कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि आज मनोनयन, २९७ सदस्यीय समिति बन्ने
काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनको प्रक्रिया निर्णायक चरणमा प्रवेश गरेको छ। नयाँ नेतृत्वका लागि आज बिहानदेखि उम्मेदवारी मनोनयन दर्ता सुरु हुँदैछ। केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता हुनेछ। मंगलबारको बन्दसत्रबाट सभापति, उपसभापति र कोषाध्यक्षको प्रतिवेदन पारित भएसँगै निर्वाचन प्रक्रिया अघि बढ्न लागेको हो।
आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ता।
असोज २१ गते उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन।
असोज २२ गते बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान।
राष्ट्रिय सभागृह, प्रज्ञा भवन र खुलामञ्चमा मतदान केन्द्र।
नयाँ केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बन्ने।
निर्वाचन समितिले सोमबार नै मतदाता नामावली प्रकाशन, दाबी–विरोध, त्यसउपर छानबिन तथा अन्तिम मतदाता नामावली प्रकाशनको काम सम्पन्न गरिसकेको छ।
मनोनयन दर्तापछि आजै अपराह्न ४ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ। ४ः३० देखि ५ः३० बजेसम्म उम्मेदवारीमाथि दाबी–विरोध गर्न सकिनेछ भने बेलुका ७ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतालिका छ।असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ। त्यसपछि बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। सोही दिन उम्मेदवारहरूले प्रचारप्रसार गर्न पाउनेछन्।
असोज २२ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ। मतदान सकिएलगत्तै मतगणना सुरु गर्ने निर्वाचन समितिको तयारी छ। निर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोग नहुने कांग्रेसका एक पदाधिकारीले जानकारी दिएका छन्।
तीन स्थानमा मतदान
कांग्रेस महाधिवेशनको मतदान तीन स्थानमा हुनेछ। बागमती प्रदेशका प्रतिनिधिका लागि राष्ट्रिय सभागृह, गण्डकी र लुम्बिनी प्रदेशका लागि प्रज्ञा भवन तथा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिका लागि खुलामञ्चमा मतदान केन्द्र तोकिएको छ। भ्रातृ तथा शुभेच्छुक संस्था र नेपाली जनसम्पर्क समितिका प्रतिनिधिहरूले पनि खुलामञ्चबाट मतदान गर्नेछन्।
२९७ सदस्यीय केन्द्रीय समिति
महाधिवेशनबाट पारित संशोधित विधानअनुसार कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुनेछ। संरचनामा सभापति एक, वरिष्ठ उपसभापति एक, उपसभापति चार, महामन्त्री तीन र सहमहामन्त्री १५ जना रहनेछन्। उपसभापति र महामन्त्रीमा कम्तीमा एक–एक जना महिला अनिवार्य गरिएको छ।
कोषाध्यक्ष केन्द्रीय सदस्यमध्येबाट चयन गरिनेछ। प्रवक्ता र सहप्रवक्ताको व्यवस्था पनि विधानमा गरिएको छ।केन्द्रीय सदस्यतर्फ खुला र विभिन्न समावेशी समूहका लागि छुट्टाछुट्टै कोटा निर्धारण गरिएको छ। सातै प्रदेशबाट ३५ वर्षमुनिका २१ जना युवा, अपाङ्गता भएका व्यक्तिबाट एक जना र प्रजातन्त्र सेनानीबाट तीन जना केन्द्रीय सदस्य रहने व्यवस्था छ।
यसबाहेक केन्द्रीय कार्यसमितिले ६६ जना सदस्य मनोनीत गर्नेछ।
प्रतिक्रिया दिनुहोस