२०८३, कार्तिक २२ गते

आइतवार, कार्तिक २२ गते २०८३

पोखरामा फूलको रौनक

पोखरामा फूलैफूलको मौसम, पुष्प प्रदर्शनीमा बढ्दै उपभोक्ताको भीड

पोखरा रङ्गशालामा जारी पुष्प प्रदर्शनीमा सयपत्री र गोदावरीसहित विभिन्न प्रजातिका फूल किन्न सर्वसाधारणको भीड बढेको छ।

शुक्रवार , कार्तिक २०, २०८३

नेपालसेज/ पोखरा।
तिहार नजिकिएसँगै पोखरा रङ्गशाला फूलैफूलले सजिएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल, कास्कीले आयोजना गरेको ‘नवौँ गोदावरी पुष्प प्रदर्शनी तथा तेस्रो सयपत्री पुष्प मेला’मा फूल अवलोकन र खरिद गर्ने सर्वसाधारणको भीड बढ्दै गएको छ। प्रदर्शनीकक्षमा रङ्गीबिरङ्गी फूल सजाइएका छन्। अवलोकनका लागि पुग्ने कतिपयले फूलसँग तस्बिर खिचिरहेका छन् भने कतिपयले आफूलाई मनपर्ने फूल र बिरुवा किनिरहेका छन्।

सम्पादकीय सारांश

Verified

पोखरा रङ्गशालामा नवौँ गोदावरी पुष्प प्रदर्शनी तथा तेस्रो सयपत्री पुष्प मेला जारी छ।

प्रदर्शनीमा फूलका २२, कृषि सामग्रीका तीन र सूचनामूलक एक गरी २६ स्टल छन्।

पोखरामा करिब २०० रोपनी क्षेत्रफलमा व्यावसायिक सयपत्री खेती हुँदै आएको छ।

पोखरामा वार्षिक करिब तीन करोड रुपैयाँ बराबरको फूल कारोबार हुने अनुमान छ।

कात्तिक २३ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा ३५ हजारभन्दा बढी दर्शक आउने आयोजकको अपेक्षा छ।

बुधबारदेखि सुरु भएको प्रदर्शनीले फूल उत्पादक किसान, व्यवसायी र उपभोक्तालाई एउटै स्थानमा ल्याएको छ। तिहारमा सयपत्री र गोदावरी फूलको माग बढ्ने भएकाले त्यसलाई लक्षित गरी प्रदर्शनी आयोजना गरिएको हो। प्रदर्शनीमा विभिन्न प्रजातिका फूल तथा बिरुवा बिक्री र अवलोकनका लागि राखिएका छन्। फूल उत्पादक काशीराम गुरुङका अनुसार सुरुआती दुई दिनमै अपेक्षाभन्दा राम्रो कारोबार भएको छ। दिनभरि ग्राहक आउने क्रम जारी रहेकाले किसान र व्यवसायी उत्साहित छन्।

प्रदर्शनीमा तिहारका लागि आवश्यक सयपत्री र गोदावरी फूलको बिक्री बढी भइरहेको छ। पोखरा महानगरपालिका–१० अमरसिंहचोककी शान्ता थापाले आफूलाई मनपर्ने फूल छानेर किन्न पाएको बताएकी छन्। उनले प्रदर्शनीबाट सात हजार ५०० रुपैयाँ बराबरका विभिन्न फूल खरिद गरेकी छन्। फूलको किनमेलमा धेरै मोलमोलाइ गर्न नपर्ने र प्रदर्शनीको वातावरणले पनि खरिद गर्न आकर्षित गर्ने उनको अनुभव छ।

पोखरा–१२ स्थित गार्डेन नर्सरीकी सञ्चालक रुपा श्रेष्ठले आफ्नो स्टलमा ११ प्रकारका गोदावरी फूल बिक्री तथा प्रदर्शनीका लागि राखेकी छन्। उनका अनुसार प्रदर्शनीमा आउनेको सङ्ख्या उत्साहजनक छ र सबै स्टलमा कारोबार भइरहेको छ। स्थानीय फूल उत्पादकलाई बजार उपलब्ध गराउने तथा उपभोक्तालाई सहज रूपमा फूल र बिरुवा खरिद गर्ने अवसर प्रदान गर्ने उद्देश्यले मेला आयोजना गरिएको एसोसिएसनका अध्यक्ष रामप्रसाद सुवेदीले बताएका छन्।

एसोसिएसनमा आबद्ध ४२ वटा नर्सरी तथा पुष्प व्यवसायी फूल उत्पादन र बिक्रीवितरणमा संलग्न छन्। पोखरा महानगरपालिकाका अनुसार पोखरामा करिब २०० रोपनी जग्गामा सयपत्री फूलको व्यावसायिक खेती हुँदै आएको छ। यहाँ वार्षिक झन्डै तीन करोड रुपैयाँ बराबरको फूल कारोबार हुने अनुमान गरिएको छ। पुष्प व्यवसायलाई प्रतिस्पर्धी र दिगो बनाउन गुणस्तरीय उत्पादन तथा स्वच्छ बजार प्रवर्द्धन आवश्यक रहेको अध्यक्ष सुवेदीको भनाइ छ।

प्रदर्शनीमा फूलका २२, कृषि सामग्रीका तीन र सूचनामूलक एक गरी २६ वटा स्टल छन्। कात्तिक २३ गतेसम्म सञ्चालन हुने मेलामा ३५ हजारभन्दा बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ। गोदावरी फूललाई केन्द्रमा राखेर आयोजना गरिएको भए पनि सयपत्रीलगायत अन्य प्रजातिका फूल र बिरुवा पनि बिक्रीका लागि राखिएका छन्।

पछिल्लो समय पोखरा र कास्कीका अन्य क्षेत्रमा पनि फूलखेतीप्रति किसानको आकर्षण बढ्दै गएको व्यवसायीले बताएका छन्। नर्सरीबाट बिरुवा लगेर गाउँगाउँमा फूल उत्पादन गर्ने किसानको सङ्ख्या बढिरहेको छ। उन्नत बीउबिजन, अनुदान र आधुनिक खेती प्रविधिले पुष्प व्यवसाय विस्तारमा सहयोग पुर्‍याएको जनाइएको छ। पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारका विभिन्न निकायसहित पोखरा उद्योग वाणिज्य सङ्घले प्रदर्शनी प्रवर्द्धन तथा आयोजनामा सहयोग गरेका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
images
images
सम्बन्धित समाचार
images
images