नेपालसेज/काठमाडौं — स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आर्थिक वर्ष २०८३/८४ का लागि छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता गरेकी छिन्। बिरामीले सहज, गुणस्तरीय र सम्मानजनक स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण सुनिश्चित गर्ने उद्देश्यले गरिएको सम्झौतामा अस्पतालको सरसफाइ, शय्या उपलब्धता र उपचारका लागि लाग्ने प्रतीक्षा समय घटाउने विषयलाई प्राथमिकता दिइएको छ।
मन्त्री निशा मेहताले छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता गर्नुभयो।
अस्पतालको सरसफाइ र स्वच्छता सुधारलाई प्राथमिकता दिइएको छ।
बिरामीले समयमै शय्या पाउने र उपचारका लागि लामो प्रतीक्षा गर्नुपर्ने अवस्था घटाउने लक्ष्य।
स्वास्थ्यकर्मीको व्यवहारलाई सेवामैत्री र जिम्मेवार बनाउन जोड।
मन्त्रालयका सचिवले पनि १९ वटा सङ्घीय अस्पतालका प्रमुखसँग कार्यसम्पादन सम्झौता गर्नुभयो।
मन्त्री मेहताले सम्झौताका क्रममा अस्पतालमा स्वच्छता कायम गर्ने, बिरामीले आवश्यकताअनुसार समयमै शय्या पाउने व्यवस्था मिलाउने तथा उपचारका लागि लामो समय कुर्नुपर्ने अवस्थाको अन्त्य गर्न आवश्यक पहल गर्नुपर्ने बताइन् । स्वास्थ्य संस्थामा आउने सेवाग्राहीले अनावश्यक झन्झट बेहोर्न नपर्ने गरी सेवा प्रवाहलाई व्यवस्थित बनाउनुपर्ने उनको जोड थियो।
मन्त्री मेहतासँग कार्यसम्पादन सम्झौता गर्ने प्रतिष्ठानमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (NAMS), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेका छन्।
सम्झौतामा स्वास्थ्यकर्मीको सेवाग्राहीप्रतिको व्यवहारलाई थप सेवामैत्री र जिम्मेवार बनाउने विषयलाई पनि प्राथमिकतामा राखिएको छ। बिरामी तथा तिनका आफन्तसँग सम्मानजनक व्यवहार गर्ने, आवश्यक सूचना सहज रूपमा उपलब्ध गराउने र उपचार प्रक्रियालाई प्रभावकारी बनाउने दिशामा प्रतिष्ठानहरूले काम गर्नुपर्नेमा मन्त्री मेहताले जोड दिएकी छिन् ।
त्यसैगरी, स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि, प्रभावकारी सेवा प्रवाह, संस्थागत सुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्ने विषय पनि सम्झौतामा समेटिएका छन्। कार्यसम्पादन सम्झौतामार्फत प्रतिष्ठानहरूको जिम्मेवारी र लक्ष्य स्पष्ट हुने तथा त्यसबाट बिरामीले प्रत्यक्ष रूपमा सेवा सुधारको अनुभूति गर्न सक्ने अपेक्षा गरिएको छ।
यसैबीच, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले पनि आर्थिक वर्ष २०८३/८४ का लागि १९ वटा सङ्घीय अस्पतालका प्रमुखसँग कार्यसम्पादन सम्झौता गरेका छन् । प्रतिष्ठान र सङ्घीय अस्पतालमा सेवा प्रवाहको गुणस्तर सुधार, व्यवस्थापकीय प्रभावकारिता तथा सेवाग्राहीको सन्तुष्टि अभिवृद्धि गर्ने उद्देश्यले सम्झौता गरिएको हो।
— नेपालसेज | प्रकाशित: १२ कात्तिक २०८३
प्रतिक्रिया दिनुहोस