२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

नेपाल एयरलाइन्सले सुकेटारमा पुनः नियमित उडान थाल्यो

मौसम खराबीलगायत कारणले जेठ २२ गतेदेखि रोकिएको काठमाडौं–ताप्लेजुङ हवाई सेवा पुनः सञ्चालनमा आएको छ ।

सोमवार , आश्विन १२, २०८३

नेपालसेज / ताप्लेजुङ ।
ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि नियमित हवाई उडान सुरु भएको छ । मौसम खराबीलगायतका कारण गत जेठ २२ गतेदेखि उडान हुन नसकेको विमानस्थलमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ट्विनअटर जहाजले सोमबारदेखि नियमित उडान सुरु गरेको हो । लामो समयदेखि हवाई सेवा अवरुद्ध हुँदा ताप्लेजुङ आवतजावत गर्ने यात्रु तथा पर्यटक प्रभावित हुँदै आएका थिए । नियमित उडान पुनः सुरु भएपछि जिल्लाको हवाई पहुँचमा सहजता आउने अपेक्षा गरिएको छ । विशेषगरी पाथीभरा र कञ्चनजङ्घालगायत पर्यटकीय क्षेत्रमा जाने यात्रुलाई यसबाट सुविधा पुग्नेछ । हवाई सेवा पुनः सञ्चालनले जिल्लाको पर्यटन गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

सम्पादकीय सारांश

Verified

साढे तीन महिनापछि सुकेटार विमानस्थलमा नियमित उडान सुरु

नेपाल एयरलाइन्सको ट्विनअटरले सोमबारदेखि सेवा थाल्यो

काठमाडौं–सुकेटार १३ र सुकेटार–काठमाडौं ५ यात्रु

अब सोमबार, बिहीबार र शनिबार उडान हुने

काठमाडौं–ताप्लेजुङ भाडा १२ हजार २७० रुपैयाँ

काठमाडौंंबाट १३ यात्रु लिएर सुकेटार आएको नेपाल एयरलाइन्सको जहाज पाँच यात्रु लिएर काठमाडौं फर्किएको सुकेटार विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर दिलीप राजवंशीले जानकारी दिएका छन् ।

यसअघि साताको सोमबार, बुधबार र शुक्रबार उडान हुँदै आएकोमा नयाँ तालिकाअनुसार असोज १५ गतेदेखि साताको सोमबार, बिहीबार र शनिबार उडान हुने जनाइएको छ । नयाँ तालिकाले ताप्लेजुङ जाने तथा काठमाडौं फर्किने यात्रुलाई हवाई सेवा उपयोग गर्न थप सहज हुने अपेक्षा गरिएको छ ।

काठमाडौं–ताप्लेजुङ हवाई भाडा १२ हजार २७० रुपैयाँ र ताप्लेजुङ–काठमाडौं भाडा १२ हजार ७० रुपैयाँ कायम गरिएको छ । भाडा दरअनुसार यात्रुले दुवैतर्फको हवाई यात्राका लागि फरक शुल्क तिर्नुपर्नेछ ।

पर्यटकीय गतिविधिका दृष्टिले महत्त्वपूर्ण मानिने ताप्लेजुङमा नियमित हवाई सेवा सञ्चालनमा विगतदेखि नै विभिन्न समस्या देखिँदै आएका छन् । जहाजको अभाव, इन्डिकेसनलगायत प्राविधिक समस्या तथा कतिपय अवस्थामा यात्रु अभावका कारण उडान नियमित हुन नसकेको बताइएको छ । नियमित उडान नहुँदा हवाई सेवामा निर्भर यात्रु तथा जिल्लामा आउने पर्यटकलाई समेत समस्या हुने गरेको छ ।

पाथीभरा र कञ्चनजङ्घालगायत पर्यटकीय क्षेत्रमा आउने पर्यटक तथा सर्वसाधारण नियमित उडान नहुँदा सहज यात्राबाट वञ्चित हुँदै आएका छन् । स्थानीयले नियमित हवाई सेवा सञ्चालनका लागि निजी क्षेत्रका हवाई सेवा कम्पनीलाई समेत सेवा विस्तार गर्न सक्ने वातावरण बनाउन सम्बन्धित पक्षले ध्यान दिनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images