२०८३, कार्तिक २२ गते

आइतवार, कार्तिक २२ गते २०८३

२६१ परिवारलाई लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए जग्गाधनी पुर्जा, पाँच पुस्तापछि स्वामित्वको प्रमाण

कपिलवस्तुको कृष्णनगर नगरपालिका–१, ७ र ९ का परिवारले गाउँब्लक जग्गाको कानुनी स्वामित्व प्रमाणित गर्ने लालपुर्जा प्राप्त गरेका छन्।

शुक्रवार , कार्तिक २०, २०८३

नेपालसेज/ कपिलवस्तु।
कपिलवस्तुको कृष्णनगर नगरपालिकाका २६१ परिवारले लामो समयको प्रतीक्षापछि गाउँब्लक जग्गाको जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। वर्षौँदेखि जग्गा भोगचलन गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाण नहुँदा विभिन्न समस्या झेल्दै आएका स्थानीयवासी लालपुर्जा पाएपछि खुसी भएका छन्। कृष्णनगर नगरपालिका र नापी कार्यालय तौलिहवाको संयुक्त आयोजनामा नगरपालिका–९ मा आयोजित कार्यक्रममा जग्गाधनीलाई पुर्जा वितरण गरिएको हो।
नगरपालिकाका अनुसार वडा नं १ का ७३, वडा नं ७ का ४९ र वडा नं ९ का १३९ परिवारले लालपुर्जा प्राप्त गरेका छन्। यससँगै लामो समयदेखि जग्गाको स्वामित्व प्रमाणित गर्ने कागजातको प्रतीक्षामा रहेका परिवारले कानुनी रूपमा आफ्नो जग्गाको स्वामित्व स्थापित गर्ने आधार पाएका छन्।

सम्पादकीय सारांश

Verified

कृष्णनगर नगरपालिकाका २६१ परिवारले गाउँब्लक जग्गाको लालपुर्जा पाएका छन्।

वडा नं १ का ७३, वडा नं ७ का ४९ र वडा नं ९ का १३९ परिवारले पुर्जा प्राप्त गरेका छन्।

केही परिवारले पाँच पुस्तादेखि भोगचलन गर्दै आएको जग्गाको स्वामित्व प्रमाण पाएका छन्।

विसं २०७० मा नापी गरिएको जग्गाको दर्ता प्रक्रिया पूरा गरी पुर्जा वितरण गरिएको हो।

नगरपालिकाले बाँकी गाउँब्लक तथा बहाल बिटौरी जग्गाको पुर्जा वितरण प्रक्रिया अघि बढाउने जनाएको छ।

लालपुर्जा प्राप्त गर्ने ८० वर्षीया स्थानीय मधुरा कुर्मिनीले जीवनको उत्तरार्धमा जग्गाको स्वामित्व प्रमाणित हुने कागजात पाउँदा खुसी लागेको बताएकी छन्। वर्षौँदेखि जग्गा भोगचलन गर्दै आए पनि आफ्नो नाममा पुर्जा नभएको उल्लेख गर्दै उनले बुढेसकालमा भए पनि आफ्नो जग्गाको प्रमाण हात परेको बताएकी छन्। वडा नं ९ का स्थानीय छेदी अहिरले पाँच पुस्तादेखि भोगचलन हुँदै आएको जग्गाको लालपुर्जा अहिले प्राप्त भएको बताएका छन्। पुर्जा नहुँदा जग्गाको स्वामित्वबारे समस्या र अन्योल रहँदै आएको उल्लेख गर्दै उनले पुर्जा पाएपछि परिवारमा खुसी छाएको बताएका छन्।

कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजतप्रताप शाहले गाउँब्लक जग्गाधनीलाई लालपुर्जा उपलब्ध गराउने कार्यलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताएका छन्। लालपुर्जा प्राप्त भएपछि स्थानीयको जग्गामाथिको कानुनी स्वामित्व सुरक्षित हुनुका साथै आर्थिक तथा सामाजिक गतिविधिमा समेत सहजता आउने उनको भनाइ छ। नगरपालिकाभित्र रहेका बाँकी गाउँब्लक जग्गाधनीलाई पनि क्रमशः प्रमाणपुर्जा उपलब्ध गराउने प्रक्रिया जारी राखिने उनले बताएका छन्।

नगर प्रमुख शाहका अनुसार बाँकी जग्गाको दर्ता प्रक्रिया सम्बन्धित निकायसँग समन्वय गरी छिटो सम्पन्न गर्न पहल गरिनेछ। कृष्णनगर बजार, बहादुरगञ्ज बजार र सिर्सिहवामा रहेका बहाल बिटौरी जग्गाको लालपुर्जा वितरणका लागि पनि प्रक्रिया अघि बढाउने तयारी छ। यसका लागि अध्यादेश आइसकेको र आयोग गठन भएपछि पुर्जा वितरणको काम अगाडि बढाइने उनले बताएका छन्।

नापी कार्यालय तौलिहवाका प्रमुख जनक भण्डारीले गाउँब्लक जग्गाको नापजाँच तथा दर्ता प्रक्रिया पूरा गरी प्रमाणपुर्जा वितरण गरिएको जानकारी दिएका छन्। विसं २०७० मा नापी गरिएको जग्गाको प्रमाणपुर्जा वितरण गरिएको उल्लेख गर्दै उनले पुर्जामा जग्गाधनीको नाम, कित्ता नम्बर र क्षेत्रफललगायत विवरण ध्यानपूर्वक जाँच गर्न आग्रह गरेका छन्। विवरणमा त्रुटि भेटिएमा सम्बन्धित कार्यालयमा सम्पर्क गरी सच्याउन सकिने उनले बताएका छन्।

कार्यक्रममा नगर उपप्रमुख आरती चौधरी, प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद देवकोटा, वडा नं ९ का वडाध्यक्ष शतिस हरिजन, नापी टोलीका कर्मचारी, स्थानीय जनप्रतिनिधि तथा जग्गाधनीको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
images
images
सम्बन्धित समाचार
images
images