जाडो मौसम सुरु भएसँगै वायु प्रदूषणको जोखिम बढ्न सक्ने काठमाडौं महानगरको चेतावनी छ।
महानगरले प्लास्टिकजन्य फोहर खुला रूपमा नबाल्न आग्रह गरेको छ।
सवारीसाधनको धुवाँ, निर्माण कार्य र उद्योगबाट निस्कने धुवाँधुलो प्रदूषणका प्रमुख कारण रहेको महानगरको भनाइ छ।
बालबालिका, ज्येष्ठ नागरिक र दीर्घरोगी वायु प्रदूषणबाट बढी जोखिममा पर्ने जनाइएको छ।
सवारीसाधन, निर्माण कार्य र उद्योगलाई प्रदूषण नियन्त्रणसम्बन्धी मापदण्ड पालना गर्न आग्रह गरिएको छ।
नेपालसेज/ काठमाडौं — जाडो मौसम सुरु भएसँगै वायु प्रदूषणबाट हुन सक्ने स्वास्थ्य जोखिम बढ्ने भन्दै काठमाडौं महानगरपालिकाले प्लास्टिकजन्य फोहरमैला खुला रूपमा नबाल्न आग्रह गरेको छ। महानगरको वातावरण विभागले वायु प्रदूषण नियन्त्रणका लागि सर्वसाधारण, उद्योग तथा सम्बन्धित पक्षलाई आवश्यक सावधानी अपनाउन अपिल गरेको हो।
कामपा वातावरण विभागका प्रमुख सरिता राईका अनुसार सवारीसाधनबाट निस्कने धुवाँ, सडक तथा अन्य निर्माण कार्यबाट उत्पन्न हुने प्रदूषण, उद्योग तथा कलकारखानाबाट निस्कने धुवाँधुलो र खुला रूपमा प्लास्टिकजन्य फोहर बाल्दा निस्कने धुवाँ वायु प्रदूषणका प्रमुख कारण हुन्।
खराब वायु गुणस्तरका कारण विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, दम तथा खोकीका बिरामी र दीर्घरोग भएका व्यक्ति बढी जोखिममा पर्ने महानगरले जनाएको छ। त्यसैले प्रदूषण बढाउने गतिविधि नगर्न र नगराउन प्रमुख राईले सम्बन्धित सबै पक्षलाई आग्रह गरेकी छन्।
महानगरले सवारीसाधन प्रचलित प्रदूषण नियन्त्रण मापदण्डभित्र रहेर सञ्चालन गर्न तथा नियमित मर्मतसम्भार गरी धुवाँ उत्सर्जन कम गर्न आग्रह गरेको छ। त्यस्तै, निर्माणजन्य सामग्री सडक तथा फुटपाथमा थुपार्न नहुने महानगरको भनाइ छ।
उद्योग, कलकारखाना तथा अस्पतालले पनि काठमाडौं महानगरपालिकाको प्रदूषण नियन्त्रण मापदण्ड, २०८१ ले तोकेको वायु गुणस्तर तथा धुवाँसम्बन्धी मापदण्ड पालना गरेर मात्रै काम गर्नुपर्ने विभागले जनाएको छ। उद्योगहरूमा वायु प्रदूषण कम गर्ने उपकरण प्रयोग गर्नसमेत आग्रह गरिएको छ।
जाडो मौसममा वायु प्रदूषणबाट हुने जोखिम न्यूनीकरण गर्न व्यक्तिगत सावधानीसँगै सवारीसाधन, निर्माण क्षेत्र र औद्योगिक गतिविधिमा प्रदूषण नियन्त्रणका उपाय अपनाउन महानगरले जोड दिएको छ।
— नेपालसेज | प्रकाशित: १९ कार्तिक २०८३
प्रतिक्रिया दिनुहोस