नेपालसेज / काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको सचिवालयले पार्टी र नेतृत्वविरुद्ध केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित समाचार र लगाइएका आरोप निराधार, कपोलकल्पित तथा भ्रम फैलाउने उद्देश्यबाट प्रेरित रहेको दाबी गरेको छ।
सोमबार एक विज्ञप्ति जारी गर्दै सचिवालयले सरकारका पछिल्ला गतिविधि र घटनाबाट जनताको ध्यान अन्यत्र मोड्न प्रतिपक्षी दलमाथि सुनियोजित रूपमा भ्रम फैलाउने प्रयास भइरहेको आरोप लगाएको हो। कांग्रेसले पार्टी र नेतृत्वविरुद्ध भइरहेका प्रचारप्रति गम्भीर आपत्ति जनाउँदै अपुष्ट सूचना र राजनीतिक पूर्वाग्रहका आधारमा कसैलाई आरोपित गर्ने प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पारेको छ।
विज्ञप्तिमा नेपाली कांग्रेसले पार्टी विधान र प्रचलित कानुनअनुसार विशेष महाधिवेशन सम्पन्न गरेको उल्लेख गरिएको छ। त्यसबाट नेतृत्व र निर्णयको आधिकारिकतासम्बन्धी विषय निर्वाचन आयोग तथा अदालतका निर्णयबाट पुष्टि भइसकेको सचिवालयको दाबी छ। साथै, संविधान, प्रचलित कानुन, पार्टी विधान र सर्वोच्च अदालतको आदेशका आधारमा हालै सम्पन्न १५औँ महाधिवेशनले पार्टीको संस्थागत प्रक्रियालाई थप सुदृढ बनाएको जनाइएको छ।
नेपाली कांग्रेसले पार्टी र नेतृत्वविरुद्धका समाचार तथा आरोप निराधार भएको दाबी गरेको छ।
गगन थापा सचिवालयले सरकारमाथि जनताको ध्यान विषयान्तर गर्न खोजेको आरोप लगाएको छ।
बिचौलियासँग सम्बन्धित सबै प्रकरणमा निष्पक्ष र प्रमाणमा आधारित अनुसन्धान गर्न माग गरिएको छ।
प्रहरीका कागजात र कथित बयान छानिछानी सार्वजनिक हुँदा अनुसन्धानको निष्पक्षतामाथि प्रश्न उठेको सचिवालयको भनाइ छ।
दोषी देखिने जोकोहीलाई कानुनी कारबाही गर्न कांग्रेसले समर्थन गर्ने जनाएको छ।
कांग्रेसले लोकतन्त्र, नागरिक स्वतन्त्रता, जनअधिकार र विधिको शासनका पक्षमा निरन्तर आवाज उठाउँदै आएको उल्लेख गरेको छ। सरकार लोकतान्त्रिक मूल्य र मान्यताविपरीत अघि बढेमा त्यसको सशक्त प्रतिवाद गर्ने पनि सचिवालयले जनाएको छ।
यसैगरी, बिचौलियासँग सम्बन्धित विषय तथा त्यसमा जोडिएका सबै प्रकरणको गहिरो, निष्पक्ष र प्रमाणमा आधारित अनुसन्धान हुनुपर्ने कांग्रेसको धारणा विज्ञप्तिमा दोहोर्याइएको छ। अनुसन्धानबाट दोषी देखिने जोकोहीलाई कानुनी कारबाही गर्नुपर्ने र त्यसका लागि सरकारलाई पार्टीको पूर्ण साथ तथा समर्थन रहने उल्लेख गरिएको छ।
तर अनुसन्धानसँग सम्बन्धित नेपाल प्रहरीको छापसहितका कागजात, तथ्य तथा कथित बयानहरू छानिछानी सार्वजनिक भइरहेको विषयले अनुसन्धानको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको सचिवालयको भनाइ छ। यस्ता गतिविधिले प्रमाण लुकाउने वा नष्ट गर्ने तथा समग्र अनुसन्धान प्रक्रियालाई प्रभावित पार्ने प्रयास भइरहेको हो कि भन्ने आशङ्का उत्पन्न गरेको विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै, अनुसन्धान चयनात्मक ढङ्गले अघि बढाइएको हो कि भन्ने प्रश्नसमेत उठाइएको छ। अनुसन्धानमा संलग्न निकायभित्रकै व्यक्तिहरूको भूमिकासमेत सार्वजनिक भइरहेकाले समग्र अनुसन्धान प्रक्रिया पारदर्शी, निष्पक्ष र प्रमाणमा आधारित हुनुपर्नेमा कांग्रेसले जोड दिएको छ।
कांग्रेसले कुनै पनि प्रकारको निष्पक्ष अनुसन्धानबाट पछि नहट्ने स्पष्ट पार्दै अपुष्ट आरोप, राजनीतिक पूर्वाग्रह र भ्रामक प्रचारका आधारमा कसैलाई आरोपित गर्ने प्रवृत्ति स्वीकार्य नहुने जनाएको छ। अनुसन्धानलाई निष्पक्ष बनाउन पार्टीको संसदीय दलले समेत निर्णय गरिसकेको विज्ञप्तिमा उल्लेख छ।
अन्त्यमा सचिवालयले सम्बन्धित सबै पक्षलाई प्रमाण र तथ्यका आधारमा जिम्मेवार ढङ्गले विषय प्रस्तुत गर्न आग्रह गरेको छ। साथै, आमनागरिकलाई अपुष्ट सूचना र भ्रामक प्रचारका आधारमा धारणा नबनाउन तथा भ्रममा नपर्न अनुरोध गरिएको छ।
प्रतिक्रिया दिनुहोस