नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उद्योगी, व्यवसायी तथा युवा उद्यमीहरू पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मका विभिन्न पदमा प्रत्यक्ष प्रतिस्पर्धामा उत्रिएका छन्।
नेपालसेज/ काठमाडौँ
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उद्योगी व्यवसायीहरूको प्रत्यक्ष राजनीतिक सहभागिता बढेको देखिएको छ। विगतमा राजनीतिक दललाई आर्थिक सहयोग र चन्दामार्फत सहयोग गर्ने भूमिकामा सीमित देखिएका व्यवसायीहरू पछिल्लो समय पार्टीको नेतृत्व तहमा पुग्न प्रत्यक्ष रूपमा प्रतिस्पर्धामा उत्रिन थालेका छन्। कांग्रेसको १४औँ महाधिवेशनदेखि देखिएको व्यवसायीहरूको राजनीतिक सक्रियता १५औँ महाधिवेशनमा थप विस्तार भएको छ। वडा, प्रदेश र जिल्ला तहका अधिवेशन हुँदै महाधिवेशन प्रतिनिधि बनेका उद्योगी तथा व्यवसायीहरू अहिले उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्य पदका लागि उम्मेदवार बनेका छन्।
कांग्रेसको १५औँ महाधिवेशनमा उद्योगी–व्यवसायीहरूको नेतृत्व तहमा प्रत्यक्ष सहभागिता बढेको छ।
विनोद चौधरीले उपसभापति तथा डा. सुनील शर्माले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्।
निर्माण व्यवसायी बहादुरसिंह लामाले सहमहामन्त्री पदमा पुनः उम्मेदवारी दिने भएका छन्।
उद्योग, पर्यटन, स्वास्थ्य, कृषि, बैंकिङ तथा पूर्वाधार क्षेत्रका व्यवसायीहरू केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्दैछन्।
युवा उद्यमीहरूले समेत पुस्तान्तरण र आर्थिक एजेन्डासहित कांग्रेसको केन्द्रीय नेतृत्वमा दाबी अघि सारेका छन्।
उद्योगी एवं कांग्रेस नेता विनोद चौधरीले उपसभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्। उनले आर्थिक विकासका एजेन्डालाई राजनीतिको केन्द्रमा पुर्याउने, युवाका आकांक्षालाई सम्बोधन गर्ने र आर्थिक रूपान्तरणमार्फत देशको विकास अघि बढाउने उद्देश्यसहित उम्मेदवारी दिएको बताएका छन्। त्यस्तै, मेडिकल व्यवसायी तथा सांसद डा. सुनील शर्माले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले बदलिँदो राजनीतिक परिस्थितिमा कांग्रेसलाई आमनागरिकसँग थप जोड्ने र दूरदराजका नागरिकका समस्या तथा आवश्यकतालाई पार्टीको राजनीतिक एजेन्डाको केन्द्रमा राख्ने बताएका छन्।
निर्माण व्यवसायी तथा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाले पनि सहमहामन्त्री पदमा पुनः उम्मेदवारी दिने तयारी गरेका छन्। यसबाहेक निर्माण, पर्यटन, स्वास्थ्य, कृषि, जलविद्युत्, बैंकिङ तथा पूर्वाधार क्षेत्रमा संलग्न व्यवसायीहरूले विभिन्न क्लस्टरबाट केन्द्रीय सदस्यमा उम्मेदवारी अघि सारेका छन्।
निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष रवि सिंह, चिया व्यवसायी छत्रबहादुर गिरी, मेडिकल व्यवसायी खुमाप्रसाद अर्याल, पर्यटन व्यवसायी वासु ढुंगाना, उद्योग वाणिज्य क्षेत्रका उत्तमलाल चुके तथा व्यवसायी तिलक रानाभाटलगायत विभिन्न व्यवसायिक पृष्ठभूमिका व्यक्तिहरू केन्द्रीय सदस्यको दौडमा छन्। युवा उद्यमीहरू पनि कांग्रेसको नयाँ नेतृत्वमा प्रवेशका लागि सक्रिय देखिएका छन्। पोखराका सौगात थापा र कास्कीका युवा उद्यमी किरण केसीलगायतले युवा समूहबाट केन्द्रीय नेतृत्वमा पुग्ने आकांक्षा अघि सारेका छन्। उनीहरूले उद्यमशीलता, रोजगारी र नयाँ पुस्ताको सहभागितालाई प्राथमिकतामा राखेका छन्।
कांग्रेसमा व्यवसायीहरूको प्रत्यक्ष राजनीतिक सहभागिता भने यसअघि पनि देखिँदै आएको थियो। १४औँ महाधिवेशनमा उद्योगी तथा व्यवसायीहरू महाधिवेशन प्रतिनिधि हुँदै केन्द्रीय सदस्य र पार्टीका अन्य जिम्मेवारीमा पुगेका थिए। पछिल्लो महाधिवेशनमा देखिएको यो प्रवृत्ति अहिले पदाधिकारी तहसम्म विस्तार भएको छ।
१५औँ महाधिवेशनमा व्यवसायीहरूको बढ्दो सहभागिताले आर्थिक नीति, निजी क्षेत्र, उद्यमशीलता, रोजगारी र पूर्वाधार विकासका विषय पार्टीको नेतृत्व तहमा थप प्रत्यक्ष रूपमा उठ्ने अवस्था बनेको छ। कांग्रेसको निर्वाचन प्रक्रियाअनुसार केन्द्रीय महाधिवेशनका विभिन्न पदमा उम्मेदवारी र निर्वाचन प्रक्रिया अघि बढिरहेको छ।
प्रतिक्रिया दिनुहोस