काठमाडौं । गायक राजु परियार र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ लोकदोहोरी गीत ‘एउटी केटी यो’ सार्वजनिक गरिएको छ। प्रेमभावमा आधारित गीतको शब्द तथा संगीत कृष्ण केसीले सिर्जना गरेका हुन्।
गीतमा योगेश काजी शाहको संगीत संयोजन रहेको छ भने मिक्सिङ तथा मास्टरिङ मनोज परियारले गरेका छन्। ‘आफ्नो मान’ स्टुडियोमा तयार गरिएको गीतलाई आफ्नो मानको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
गीतको म्युजिक भिडियो केशव राज भट्टको निर्देशन तथा कोरियोग्राफीमा निर्माण गरिएको छ। भिडियोमा सुनिल क्षेत्री र स्मारिका ढकाल मुख्य भूमिकामा देखिएका छन्। भिडियोको छायांकन करण चैसिरले गरेका छन् भने सम्पादन तथा रङ संयोजन प्रवीण भट्टको रहेको छ।
निर्माण टिमका अनुसार गीतले प्रेम, आकर्षण र युवा पुस्ताको भावनालाई लोकदोहोरी शैलीमा प्रस्तुत गर्ने प्रयास गरेको छ। भिडियोमा कलाकारहरूको अभिनय, नृत्य र दृश्य संयोजनमार्फत गीतको भावलाई जीवन्त बनाइएको छ।
पछिल्लो समय नेपाली लोकदोहोरी संगीतमा आधुनिक प्रस्तुति र मौलिक स्वादको संयोजन गर्ने क्रम बढिरहेका बेला ‘एउटी केटी यो’ पनि त्यही धारको नयाँ प्रस्तुति बनेर आएको छ। अनुभवी गायक राजु परियार र बहुआयामिक गायिका मेलिना राईको स्वर, आकर्षक भिडियो तथा सशक्त प्राविधिक पक्षका कारण गीतले दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया बटुल्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस