फरकफरक राजनीतिक दलमा आबद्ध तीन युवाले ४० रोपनी जग्गामा सयपत्री फूलखेती गरेर १२ हजार माला बिक्री गर्ने लक्ष्य राखेका छन्।
नेपालसेज/ खोटाङ।
राजनीतिमा सक्रिय तीन युवाले सामूहिक लगानीमा व्यावसायिक सयपत्री फूलखेती सुरु गरेर राम्रो उत्पादन लिन सफल भएका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा ‘खोटाङ एग्रो इन्डस्ट्री फार्म’ स्थापना गरी करिब ४० रोपनी जग्गामा गरिएको फूलखेतीले तिहारको बजारलाई लक्षित गर्दै उत्पादन दिएको हो। राजनीति र व्यावसायिक कृषिलाई सँगसँगै अघि बढाएका युवाले यस वर्ष करिब १२ हजार सयपत्री माला बिक्री गर्ने लक्ष्य राखेका छन्।
खोटाङका तीन युवाले ४० रोपनी जग्गामा व्यावसायिक सयपत्री फूलखेती गरेका छन्।
तिहारमा करिब १२ हजार माला बिक्री गर्ने लक्ष्य राखिएको छ।
नौ हजार माला काठमाडौं र तीन हजार जिल्ला बजारमा बिक्री गर्ने योजना छ।
फूल टिप्न र माला उन्न दैनिक २५ जना कामदार परिचालन गरिएको छ।
पहिलो वर्षमै ३० देखि ३६ लाख रुपैयाँ आम्दानी हुने सञ्चालकको अनुमान छ।
फार्ममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका लेखबहादुर रम्तेल, बालकृष्ण कटवाल र वडा नं ४ खाल्लेका चन्द्र केसीको सामूहिक लगानी छ। तिहार नजिकिएसँगै बारीभरि पहेँलपुर फुलेका सयपत्री फूल टिप्ने र माला उन्ने काम तीव्र पारिएको छ। सञ्चालक रम्तेलका अनुसार यस वर्ष तयार गरिने करिब १२ हजार मालामध्ये नौ हजार काठमाडौं र तीन हजार खोटाङमै बिक्री गर्ने योजना छ।
पहिलोपटक सञ्चालन गरिएको फूलखेतीबाट ३० देखि ३६ लाख रुपैयाँसम्म आम्दानी हुने अनुमान गरिएको रम्तेलले बताएका छन्। फूल टिप्न र माला उन्न दैनिक २५ जना कामदार परिचालन गरिएको छ। माला उन्ने कामदारलाई प्रतिमाला सात रुपैयाँ पारिश्रमिक दिने गरिएको छ। एक जना कामदारले दैनिक १०० वटाभन्दा बढी माला तयार गर्न सक्ने भएकाले यसबाट स्थानीय कामदारको आम्दानीमा पनि सहयोग पुगेको सञ्चालकको भनाइ छ।
फूलखेतीले स्थानीय महिलालाई मौसमी रोजगारीसमेत दिएको छ। फार्ममा उत्पादित फूल केही दिन काठमाडौंमा भण्डारण गरेर तिहारको बजार सुरु भएपछि बिक्री गर्ने तयारी गरिएको सञ्चालक केसीले बताएका छन्। पहिलो प्रयासमै राम्रो उत्पादन भएकाले आगामी दिनमा फूलखेतीलाई थप विस्तार गरी आम्दानीको भरपर्दो स्रोत बनाउन सकिने उनको अपेक्षा छ।
तीन युवाले यसअघि पनि बाम्राङमा अकबरे खुर्सानी खेती तथा व्यावसायिक भैँसीपालन गर्दै आएका छन्। दूध उत्पादनका लागि यस वर्ष २० वटा लैनो भैँसी पाल्ने योजना बनाइएको छ। त्यसका लागि १०० रोपनी जग्गा भाडामा लिएर घाँसखेतीसमेत गरिएको छ। फार्ममा दुई जना पूर्णकालीन कामदार छन्, जसलाई खाना तथा खाजासहित मासिक तलब उपलब्ध गराइन्छ। अन्य कामदारलाई सिजनअनुसार दैनिक ५०० देखि ८०० रुपैयाँसम्म ज्याला दिने गरिएको छ।
फार्मबाट उत्पादित दूध तथा दूधका परिकार दिक्तेलबजारस्थित सालपा कृषि कम्पनीको ‘रैथाने कृषि मार्ट र रैथाने खाजा घर’मा खपत हुँदै आएको छ। स्थानीय कृषि उत्पादनको प्रवर्द्धन, प्रशोधन र बजारीकरण गर्ने उद्देश्यले स्थापना भएको कम्पनीले जिल्लामा उत्पादित कृषिउपज खरिद गरेर काठमाडौंलगायत सहरमा बिक्री गर्दै आएको छ।
फरकफरक राजनीतिक दलमा आबद्ध तीन युवाले राजनीति गर्ने व्यक्तिका लागि आम्दानीको वैकल्पिक स्रोत आवश्यक रहेको भन्दै सामूहिक लगानीमा कृषि व्यवसाय सुरु गरेको बताएका छन्। फूलखेतीसँगै खुर्सानी उत्पादन र भैँसीपालनलाई अघि बढाएका उनीहरूको प्रयास स्थानीयस्तरमा व्यावसायिक कृषिको उदाहरणका रूपमा देखिएको छ।
प्रतिक्रिया दिनुहोस