तिहार नजिकिएसँगै म्याग्दीको बेनीमा झिनिया रोटीको व्यापार बढेको छ।
स्थानीय उद्यमीले दसैँ–तिहारमा दुईदेखि चार लाख रुपैयाँसम्मको झिनिया बिक्री गर्दै आएका छन्।
मङ्गलाघाटमा मात्रै करिब २० जना झिनिया उद्यमी सक्रिय छन्।
प्रति १२ वटा झिनिया १४० देखि १५० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ।
स्थानीय बजारसँगै पोखरा र विदेशबाट समेत झिनियाको माग आउने गरेको छ।
नेपालसेज, म्याग्दी । तिहार नजिकिएसँगै म्याग्दीको बेनी बजारमा परम्परागत परिकार झिनिया रोटीको उत्पादन र व्यापार बढेको छ। चाडपर्वलाई लक्षित गरी झिनिया बनाउँदै आएका स्थानीय उद्यमीलाई मागअनुसार उत्पादन गर्न भ्याइनभ्याइ भएको छ। बेनी नगरपालिका–७ मङ्गलाघाटका उद्यमीहरू घरपरिवारका सदस्यसँगै श्रमिक परिचालन गरेर झिनिया उत्पादनमा व्यस्त छन्। कतिपय परिवारले दसैँ–तिहारको अवधिमा दुईदेखि चार लाख रुपैयाँसम्मको झिनिया बिक्री गर्दै आएका छन्। बेनी बजार र आसपासका ग्रामीण क्षेत्रसँगै पर्वत, बागलुङ र पोखरासम्म यसको माग पुग्ने गरेको छ। परम्परागत सीपलाई आम्दानीको माध्यम बनाएका स्थानीय परिवारका लागि झिनिया उत्पादन चाडपर्वको समयको राम्रो रोजगारी बनेको छ।
मङ्गलाघाटकी कल्पना श्रेष्ठ केही दिनयता झिनिया उत्पादनमा व्यस्त छन्। छोराछोरी विदेशमा रहेकाले उनी र उनका श्रीमान्ले चाडपर्वका बेला झिनिया उत्पादन गर्दै आएका छन्। तिहारमा माग बढ्ने भएकाले उनले एक जना श्रमिकसमेत राखेर उत्पादन गरिरहेकी छन्।
श्रेष्ठका अनुसार दसैँ–तिहारमा करिब तीनदेखि चार लाख रुपैयाँसम्मको झिनिया बिक्री हुने गरेको छ। उत्पादित झिनिया बेनी बजार, म्याग्दीका ग्रामीण क्षेत्र, पर्वत, बागलुङ र पोखरासम्म पुग्ने गरेको उनले बताइन्।
मङ्गलाघाटकै हेमबहादुर पुनको परिवारका १० जना सदस्य दैनिक झिनिया उत्पादनमा जुटेका छन्। उनका अनुसार परिवारले दैनिक एक बोरा चामलको पिठो बराबरको झिनिया उत्पादन गर्दै आएको छ। दसैँ–तिहारमा माग बढी हुने भएकाले परिवारका सबै सदस्य उत्पादनमा खटिने गरेका छन्। चाडपर्वको समयमा दुईदेखि तीन लाख रुपैयाँसम्मको झिनिया बिक्री हुने गरेको पुनले बताएका छन्।
उनका अनुसार पछिल्लो दुई महिनादेखि परिवारका १० जना सदस्य दैनिक झिनिया बनाउने काममा लागेका छन्। बेनी बजारसँगै पोखराबाट पनि माग आउने गरेको र उत्पादन गर्न सके बिक्रीको समस्या नरहेको उनले बताएका छन्।
नेपाली मौलिक परिकारमध्ये झिनियालाई झिलिङ्गा रोटी पनि भन्ने गरिन्छ। चामलको पिठोबाट बनाइने यो परिकार तिहारमा विशेष रूपमा प्रयोग हुन्छ। दाजुभाइ तथा दिदीबहिनीबीच आत्मीयता साटासाट गर्ने र पाहुनालाई सत्कार गर्ने क्रममा झिनिया रोटी प्रयोग गर्ने चलन रहेको बेनी नगरपालिका–७ की टकसरा रानाले बताएकी छन्।
विगत २५ वर्षदेखि झिनिया बनाउँदै आएकी रानाले यसलाई परम्परागत संस्कृतिसँगै आम्दानीको स्रोतका रूपमा अघि बढाएकी छन्। दिनभर फुर्सदमा बस्नुभन्दा झिनिया बनाएर घरखर्चका लागि रकम जुटाउन सकिने र अन्य महिलालाई पनि प्रेरणा मिल्ने भएकाले यो कामलाई निरन्तरता दिएको उनले बताइन्।
रानाका अनुसार बेनी बजार, ग्रामीण क्षेत्र र पोखराबाट झिनियाको माग आउने गरेको छ। विदेशबाट समेत माग आउने गरेको उनले सुनाइन्। दुई वर्षअघि अस्ट्रेलियाबाट २५ हजार रुपैयाँ बराबरको झिनियाको माग आए पनि उत्पादन गर्न नसक्दा १३ हजार रुपैयाँ बराबरको मात्रै बिक्री गर्न सकेको उनको अनुभव छ।
झिनिया बनाउन चामलको पिठो पकाएर मेसिनमा पेलेपछि चाउचाउजस्तै मसिना त्यान्द्रा निकालिन्छ। त्यसलाई दुई दिनसम्म घाममा सुकाएपछि झिनिया तयार हुन्छ। कल्पना श्रेष्ठले विद्युत्बाट चल्ने मेसिन प्रयोग गर्दै आएकी छन्। झिनिया उत्पादनका लागि कम्तीमा तीन जना जनशक्ति आवश्यक पर्ने र एक दिनमा तीन जनाले ३५० वटाभन्दा बढी झिनिया बनाउन सक्ने उद्यमीहरू बताउँछन्।
झिनियालाई घ्यू वा तेलमा तारेर खान सकिन्छ। उद्यमीहरूका अनुसार १२ वटा झिनियाको मूल्य १४० देखि १५० रुपैयाँसम्म पर्छ। मङ्गलाघाटमा मात्रै करिब २० जना झिनिया उद्यमी रहेको म्याग्दी उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष बेलबहादुर कटुवालले बताएका छन्। उनका अनुसार अहिले अधिकांश उद्यमी चाडपर्व लक्षित उत्पादनमा व्यस्त छन्।
झिनिया सजिलै तयार पारेर खान सकिने र कोसेलीका रूपमा लैजानसमेत सहज हुने भएकाले यसको माग बढ्ने गरेको उपभोक्ता समिता पुनले बताएकी छन्। घरमै बनाउन झन्झट हुने र बिग्रने जोखिम रहने भएकाले बजारबाट किनेर लैजान उपयुक्त हुने उनको अनुभव छ।
घरायसी कामबाट बचेको समय सदुपयोग गरेर झिनिया उत्पादन गर्दा आम्दानीसमेत हुने गरेको उद्यमीहरू बताउँछन्। झिनिया बनाउने मेसिन, तालिम तथा सुरक्षित भण्डारणका लागि आवश्यक औजार र उपकरणको व्यवस्था भए उत्पादनलाई थप सहज बनाउन सकिने उद्यमी हरिकुमार श्रेष्ठको भनाइ छ।
— नेपालसेज | प्रकाशित: २४ कात्तिक २०८३
प्रतिक्रिया दिनुहोस