ईपीएस आवेदनकर्ताको चापसँगै राहदानी विभागले उत्पादन क्षमता बढायो, देशभर र विदेशस्थित नियोगबाट पनि सेवा जारी।
NepalSays | काठमाडौं
राहदानी विभागले विद्युतीय राहदानी (ई–पासपोर्ट) को बढ्दो मागलाई व्यवस्थापन गर्न उत्पादन क्षमता उल्लेख्य रूपमा विस्तार गरेको जनाएको छ। विभागका अनुसार हाल दैनिक करिब १ हजार ५०० वटा विद्युतीय राहदानी उत्पादन तथा छपाइ भइरहेको छ।
बुधबार जारी गरिएको प्रेस विज्ञप्तिमा विभागले नेपाली नागरिकलाई सहज, सुरक्षित, छिटो तथा प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले राहदानी उत्पादन क्षमता र सेवा प्रणालीमा निरन्तर सुधार गरिएको उल्लेख गरेको छ। पछिल्लो समय विशेषगरी दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (EPS) अन्तर्गत आवेदन दिने नेपालीको संख्या बढेसँगै राहदानी सेवामा चाप बढेको विभागको भनाइ छ।
विभागका अनुसार काठमाडौंमा मात्र नभई देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालय, विभिन्न इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगमार्फत पनि विद्युतीय राहदानी सेवा उपलब्ध भइरहेको छ। सेवाग्राहीको मागअनुसार आगामी दिनमा सेवा थप विस्तार गर्ने तयारीसमेत गरिएको छ।
बढ्दो सेवाग्राहीको चापलाई ध्यानमा राख्दै विभागले राहदानी उत्पादन, सेवा प्रवाह र सम्बन्धित कार्यालयहरूसँगको समन्वयलाई थप प्रभावकारी बनाएको जनाएको छ। विभागले सेवा प्रणालीलाई थप स्थिर र व्यवस्थित बनाउन आवश्यक प्राविधिक तथा प्रशासनिक सुधार जारी रहेको उल्लेख गर्दै आगामी तीन महिनाभित्र प्रणाली पूर्ण रूपमा स्थिर हुने विश्वास व्यक्त गरेको छ।
नेपालमा विद्युतीय राहदानी वितरणको औपचारिक सुरुआत २०७८ मंसिर १ गते भएको थियो। प्रारम्भिक चरणमा दैनिक करिब १०० वटा मात्र राहदानी उत्पादन हुने व्यवस्था अहिले विस्तार भएर दैनिक १,५०० वटा उत्पादन गर्न सक्ने क्षमतामा पुगेको विभागले जनाएको छ।
प्रतिक्रिया दिनुहोस