भोटेकोशी बाढीपछिको पुनर्निर्माण र आर्थिक सुधारका लागि विश्व बैंकबाट ठूलो सहयोगको प्रतिबद्धता
काठमाडाैं । विगत तीन दशकको अन्तरालमा नेपालका अर्थमन्त्री र विश्व बैंकका अध्यक्षबीच पहिलो पटक उच्चस्तरीय प्रत्यक्ष द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ। विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाको निमन्त्रणामा अमेरिका पुगेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अध्यक्ष बाङ्गाबीच वासिङ्टन डी.सी.मा यो महत्त्वपूर्ण भेटवार्ता भएको हो।
३० वर्षपछि विश्व बैंकका अध्यक्षसँग अर्थमन्त्रीको पहिलो प्रत्यक्ष भेट.
भोटेकोशी बाढीको पुनर्निर्माणका लागि १ अर्ब डलर जुटाउन पहल.
विश्व बैंकद्वारा पुनर्निर्माणमा भरपुर सहयोग गर्ने प्रतिबद्धता.
नयाँ सरकारका सुधारका कदमहरूको उच्च प्रशंसा.
अन्य साझेदारसँग मिलेर नेपालमा संयुक्त लगानी विस्तार गर्ने पहल.
भेटघाटका क्रममा अर्थमन्त्री डा. वाग्लेले हालै रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले पुर्याएको भौतिक तथा आर्थिक पूर्वाधारको क्षतिलाई केन्द्रमा राख्दै गम्भीर कूटनीतिक पहल गरेकाे उनकाे सचिवालयले जानकारी दिएकाे छ । मन्त्री वाग्लेले बाढीबाट क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माण, बृहत् आर्थिक सुधार, तथा बीमा एवं सामाजिक संरक्षणका लागि करिब एक अर्ब अमेरिकी डलर बराबरको स्रोत परिचालन गर्नुपर्ने विषयमा छलफल गरेकाे मन्त्री सचिवालयकाे दाबी छ ।
वाग्लेकाे सचिवालयका अनुसार- जवाफमा, विश्व बैंकका अध्यक्ष बाङ्गाले नेपालमा बाढी विपद्बाट भएको अपूरणीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै पुनर्निर्माणको काममा विश्व बैंकले भरपुर र उल्लेख्य सहयोग गर्ने दृढ प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, नेपालको नयाँ सरकारले हालै चालेका नीतिगत तथा संस्थागत सुधारका कदमहरूको उच्च प्रशंसा गर्दै उनले पूर्वाधार क्षेत्रमा लगानी बढाउन र स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न जोड दिएका छन् ।
बैठकमा एसियाली विकास बैंक (ADB) र अन्तर्राष्ट्रिय वित्त निगम (IFC) लगायतका अन्य विकास साझेदारहरूसँग समेत समन्वय गरेर नेपालका प्राथमिकता प्राप्त क्षेत्रहरूमा संयुक्त लगानी विस्तार गर्ने नयाँ पहल गर्ने जानकारी विश्व बैंकले दिएको छ। विश्व बैंकका नेपालका लागि राष्ट्रिय निर्देशक डेभिड सिस्लेनका अनुसार ३० वर्षयता भएको यो पहिलो प्रत्यक्ष भेटले नेपाल र विश्व बैंकबीचको सहकार्यलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ। उक्त उच्चस्तरीय बैठकमा विश्व बैंकका उपाध्यक्षद्वय जहानस जट र जुनेद अहमद लगायतका शीर्ष अधिकारीहरूको पनि सक्रिय सहभागिता रहेको थियो।
प्रतिक्रिया दिनुहोस