२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

नागरिक सेवामा प्रहरीलाई निर्देशन

नागरिक सेवामा समर्पित हुन प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

दीपावली, नेपाल संवत् र छठ पर्वको सुरक्षा प्रभावकारी बनाउन, आपराधिक गतिविधि नियन्त्रण गर्न तथा NPL मा अनलाइन बेटिङ रोक्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

बुधवार , कार्तिक ११, २०८३

काठमाडौं। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकका गुनासो उचित रूपमा सम्बोधन गर्दै शान्ति सुरक्षा कायम गर्न र नागरिक सेवामा पूर्ण रूपमा समर्पित भएर कार्यसम्पादन गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयबाट मंगलबार भर्चुअल माध्यममार्फत सम्बोधन गर्दै उनले नजिकिँदै गरेका दीपावली, नेपाल संवत् र छठलगायतका चाडपर्वलाई लक्षित गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउनुपर्ने बताएका हुन्। चाडपर्वका समयमा हुन सक्ने चोरी, लुटपाट तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न विशेष सुरक्षा योजना लागू गरी प्रहरी परिचालन गर्न उनले निर्देशन दिएका छन्।

सम्पादकीय सारांश

Verified

 

प्रहरी महानिरीक्षक कार्कीले सवारी दुर्घटना न्यूनीकरणका लागि सम्बन्धित निकायसँग समन्वय गरी सवारीसाधनको यान्त्रिक अवस्था जाँच गर्न तथा मादक पदार्थ र लागुऔषध सेवन गरी सवारी चलाउने कार्य नियन्त्रण गर्न आग्रह गरेका छन्। ओभरलोड, ट्राफिक नियम उल्लङ्घन र अन्य जोखिमपूर्ण गतिविधि नियन्त्रणमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ। यात्रुको सहज र सुरक्षित आवागमन सुनिश्चित गर्न ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारबाही गर्नुका साथै जनचेतनामूलक सन्देश प्रवाह गर्न पनि उनले निर्देशन दिएका छन्।

सीमा क्षेत्रमा हुन सक्ने आपराधिक गतिविधि तथा तस्करी नियन्त्रण र फरार प्रतिवादी पक्राउलाई प्राथमिकतामा राख्नुपर्ने कार्कीले बताएका छन्। चाडपर्वका समयमा जुवातास, पटका तथा विस्फोटक पदार्थको कारोबार र सामाजिक सद्भावमा खलल पुर्‍याउने गतिविधि नियन्त्रण गर्न प्रहरी थप सक्रिय हुनुपर्ने उनको निर्देशन छ।

काठमाडौंमा सञ्चालन भइरहेको नेपाल प्रिमियर लिग (NPL) को सुरक्षा व्यवस्थापनमा कुनै कमजोरी हुन नदिन पनि कार्कीले निर्देशन दिएका छन्। प्रतियोगिताका क्रममा हुन सक्ने अनलाइन बेटिङलगायतका गैरकानुनी गतिविधि नियन्त्रण गर्न उपलब्ध प्रविधिको उच्चतम प्रयोग गर्न र त्यस्ता गतिविधिमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन उनले आग्रह गरेका छन्।

देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी तथा भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै सम्भावित जोखिमयुक्त क्षेत्र पहिचान गर्न, पूर्वतयारी अपनाउन र उच्च सतर्कतासहित प्रहरी परिचालन गर्न पनि उनले निर्देशन दिएका छन्। सम्भावित विपद्का घटनाबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न आवश्यक तयारीमा जोड दिनुपर्ने उनको भनाइ छ।

प्रदेश प्रहरी प्रमुख तथा जिल्ला प्रहरी प्रमुखले आफ्नो जिम्मेवारी क्षेत्रको नियमित अनुगमन, सुपरिवेक्षण र निरीक्षण गरी देखिएका कमजोरी समयमै सुधार गर्नुपर्ने कार्कीले बताएका छन्। कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौर तथा सातै प्रदेश प्रहरी कार्यालयका प्रमुखले आआफ्नो क्षेत्रको शान्ति सुरक्षाको अवस्थाबारे जानकारी गराएका थिए।

कार्यक्रममा केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेसहित काठमाडौं उपत्यका प्रहरी कार्यालय, सातै प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय तथा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयलगायतका प्रमुख र प्रतिनिधिको भर्चुअल उपस्थिति रहेको थियो।

— नेपालसेज | प्रकाशित: ११ कात्तिक २०८३

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images