नेपालसेज/ रसुवा। प्राकृतिक सौन्दर्य, धार्मिक आस्था, जैविक विविधता र मौलिक हिमाली संस्कृतिको अनुपम सङ्गम रहेको रसुवाको ‘नागथली’ आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा विकसित हुँदै गएको छ। समुद्री सतहबाट तीन हजार १६५ मिटरको उचाइमा रहेको यो क्षेत्र हिमाली दृश्यावलोकन, पदयात्रा र सांस्कृतिक पर्यटनमा रुचि राख्ने पर्यटकका लागि विशेष आकर्षण बन्दै गएको हो।
समुद्री सतहबाट ३ हजार १६५ मिटर उचाइमा रहेको नागथली पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै।
हिमशृङ्खला, हिमनदी, लालीगुँरास र चौँरी खर्क मुख्य आकर्षण।
धार्मिक तथा ऐतिहासिक सम्पदासहित तामाङ, शेर्पा र तिब्बती संस्कृतिको अनुभव गर्न सकिने।
पर्यटकको चाप बढेसँगै होटल तथा लजको सङ्ख्या एउटाबाट बढेर करिब छ पुगेको।
भोटेकोशी बाढीले सडक अवरुद्ध गरेपछि हाल स्याफ्रुबेँसीबाट पैदलयात्रा गरेर पुग्नुपर्ने अवस्था।
गोसाइँकुण्ड गाउँपालिका–१, थुमनमा पर्ने नागथली प्राकृतिक सुन्दरता र धार्मिक महत्त्वका कारण परिचित छ। स्थानीय भाषामा ‘नगथली’ भनेर चिनिने यस स्थानमा गुम्बानजिकै नागको थान रहेकाले नाम ‘नागथली’ रहन गएको स्थानीय बासिन्दाको भनाइ छ। प्राचीन कालमा गुरु रिम्बोर्छेले यस क्षेत्रमा तपस्या गरी गुम्बा निर्माण गरेको जनविश्वास छ। गुम्बाभित्र भगवान् बुद्ध, चेरेसी र गुटासिङतोङका मूर्तिहरू रहेका छन्।
चन्द्रपात्रोअनुसार प्रत्येक वर्ष वैशाख र असोज महिनाको पूर्णिमाका दिन यहाँ विशेष पूजाआजासहित मेला लाग्ने गर्दछ। मुख्य गुम्बाको उत्तर–पश्चिम कुनामा अर्को गुम्बासहित विभिन्न धार्मिक तथा ऐतिहासिक स्थल रहेका छन्। गुरु रिम्बोर्छेको पैतालाको डोब, पाप र धर्म छुट्याउने विश्वास गरिएको सुरुङ, ‘खण्डोमो क्षाम्सा’ अर्थात् देवी नाच्ने थान र प्राचीन ढुङ्गे गुफा यहाँका महत्त्वपूर्ण धार्मिक सम्पदा हुन्। गुरु रिम्बोर्छेले मन्त्रद्वारा उत्पत्ति गराएको भनिने कहिल्यै नसुक्ने पानीको सानो मुहानलाई स्थानीय तथा भक्तजनले पवित्र जलका रूपमा प्रयोग गर्दै आएका छन्।
नागथलीबाट गगनचुम्बी हिमशृङ्खला र हिमनदीको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ। पदमार्गको छेउछाउमा बग्ने नदी, विभिन्न प्रजातिका लालीगुँरास, माने, छुर्तेन र फराकिला खर्कमा चरिरहेका याक, चौँरी गाई तथा भेडाका बथानले यस क्षेत्रको प्राकृतिक सौन्दर्य थप आकर्षक बनाएका छन्।
यस क्षेत्रको वनजङ्गलमा हिमचितुवा, घोरल, थारल, भालु, बँदेल र लङ्गुर बाँदरलगायतका वन्यजन्तु पाइन्छन्। नागथलीबाट करिब दुई घण्टाको पैदलयात्रामा ‘तरुचे’ पुग्न सकिन्छ। त्यहाँबाट चीनतर्फका ठोङ्सा, नेस्यारगाउँ र च्याङगाउँ आसपासका भूभाग अवलोकन गर्न सकिन्छ। त्यस्तै, नागथलीबाट करिब एक दिनको पैदलयात्रामा गणेश हिमालको फेँदीसम्म पुग्न सकिन्छ। यस क्षेत्रको ऐतिहासिक ‘माला गढी’ पनि पर्यटकका लागि अर्को आकर्षण बनेको छ।
सामान्य अवस्थामा पासाङल्हामू राजमार्गको स्याफ्रुबेँसी–टिमुरे खण्डमा पर्ने रोङ्गाबाट मेन्दो र थुमन गाउँ हुँदै नागथली पुग्न सकिन्छ। थुमन गाउँबाट करिब चार घण्टाको ठाडो उकालो पैदलयात्रा गरेपछि नागथली पुगिन्छ। यसैगरी, ‘तामाङ सम्पदा मार्ग’ अन्तर्गत स्याफ्रुबेँसीबाट गोल्जुङ, गतलाङ र चिलिमे (तातोपानी) हुँदै पुग्ने अर्को पदमार्ग पनि रहेको छ।
यद्यपि, गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले सडक सञ्जाल बगाएपछि करिब साढे दुई महिनासम्म यस क्षेत्रको आवागमन पूर्ण रूपमा बन्द भएको थियो। हालै स्थानीय बासिन्दाको श्रमदानबाट भोटेकोशी नदीमा काठेपुल निर्माण गरिएपछि आवतजावत पुनः सुरु भएको छ। सडक सञ्जाल अवरुद्ध रहेकाले हाल पर्यटकले स्याफ्रुबेँसीदेखि नै पैदलयात्रा गरेर नागथली पुग्नुपर्ने अवस्था छ।
तिब्बती, शेर्पा र तामाङ समुदायको मौलिक संस्कृति, भेषभूषा र रहनसहन पनि नागथलीको विशेष आकर्षण हो। पर्यटकको आगमन बढेसँगै यस क्षेत्रमा पूर्वाधार तथा आतिथ्य सेवासमेत विस्तार हुँदै गएको गोसाइँकुण्ड गाउँपालिका–१ का वडाध्यक्ष उर्केन लामाले बताएका छन्।
उनका अनुसार पर्यटकको सहजताका लागि वडा कार्यालयले बजेट तथा आवश्यक योजना बनाएर व्यवस्थापन गर्दै आएको छ। पहिले एउटा मात्रै होटल रहेको नागथलीमा पर्यटकको चाप बढेसँगै अहिले करिब छ वटा होटल तथा लज सञ्चालनमा आएका छन्। बाढीले सडक बगाए पनि स्थानीयको श्रमदानमा काठेपुल निर्माण भएपछि स्याफ्रुबेँसीदेखि हाइकिङ गर्दै आउने पर्यटकका लागि बाटो खुलेको उनले बताएका छन्।
रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले नागथलीलाई पदयात्रा तथा सांस्कृतिक पर्यटनका लागि आकर्षक गन्तव्यका रूपमा व्याख्या गरेका छन्। काठमाडौँबाट नजिकै रहेर पनि हिमाली जनजीवन, चौँरी खर्क, लालीगुँरास र चीनको सीमावर्ती क्षेत्रको दृश्यावलोकन एकैसाथ गर्न पाइने भएकाले पर्यटन समाजले नागथलीको प्रवर्द्धनमा विशेष जोड दिएको उनले बताएका छन्। स्थानीयको श्रमदानमा काठेपुल बनेसँगै पदयात्रीका लागि यो मार्ग पुनः खुल्नुले पर्यटन गतिविधिलाई थप सहज बनाएको छ।
— नेपालसेज | प्रकाशित: २०८३ कात्तिक २५, बुधबार
प्रतिक्रिया दिनुहोस