सामाजिक सञ्जालमा भाइरल भएको दाबीअनुसार जापानी युवकले कुकुर बन्न २२० करोड खर्च गरेका होइनन्, उनले कुकुरको वास्तविकजस्तै देखिने पोसाक लगाएका हुन्।
काठमाडौं । सामाजिक सञ्जालमा एक जापानी युवकले कुकुरजस्तो देखिन र त्यसैगरी जीवन बिताउन २२० करोड भारतीय रुपैयाँ खर्च गरेर शल्यक्रिया गराएको दाबी भाइरल भइरहेको छ। तर, यो दाबी झुटो रहेको तथ्यजाँचबाट खुलेको छ। भाइरल पोस्टमा जापानका २६ वर्षीय व्यक्ति ‘जासो’ले कुकुरजस्तो देखिनका लागि शरीरमा विभिन्न शल्यक्रिया गराएको र त्यसका लागि करिब २२० करोड रुपैयाँ खर्च गरेको दाबी गरिएको छ। भिडियोमा मानिस कुकुरजस्तै देखिएको र व्यवहारसमेत कुकुरको जस्तो देखिन्छ।
तर वास्तविकतामा उनले आफ्नो शरीरलाई स्थायी रूपमा परिवर्तन गराएका होइनन्। भाइरल भिडियोमा देखिएको व्यक्ति ‘टोको’ नामले चिनिने जापानी व्यक्ति हुन्। उनले आफूलाई कुकुरजस्तो देखाउन जापानी मोडलिङ तथा स्कल्प्चर कम्पनी Zeppet बाट अत्यन्तै वास्तविक देखिने कुकुरको पोसाक बनाएका थिए।
टोकोले उक्त पोसाक आफ्नो व्यक्तिगत रुचि तथा बाल्यकालदेखिको जनावर बनेर जीवन अनुभव गर्ने चाहना पूरा गर्न प्रयोग गरेका हुन्। उनले कुकुर बन्न कुनै प्रकारको स्थायी शारीरिक परिवर्तन वा शल्यक्रिया गराएका छैनन्।
उक्त पोसाक बनाउन करिब २० लाख जापानी येन खर्च भएको बताइएको छ। यो रकम २२० करोड भारतीय रुपैयाँभन्दा निकै कम हो। त्यसैले सामाजिक सञ्जालमा फैलिएको २२० करोड खर्च गरेको दाबी वास्तविक तथ्यसँग मेल खाँदैन।
यसरी वास्तविक घटनालाई तोडमोड गरेर ‘जापानी करोडपतिले २२० करोड खर्च गरेर आफूलाई कुकुर बनाए’ भन्ने दाबी सामाजिक सञ्जालमा फैलाइएको देखिन्छ।
तथ्य: जापानी व्यक्ति शल्यक्रिया गरेर कुकुर बनेका होइनन्। उनले करिब २० लाख जापानी येन खर्च गरेर तयार पारिएको अत्यन्तै वास्तविक देखिने कुकुरको पोसाक लगाएका हुन्।
प्रतिक्रिया दिनुहोस