नेपालसेज/अन्तर्राष्ट्रिय। हवाई इन्धनको मूल्यमा भएको तीव्र वृद्धिले युरोपेली वायुसेवा कम्पनीहरूको आर्थिक अवस्था प्रभावित बनेको छ। बढ्दो सञ्चालन खर्च र नाफामा परेको दबाबका कारण विभिन्न कम्पनीले आगामी शीतकालीन मौसमका लागि उडान संख्या घटाउनुका साथै विस्तारका योजनासमेत स्थगित गर्न थालेका छन्। यसको प्रत्यक्ष असर हवाई टिकटको मूल्य र यात्रुको खर्चमा पर्ने संकेत देखिएको छ।
इन्धनको मूल्यवृद्धि, कमजोर उपभोक्ता विश्वास र बजारमा बढ्दो अनिश्चितताले युरोपेली उड्डयन क्षेत्रलाई थप चुनौतीपूर्ण बनाएको छ। कम्पनीहरूले खर्च नियन्त्रण र नाफा जोगाउन कम आम्दानी हुने उडान कटौती गरिरहेका छन्। विश्वव्यापी हवाई यात्रा तथ्यांक उपलब्ध गराउने संस्था ओएजीका अनुसार युरोपका २१ वटा वायुसेवा कम्पनीले प्रस्तावित शीतकालीन उडान क्षमतामा पाँच प्रतिशतभन्दा बढी कटौती गरेका छन्।
Air France-KLM ले सन् २०२६ मा उडान क्षमता वृद्धिदर करिब दुई प्रतिशतमा सीमित हुने जनाएको छ। यसअघि कम्पनीले दुईदेखि तीन प्रतिशतसम्म वृद्धि हुने अनुमान गरेको थियो। आयरल्यान्डको Ryanair ले वार्षिक यात्रु संख्या २१ करोड ६० लाखबाट घटाएर २१ करोड ४० लाखमा सीमित गर्ने लक्ष्य राखेको छ। बेलायतको EasyJet ले शीतकालीन उडान तालिकाबाट करिब १४ लाख सिट हटाएको छ भने Lufthansa समूहले छोटो तथा मध्यम दूरीका उडानमा पाँचवटा विमान बराबरको क्षमता कटौती गर्ने भएको छ।
यसैगरी, पोल्यान्डको LOT Airlines ले क्राकोबाट म्याड्रिड, रोम र बार्सिलोनासम्मका शीतकालीन उडान स्थगित गरेको छ। Lufthansa को सहायक कम्पनी Eurowings ले पनि कोलोन र स्टुटगार्टबाट दुबईसम्म सञ्चालन गर्ने योजना बनाएका उडान रद्द गरेको छ।
युरोपेली हवाई नेभिगेसन सुरक्षा संगठन Eurocontrol का अनुसार अक्टोबरमा युरोपमा हवाई इन्धनको औसत मूल्य प्रतिग्यालन ४.८४ अमेरिकी डलर पुगेको थियो। यो मध्यपूर्व संकट सुरु भएयताकै उच्च मासिक मूल्य हो। संकटअघिको तुलनामा इन्धनको मूल्य ११४ प्रतिशतले बढेको जनाइएको छ।
इन्धन महँगिएसँगै वायुसेवा कम्पनीहरूको नाफामा समेत दबाब परेको छ। Ryanair को सन् २०२७ आर्थिक वर्षको पहिलो छ महिनामा खुद नाफा अघिल्लो वर्षको तुलनामा १५ प्रतिशतले घटेर दुई अर्ब १५ करोड युरोमा झरेको छ। कम्पनीले सन् २०२७ मार्चसम्म आवश्यक इन्धनको करिब ८० प्रतिशत मूल्य सुनिश्चित गरे पनि बाँकी इन्धन बजारको मूल्यवृद्धिबाट प्रभावित हुने जनाएको छ।
International Consolidated Airlines Group (IAG) को तेस्रो त्रैमासिकमा इन्धन खर्च ३०.४ प्रतिशतले बढेको छ। यस अवधिमा असाधारण खर्चबाहेकको सञ्चालन नाफा करिब १६ प्रतिशतले घटेको कम्पनीले जनाएको छ। Air France-KLM ले पनि इन्धनको मूल्यवृद्धिका कारण तेस्रो त्रैमासिकमा अघिल्लो वर्षको तुलनामा थप ४३ करोड ६० लाख युरो खर्च भएको जानकारी दिएको छ।
बढ्दो इन्धन तथा सञ्चालन खर्चको भार यात्रुमा पर्ने सम्भावना छ। Lufthansa का प्रमुख कार्यकारी अधिकृत कास्र्टन स्पोरले सन् २०२७ मा हवाई भाडा दोहोरो अंकको प्रतिशतमा वृद्धि हुन सक्ने बताएका छन्। Ryanair का प्रमुख कार्यकारी अधिकृत माइकल ओ’लियरीले आगामी १२ महिनामा युरोपेली हवाई भाडा १० देखि २० प्रतिशतसम्म बढ्न सक्ने चेतावनी दिएका छन्।
परामर्शदाता संस्था Oxera को अध्ययनअनुसार कुनै वायुसेवा कम्पनीले निश्चित उडान मार्गबाट सेवा हटाउँदा त्यस मार्गको हवाई भाडा औसत ९.७ प्रतिशतले बढ्न सक्छ। यसले हवाई टिकटको मूल्य निर्धारणमा कम्पनीबीचको प्रतिस्पर्धाले महत्त्वपूर्ण भूमिका खेल्ने देखाएको छ।
आर्थिक दबाबका कारण कम्पनीहरूले कर्मचारी व्यवस्थापन र दीर्घकालीन लगानी योजनासमेत परिवर्तन गर्न थालेका छन्। नेदरल्यान्ड्सको KLM ले वार्षिक आम्दानी एक अर्ब युरोले सुधार गर्ने लक्ष्यसहित पुनर्संरचना योजना सार्वजनिक गरेको छ। कम्पनीले आगामी वर्षहरूमा कर्मचारी संख्या करिब १५ प्रतिशतले घटाउने योजना बनाएको छ। साथै, Airbus A320 को सट्टा साना Embraer E195-E2 विमान प्रयोग गर्ने तयारी गरेको छ।
Brussels Airlines ले सन् २०२७ मा थप दुईवटा Airbus A330 विमान भित्र्याउने योजना स्थगित गरेको छ। लाट्भियाको airBaltic ले करिब १०० जना पाइलट र २०० जना केबिन कर्मचारी कटौती गर्ने जनाएको छ। Wizz Air ले पनि रोमानियास्थित आफ्नो सञ्चालनमा १७२ वटा पद हटाउने योजना बनाएको छ।
लगातारको आर्थिक दबाबले युरोपेली वायुसेवा कम्पनीबीच एकीकरण तथा सहकार्य बढ्न सक्ने विश्लेषण गरिएको छ। IAG का प्रमुख कार्यकारी अधिकृत लुइस ग्यालेगोका अनुसार केही कम्पनीले सम्भावित सहकार्यका लागि IAG सँग सम्पर्क गरेका छन्। क्रोएसियाका आर्थिक विश्लेषक दामिर नोभोत्न्यले विगत एक दशकको तुलनात्मक रूपमा सस्तो इन्धनले हवाई यात्रु तथा उडान संख्या बढाए पनि कम्पनीबीच प्रतिस्पर्धात्मक दबाब सिर्जना गरेको बताएका छन्।
विश्लेषकहरूका अनुसार आगामी वर्षहरूमा घाटामा रहेका केही वायुसेवा कम्पनी बजारबाट बाहिरिन सक्छन्। सञ्चालन खर्च बढ्दै जाँदा टिकटको मूल्यसमेत वृद्धि हुने र यसको असर यात्रुको खर्च, रोजगारी, हवाई सम्पर्क तथा युरोपेली उड्डयन उद्योगको प्रतिस्पर्धात्मक क्षमतामा दीर्घकालसम्म पर्न सक्ने देखिएको छ।
प्रतिक्रिया दिनुहोस