभिव्यक्ति स्वतन्त्रता, सुशासन र जवाफदेहिताको जनादेशविरुद्ध डर, धम्की र धरपकडको बाटो अपनाउन सरकारलाई छुट नभएको उल्लेख गर्दै फ्रन्टले संविधान र अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि निरन्तर सतर्क, मुखर र सङ्गठित भएर उभिने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रतिक्रिया दिनुहोस