नेपालसेज/ रसुवा — रोजगारीको खोजीमा विदेशिने युवाको सङ्ख्या बढिरहेका बेला रसुवाका एक युवा भने आफ्नै गाउँमा चौँरीपालन व्यवसाय गरेर सफलताको उदाहरण बनेका छन्। गोसाइँकुण्ड गाउँपालिका–६ नागुङका ३४ वर्षीय पासाङ शेर्पाले पुख्र्यौली पेसालाई व्यावसायिक रूप दिँदै गाउँमै आम्दानीको राम्रो स्रोत बनाएका छन्।
रसुवाका ३४ वर्षीय पासाङ शेर्पाले गाउँमै चौँरीपालन गरेर उदाहरणीय व्यवसाय सञ्चालन गरेका छन्।
मलेसियामा तीन वर्ष बिताएर फर्किएपछि १० चौँरीबाट व्यवसाय सुरु गरेका थिए।
अहिले उनीसँग करिब ४५ लाख रुपैयाँ बराबरका ६० वटा चौँरी छन्।
दूध दिने छ महिनामा करिब ११ लाख रुपैयाँको कारोबार हुन्छ।
वार्षिक खर्च कटाएर करिब ५ लाख रुपैयाँ खुद आम्दानी हुने गरेको पासाङ बताउँछन्।
तीन वर्ष मलेसियामा बिताएका पासाङले विदेशमा सोचेजस्तो आम्दानी गर्न नसकेपछि जन्मभूमि फर्किएर चौँरीपालनलाई निरन्तरता दिने निर्णय गरेका थिए। हजुरबुबा र बुबाको पालादेखि चल्दै आएको पुख्र्यौली पेसालाई व्यावसायिक बनाउने उद्देश्यले उनले परिवारको भागमा परेका १० वटा चौँरीबाट व्यवसाय सुरु गरेका हुन्।
विदेशबाट फर्किएर गरेको निर्णयलाई सही साबित गर्न उनलाई धेरै समय लागेन। विगत ११ वर्षदेखि निरन्तर चौँरीपालनमा लागेका पासाङसँग अहिले करिब ४५ लाख रुपैयाँ बराबरका ६० वटा चौँरी छन्। उनले उत्पादन गरेको दूध तथा दुग्धजन्य पदार्थ काठमाडौंस्थित दुग्ध विकास संस्थान (DDC) मा बिक्री हुँदै आएको छ।
पासाङका अनुसार चौँरीले वर्षमा छ महिना मात्र दूध दिन्छन्। दूध उत्पादन हुने अवधिमा करिब ११ लाख रुपैयाँ बराबरको कारोबार हुने गरेको छ। बाँकी छ महिना चौँरी चरन क्षेत्रमा घाँस खाएर बस्छन्। वार्षिक खर्च कटाएर करिब पाँच लाख रुपैयाँ खुद आम्दानी हुने गरेको उनले बताएका छन्।
गोसाइँकुण्ड गाउँपालिकाबाट तीन वर्षअघि प्राप्त सात लाख रुपैयाँ अनुदानले व्यवसायलाई थप व्यवस्थित र विस्तार गर्न सहयोग पुगेको पासाङको भनाइ छ। आफ्नै मेहनतबाट चौँरी फार्मलाई करिब ४५ लाख रुपैयाँ बराबरको सम्पत्तिमा रूपान्तरण गरेका उनी पुख्र्यौली पेसालाई नयाँ पुस्तासम्म पुर्याउन चाहन्छन्।
“अरूको देशमा पसिना बगाउनुभन्दा आफ्नै गाउँमा दुःख गरेअनुसारको प्रतिफल पाइन्छ,” पासाङ भन्छन्, “हाम्रा पुर्खाहरू दुःखमा परेका कारण हामीले धेरै पढ्न पाएनौँ, तर आज अनुभवकै बलमा यहाँसम्म आइपुगेका छौँ।”
व्यवसायलाई थप व्यवस्थित बनाउन उनले नागुङमा १३ रोपनी जग्गामा चौँरीका लागि गोठ निर्माण गरेका छन्। विदेश जाने युवाको लर्को लागिरहेका बेला उनको प्रयासले परम्परागत पेसालाई व्यावसायिक रूप दिएर गाउँमै रोजगारी र आम्दानीको सम्भावना खोज्न सकिने देखाएको छ।
गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङले पासाङको मेहनत र लगनशीलताको प्रशंसा गरेका छन्। उनका अनुसार पासाङ गाउँपालिकाकै उदाहरणीय तथा नमूना किसान हुन्।
त्यस्तै, वडा नम्बर ६ का अध्यक्ष कर्मा दावा सिदार वाइबाले पासाङको व्यावसायिक सफलताले गाउँका अन्य युवालाई पनि आफ्नै ठाउँमा उद्यम गर्न प्रेरित गरेको बताएका छन्। “विदेशी भूमिमा पसिना बगाउनुभन्दा स्वदेशमै यस्ता व्यवसाय गर्न सके गाउँघर खाली हुने अवस्था आउने थिएन,” उनले भनेका छन्।
परिवारको पुख्र्यौली पेसालाई व्यावसायिक रूप दिँदै पासाङले हासिल गरेको सफलताले गाउँमै सम्भावना खोज्ने हो भने विदेशिनु नै एकमात्र विकल्प होइन भन्ने सन्देश दिएको छ।
— नेपालसेज | प्रकाशित: १९ कात्तिक २०८३
प्रतिक्रिया दिनुहोस