सांस्कृतिक उत्सवले स्थानीय कला, साहित्य र परम्पराको संरक्षणसँगै पहिरोको जोखिममा रहेको छेडेदह तालको संरक्षण र पर्यटन प्रवर्द्धनको आवश्यकता औँल्याएको छ।
नेपालसेज/ बाजुरा।
बाजुराको खप्तड छेडेदह गाउँपालिकास्थित पर्यटकीय गन्तव्य छेडेदह तालको आँगनमा देउडाका भाका गुञ्जाउँदै मौलिक संस्कृति र प्राकृतिक सम्पदा संरक्षणको सन्देश दिइएको छ। छेडेदह कला साहित्य प्रतिष्ठानले कात्तिक १८ र १९ गते सांस्कृतिक तथा देउडा उत्सव ‘रैबार छेडेदह’को दोस्रो संस्करण आयोजना गरेको हो। चारैतिर हरियाली र मनोरम प्राकृतिक दृश्यले घेरिएको ताल किनारमा आयोजित उत्सवले स्थानीय कला, साहित्य र संस्कृतिलाई पर्यावरण संरक्षणसँग जोड्ने प्रयास गरेको छ। ‘छेडेदह नाम गयो, पानी नाउलो सुकी गयो, छेडेदह ताल वृक्षरोपण गरौँ’ र ‘माथि छ मालिका, तल पर्छ नाटेश्वरी, वडा गाउँपालिका पहिरोको रोकथाम गरौँ’ जस्ता देउडाका भाकामार्फत स्थानीय मौलिक संस्कृति र प्राकृतिक सम्पदा संरक्षणको सन्देश दिइएको थियो। कार्यक्रममा देउडा खेलसँगै साहित्यका विभिन्न विधामा सक्रिय कलाकारले आफ्ना सिर्जना तथा कला प्रस्तुत गरेका थिए। स्थानीय वेशभूषा, भाषा र परम्परासहित प्रस्तुत गरिएको देउडाले नयाँ पुस्तालाई आफ्नै मौलिक संस्कृतिसँग जोड्ने प्रयास गरेको थियो।
बाजुराको छेडेदह तालमा कात्तिक १८ र १९ गते ‘रैबार छेडेदह’को दोस्रो संस्करण आयोजना।
देउडा, साहित्य र स्थानीय कलामार्फत मौलिक संस्कृति संरक्षणको सन्देश।
बडीमालिका, खप्तड, बुढीनन्दा, रानीसैन र छेडेदहलगायतका सम्पदाको प्रवर्द्धनमा जोड।
पहिरोको जोखिममा रहेको छेडेदह ताल संरक्षणका लागि साझा योजना बनाउन आग्रह।
स्थानीय संस्कृति र प्राकृतिक सम्पदालाई पर्यटनसँग जोड्नुपर्नेमा जोड।
प्रतिष्ठानका अध्यक्ष गणेश बुढाका अनुसार बडीमालिका, खप्तड, बुढीनन्दा, रानीसैन र छेडेदह ताललगायतका धार्मिक तथा पर्यटकीय सम्पदाको संरक्षण र प्रवर्द्धनसँगै स्थानीय कला तथा संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले उत्सव आयोजना गरिएको हो। यस्ता गतिविधिले स्थानीय सम्पदाको पहिचान विस्तार गर्न सहयोग पुग्ने उनले बताएका छन्। प्रतिष्ठानका सल्लाहकार कृष्ण ओलीले कला, साहित्य र संस्कृतिको क्षेत्रमा प्रतिष्ठानले हरेक वर्ष विभिन्न सकारात्मक गतिविधि सञ्चालन गर्दै आएको बताएका छन्।
कार्यक्रममा सहभागी वक्ताहरूले छेडेदह ताल पहिरोको जोखिममा रहेकाले यसको संरक्षण र व्यवस्थापनमा सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका थिए। तालको संरक्षण र प्रवर्द्धनमा समयमै ध्यान नदिए प्राकृतिक सम्पदासँगै यस क्षेत्रको पहिचानसमेत संकटमा पर्न सक्ने उनीहरूको भनाइ थियो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर मौनीले यस्ता सांस्कृतिक कार्यक्रमले मौलिक कला र संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
गाउँपालिका उपाध्यक्ष विशुदेवी नाथले गाउँपालिकाकै नामकरणसँग जोडिएको छेडेदह तालको संरक्षण र मौलिक संस्कृतिको जगेर्ना गर्न नसकिए यहाँको पहिचान अप्ठेरोमा पर्ने बताएकी छन्। उनले प्राकृतिक सम्पदा र सांस्कृतिक पहिचान जोगाउन सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिएकी छन्। गाउँपालिका अध्यक्ष दिलबहादुर रावतले छेडेदह ताल क्षेत्रको पहिचान भएको उल्लेख गर्दै यसको संरक्षणका लागि आपसी विवाद र राजनीतिक आस्थाभन्दा माथि उठेर साझा योजना र सहमतिका साथ अघि बढ्नुपर्ने बताएका छन्। बडीमालिका जाने पर्यटकसमेत तालको सौन्दर्य देखेर आकर्षित हुने भए पनि अहिले ताल पहिरोको जोखिममा रहेको उनले बताएका छन्।
छेडेदह तालको स्वच्छ पानी, वरिपरिको हरियाली र शान्त प्राकृतिक वातावरणले पर्यटकलाई आकर्षित गर्दै आएको छ। तर यसको प्राकृतिक सुन्दरता र अस्तित्व जोगाउन पहिरो नियन्त्रण, ताल आसपासको फोहोर व्यवस्थापन तथा व्यवस्थित पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने देखिन्छ। गाउँपालिकाले तालको संरक्षण र प्रवर्द्धनका लागि दीर्घकालीन योजना बनाएर कार्यान्वयन गर्न सके यसको पर्यटकीय सम्भावना थप विस्तार हुन सक्छ।
छेडेदहलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न प्राकृतिक सुन्दरता मात्रै पर्याप्त हुँदैन। यहाँको मौलिक संस्कृति, स्थानीय जीवनशैली, भाषा, भेषभूषा र परम्परालाई पर्यटनसँग जोड्न आवश्यक छ। देउडा, स्थानीय कला र प्राकृतिक सम्पदाको एकीकृत प्रवर्द्धन गर्न सके यस क्षेत्रको पर्यटन विकासमा नयाँ सम्भावना खुल्न सक्छ। छेडेदह तालको किनारमा गुञ्जिएको देउडाले मनोरञ्जनसँगै प्रकृति र संस्कृतिप्रतिको सामूहिक जिम्मेवारी पनि स्मरण गराएको छ।
प्रतिक्रिया दिनुहोस