काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरो र सडक कटान हुँदा सडक यातायात प्रभावित भएको छ। प्रहरी प्रधान कार्यालयले शनिबार बिहान ६ः३० बजेसम्मको विवरण सार्वजनिक गर्दै विभिन्न जिल्लाका सडकखण्डमा सवारीसाधनको आवागमन प्रभावित भएको जनाएको छ। काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै हरेक दिन साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै सवारीसाधनको आवागमन रोकिएको छ। उक्त सडकखण्डमा बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारी सञ्चालन गर्न दिइनेछ।
बाढीपहिरोका कारण विभिन्न जिल्लाका सडकमा सवारी आवागमन प्रभावित।
बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा राति आवागमन बन्द।
इलामको मेची राजमार्ग हिलोका कारण पूर्ण रूपमा अवरुद्ध।
सिन्धुपाल्चोक, रसुवा, रुकुम र रोल्पाका सडकखण्ड पनि अवरुद्ध।
सडक खुलाउन सम्बन्धित निकाय र स्थानीय तहसँग समन्वय भइरहेको प्रहरीको भनाइ।
मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण अपराह्न ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधनको आवागमन रोक लगाइएको प्रहरीले जनाएको छ। इलाम नगरपालिका–९ राजदुवालीमा हिलोका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त स्थानमा वैकल्पिक सडक भने रहेको प्रहरीले जनाएको छ।
सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ चारकिलो पहिरो लिपिङमा सडक भासिएपछि सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यस्तै, रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा सडक कटान हुँदा त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी कच्ची सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोला नजिक पहिरो खस्दा भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।रुकुम पूर्वको भूमे गाउँपालिका–४ काडाबगर र सोही पालिकाको धौलापहिरामा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ।रोल्पाको थबाङ गाउँपालिका–२ लाप्लेभिर र दबाङमा भू–स्खलन भएपछि घोराही–थबाङ सहिद मार्गका दुई स्थानमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। अवरुद्ध सडक खुलाउन सम्बन्धित निकाय तथा स्थानीय तहसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस