२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

अमेरिकादेखि अस्ट्रेलियासम्मका पर्यटकले सौराहामा लगाए दसैँको टीका

बुधवार , कार्तिक ४, २०८३

नेपालसेज/ चितवन — नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी पर्यटकले नेपालीसँगै बडादसैँ मनाएका छन्। विभिन्न होटलमा टीका र जमरा लगाउँदै उनीहरूले नेपाली कला, संस्कृति र परम्पराको प्रत्यक्ष अनुभव गरेका हुन्। सौराहाका होटलहरूले विदेशी पर्यटकलाई टीका र जमरा लगाइदिएर दसैँको खुसी साटासाट गरेका थिए। Hotel Green Park की प्रबन्धक राधा श्रेष्ठ, Hotel Park Side की सावित्रा परियार, Rhino Lodge and Hotel का सञ्चालक रामकुमार अर्याल तथा हालै सञ्चालनमा आएको Hotel Royal Tulip का सेफ कुमार बोगटीले पर्यटकलाई टीका र जमरा लगाइदिँदै आशीर्वाद दिएका थिए।

सम्पादकीय सारांश

Verified

सौराहामा ३५ जनाभन्दा बढी विदेशी पर्यटकले दसैँको टीका र जमरा लगाए।

अमेरिका, फ्रान्स, जर्मनी, स्विट्जरल्यान्ड, नेदरल्यान्ड्सलगायत देशका पर्यटक सहभागी।

विभिन्न होटलले पर्यटकलाई टीका र जमरा लगाएर नेपाली संस्कृतिसँग जोड्ने प्रयास गरे।

विदेशी पर्यटकले नेपाली संस्कृति र आत्मीयताको प्रशंसा गरे।

सांस्कृतिक अनुभवले सौराहाको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने व्यवसायीको विश्वास।

आफ्नो देशभन्दा टाढा आएर नेपाली चाडपर्व मनाउने अवसर पाउँदा विदेशी पर्यटक उत्साहित देखिएका थिए। नेपाली परम्पराअनुसार टीका र जमरा ग्रहण गर्दै आशीर्वाद लिन पाउँदा उनीहरूका लागि दसैँको अनुभव विशेष बनेको थियो।

Hotel Green Park की प्रबन्धक राधा श्रेष्ठले विगत पाँच वर्षदेखि विदेशी पर्यटकसँग नेपाली संस्कृति र परम्परा साटासाट गर्दै आएको बताइन्। दसैँका दिन पनि पर्यटकलाई सेवा दिन होटल खुला राखिएको उनले जानकारी दिइन्।

सौराहाका विभिन्न होटलमा अमेरिका, फ्रान्स, जर्मनी, स्विट्जरल्यान्ड र नेदरल्यान्ड्सलगायत देशका ३५ जनाभन्दा बढी पर्यटकले दसैँको टीका र जमरा लगाएका थिए। नेपालका विभिन्न स्थान घुम्दै सौराहा आइपुगेका उनीहरू नेपाली संस्कृतिलाई नजिकबाट अनुभव गर्न पाउँदा खुसी देखिन्थे।

अमेरिकाबाट आएका डविटले नेपालीहरूसँगै दसैँ मनाउन पाउँदा खुसी लागेको बताए। “नेपाली नागरिक आत्मीय र मित्रवत् छन्, नेपाल सुन्दर छ,” उनले भने। आयरल्यान्डबाट आएकी सेरिजेन्टले साथीहरूबाट नेपाली परम्पराबारे सुनेको अनुभव यसपटक आफैँले गर्न पाएको बताइन्। आयरल्यान्डकै फोरिभले विभिन्न देशका संस्कृति र परम्परालाई प्रत्यक्ष अनुभव गर्न चाडपर्वका बेला यात्रा गर्ने गरेको बताए। अस्ट्रेलियाबाट आएकी जयाले पनि नेपाली संस्कृति नजिकबाट बुझ्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिइन्।

Hotel Park Side का सञ्चालक शिरलाल परियारले विदेशी पर्यटकसँगै दसैँ मनाउने परम्पराले पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताए। यस्ता गतिविधिले पर्यटकलाई नेपाली संस्कृति, परम्परा र चाडपर्वसँग नजिक बनाउने उनको भनाइ छ।

चितवनको सौराहामा पर्यटकीय याम सुरु भएसँगै विदेशी पर्यटकको आगमन बढ्न थालेको छ। चितवन राष्ट्रिय निकुञ्जका वन्यजन्तु, प्राकृतिक सुन्दरता र साहसिक पर्यटनका साथै नेपाली चाडपर्व तथा सांस्कृतिक परम्पराले पनि पर्यटकलाई आकर्षित गर्ने गरेका छन्।

चितवन राष्ट्रिय निकुञ्जको तथ्यांकअनुसार सौराहा आउने पर्यटकमध्ये तेस्रो मुलुकका पर्यटकको हिस्सा करिब २५ प्रतिशत छ। नेपाली र विदेशीबीच संस्कृति तथा परम्पराको आदानप्रदानले सौराहाको पर्यटनलाई थप विविध र आकर्षक बनाउन सहयोग पुग्ने पर्यटन व्यवसायीको विश्वास छ।

1000585519.jpg

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images