२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

सिँचाइमा विद्युत् विस्तार

देवानगञ्जमा सिँचाइका लागि खेतखेतमा विद्युत् विस्तार अन्तिम चरणमा

नेपाल विद्युत् प्राधिकरण र देवानगञ्ज गाउँपालिकाको साझेदारीमा करिब ३० करोड रुपैयाँको लगानीमा सञ्चालित आयोजना अन्तिम चरणमा पुगेको छ। यसबाट किसानको सिँचाइ खर्च घट्ने अपेक्षा गरिएको छ।

आइतवार , कार्तिक १५, २०८३

 

सम्पादकीय सारांश

Verified

देवानगञ्जमा करिब ३० करोडको कृषि सिँचाइ विद्युतीकरण आयोजना अन्तिम चरणमा।

डिजेल पम्पसेटबाट सिँचाइ गर्दा प्रतिघण्टा ३०० रुपैयाँसम्म खर्च हुनेमा विद्युत्बाट ५० रुपैयाँभन्दा कम लाग्ने।

गाउँपालिकाका सातवटै वडाका खेतीयोग्य क्षेत्रमा विद्युत् विस्तार गर्ने लक्ष्य।

आर्थिक वर्ष २०८३/८४ मा किसानलाई एक हजार १६ वटा विद्युतीय मोटर वितरण।

गाउँपालिकाका करिब ९० प्रतिशत बासिन्दा कृषि पेसामा निर्भर।

 

नेपालसेज/ सुनसरी — किसानलाई सिँचाइमा सहज पहुँच पुर्‍याउँदै कृषि उत्पादनको लागत घटाउने उद्देश्यले सुनसरीको देवानगञ्ज गाउँपालिकाले खेतखेतमा विद्युत् विस्तारको कामलाई अन्तिम चरणमा पुर्‍याएको छ। नेपाल विद्युत् प्राधिकरण र गाउँपालिकाको साझेदारीमा करिब ३० करोड रुपैयाँको लगानीमा सञ्चालन भइरहेको कृषि सिँचाइ विद्युतीकरण आयोजना सम्पन्न भएपछि किसानले विद्युतीय मोटरमार्फत कम खर्चमा सिँचाइ सुविधा उपयोग गर्न पाउने भएका छन्।

हालसम्म सिँचाइका लागि डिजेल पम्पसेटमा निर्भर रहँदै आएका किसानलाई विद्युत् सेवाको विस्तारले ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ। देवानगञ्ज गाउँपालिका–६ का कृषक हिरा मेहताले तीन बिघाभन्दा बढी क्षेत्रफलमा धानखेती गर्दै आउनुभएको छ। विगत चार वर्षदेखि धानको बीउवृद्धिसमेत गर्दै आउनुभएका उहाँले डिजेल पम्पसेटबाट सिँचाइ गर्दा प्रतिघण्टा करिब ३०० रुपैयाँ खर्च हुने गरेको बताउनुभयो। तर, विद्युत्बाट सिँचाइ गर्दा प्रतिघण्टा ५० रुपैयाँभन्दा कम खर्च हुने उहाँको भनाइ छ।

गाउँपालिका–२ का कृषक रमेश मेहताले आठ बिघा जमिनमा धान, मकै, गहुँ, तोरी र जुटलगायतका बाली लगाउँदै आउनुभएको छ। डिजेल पम्पसेटबाट सिँचाइ गर्दा खर्च बढी लाग्ने र आवश्यक समयमा पानी लगाउन नसक्दा उत्पादनमा समेत असर पर्ने गरेको उहाँले बताउनुभयो।

सिँचाइका लागि नियमित खर्च गर्नुपर्ने भएकाले खेतीको लागत बढ्दै आएको उहाँको भनाइ छ। आफ्नै पम्पसेट नभएका किसानले अरूको पम्पसेट प्रयोग गर्दा डिजेल खर्चबाहेक प्रतिघण्टा करिब २०० रुपैयाँ तिर्नुपर्ने बाध्यता रहेको उहाँले जानकारी दिनुभयो। विद्युतीय सिँचाइ सुविधा विस्तार भएपछि यस्तो खर्च घट्ने र किसानलाई खेती गर्न सहज हुने अपेक्षा गरिएको छ।

किसानको सिँचाइ खर्च घटाउने लक्ष्यसहित गाउँपालिकाले खेतखेतमा विद्युत्का पोल र तार विस्तार गरी विद्युतीय मोटरबाट पानी तान्ने व्यवस्था मिलाउन कामलाई तीव्रता दिएको छ। गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहताका अनुसार आयोजना अन्तिम चरणमा पुगेको छ। बाँकी क्षेत्रमा विद्युत्का पोल गाड्ने तथा तार विस्तार गर्ने काम भइरहेको छ। आगामी मङ्सिरदेखि आयोजनाको औपचारिक शुभारम्भ गर्ने तयारी गरिएको उहाँले बताउनुभयो।

गाउँपालिकाका सातवटै वडाका खेतीयोग्य क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखिएको छ। हाल वडा नम्बर ४, ६ र ७ मा विद्युतीकरणको काम भइरहेको छ भने अन्य क्षेत्रमा पनि विस्तारको प्रक्रिया अघि बढाइएको छ। आयोजना सम्पन्न भएपछि किसानले सिँचाइका लागि डिजेल पम्पसेटमा निर्भर हुनुपर्ने बाध्यता हट्ने अध्यक्ष मेहताको भनाइ छ।

यसअघि गाउँपालिकाले सिँचाइका लागि किसानलाई विद्युतीय मोटर वितरण गर्दै आएको छ। आर्थिक वर्ष २०८३/८४ मा एक हजार १६ वटा मोटर वितरण गरिएको छ भने करिब ५० वटा मोटर वितरण गर्न बाँकी रहेको अध्यक्ष मेहताले जानकारी दिनुभयो।

गाउँपालिकाको कृषि शाखाका अनुसार देवानगञ्जमा ६ हजार ४५ परिवार कृषि पेसामा आबद्ध छन्। यहाँ चार हजार ६२५ हेक्टर खेतीयोग्य जमिन रहेकामा तीन हजार ५८२ हेक्टरमा धान, तीन हजार ३४६ हेक्टरमा हिउँदे मकै र एक हजार ३२ हेक्टरमा गहुँखेती हुने गरेको छ।

गाउँपालिकाका करिब ९० प्रतिशत बासिन्दा कृषि पेसामा निर्भर छन्। यहाँ धान, मकै, गहुँ, जुट, उखु, केरा तथा काउली, बन्दा, ब्रोकाउली, टमाटर र करेलालगायतका तरकारीखेती हुँदै आएको छ। विद्युतीय सिँचाइ सुविधा विस्तार भएपछि उत्पादन लागत घट्नुका साथै वर्षभरि खेती गर्न र कृषि उत्पादन बढाउन सहयोग पुग्ने गाउँपालिकाको अपेक्षा छ।

— नेपालसेज | प्रकाशित: १४ कात्तिक २०८३

 
 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images