नेपाल तरुण दलका निवर्तमान अध्यक्ष तथा युवा नेता विद्वान गुरुङले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा खुला केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
नेपालसेज/ काठमाडौँ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा नेपाल तरुण दलका निवर्तमान अध्यक्ष तथा युवा नेता विद्वान गुरुङले खुला केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। गुरुङले पार्टीको केन्द्रीय तहमा रहेर युवा तथा तरुणको आवाजलाई नीतिगत तहमा पुर्याउने उद्देश्यसहित उम्मेदवारी घोषणा गरेका हुन्।गुरुङ लामो समयदेखि नेपाली कांग्रेसको पार्टी तथा संगठनमा सक्रिय रहँदै आएका छन्। उनले नेपाल तरुण दलमा दुई कार्यकाल जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य, केन्द्रीय कोषाध्यक्ष तथा केन्द्रीय अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन्।
तरुण दलको नेतृत्वका क्रममा हासिल गरेको अनुभव र संगठन सुदृढीकरणका अभ्यासलाई अब कांग्रेसको केन्द्रीय तहबाट संस्थागत गर्ने आफ्नो उद्देश्य रहेको गुरुङले बताएका छन्।उनले पार्टीभित्र तरुण तथा युवाहरूका चासो, समस्या र आवाजलाई केन्द्रीय तहमा प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्। युवाको सहभागिता र उनीहरूका विषयलाई पार्टीको नीतिगत तहसँग जोड्ने उद्देश्यसहित आफूले उम्मेदवारी दिएको उनको भनाइ छ।
गुरुङले १५औँ महाधिवेशनका महाधिवेशन प्रतिनिधिहरूलाई आफ्नो उम्मेदवारीमा समर्थन, मत र सद्भाव प्रदान गर्न आग्रहसमेत गरेका छन्।
प्रतिक्रिया दिनुहोस