काठमाण्डुले पछिल्ला दुई खेलमा लगातार जित निकालेको छ।
प्रतियोगितामा आठ टोली सहभागी छन्।
नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणअन्तर्गत काठमाण्डु गोर्खाजविरुद्ध लुम्बिनी लायन्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुवै टोलीबीचको खेल सुरु भएको छ। टस जितेसँगै लुम्बिनीले काठमाण्डुलाई पहिले ब्याटिङको निम्तो दिएको हो।
जारी प्रतियोगितामा लुम्बिनी लायन्स अपराजित रहेको छ। रोहितकुमार पौडेलको कप्तानीमा रहेको टोलीले चार खेलमध्ये तीनमा जित निकालेको छ भने एक खेल वर्षाका कारण बराबरी अङ्कमा टुङ्गिएको थियो।
सात अङ्क जोडेको लुम्बिनी अङ्क तालिकाको शीर्ष स्थानमा छ। आजको खेलमा जित निकाल्दै आफ्नो अपराजित यात्रा कायम राख्ने लक्ष्यसहित लुम्बिनी मैदानमा उत्रिएको छ।
यता, तालिकाको चौथो स्थानमा रहेको काठमाण्डु गोर्खाज पनि राम्रो लयमा देखिएको छ। तीन खेल खेलेको काठमाण्डुले दुई खेलमा जित र एक खेलमा हार बेहोरेको छ।
पछिल्ला दुई खेलमा लगातार जित निकालेको काठमाण्डु आजको खेलमा पनि जित हासिल गर्दै आफ्नो विजयी लयलाई निरन्तरता दिन चाहन्छ।
आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुने एनपिएलको तेस्रो संस्करणमा आठ टोली सहभागी छन्।
प्रतिक्रिया दिनुहोस