८१औँ संयुक्त राष्ट्रसंघ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल आज आज साँझ ७ बजे न्यूयोर्क प्रस्थान गर्दैछन् भने प्रधानमन्त्री बालेन्द्र शाहले महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ।
NepalSays/काठमाडौं ।
८१औँ संयुक्त राष्ट्रसंघ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल आज साँझ ७ बजे अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्ने भएको छ। महासभाको उच्चस्तरीय सप्ताहमा नेपालले विभिन्न बहुपक्षीय तथा उच्चस्तरीय बैठकमा सहभागिता जनाउनेछ। प्रधानमन्त्री बालेन्द्र शाहले पनि महासभाको उच्चस्तरीय बहसलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। महासभाका क्रममा नेपालले जलवायु परिवर्तन, जलवायु न्याय, विपद् व्यवस्थापन, दिगो विकास तथा अतिकम विकसित मुलुकका विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ।
परराष्ट्रमन्त्री शिशिर खनाल आज साँझ ७ बजे अमेरिका प्रस्थान गर्दै
८१औँ संयुक्त राष्ट्रसंघ महासभामा नेपाली प्रतिनिधिमण्डलको सहभागिता
प्रधानमन्त्री बालेन्द्र शाहले महासभालाई सम्बोधन गर्ने कार्यक्रम
जलवायु न्याय, विपद् व्यवस्थापन र विकासका मुद्दा नेपालको प्राथमिकतामा
सार्क परराष्ट्रमन्त्रीहरूको अनौपचारिक बैठक यसपटक पनि अनिश्चित
संयुक्त राष्ट्रसंघको ८१औँ महासभा विश्वव्यापी शान्ति तथा सुरक्षा, दिगो विकास, जलवायु परिवर्तन र बहुपक्षीय सहकार्यलगायतका विषयमा छलफल गर्ने महत्वपूर्ण मञ्चका रूपमा रहनेछ। नेपालको प्रतिनिधिमण्डलले महासभाका क्रममा विभिन्न देशका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय संस्थाका अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ।
नेपालले जलवायु परिवर्तनका कारण हिमाली तथा पर्वतीय क्षेत्रमा परेको असरलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने तयारी गरेको छ। जलवायुजन्य विपद्, अनुकूलन, जलवायु वित्त तथा जोखिम न्यूनीकरणका विषय नेपालका लागि महत्वपूर्ण एजेन्डा बन्नेछन्।
यसैगरी, नेपालले पछिल्ला प्राकृतिक विपद्बाट भएको क्षति तथा पुनर्निर्माण र पुनःस्थापनाका आवश्यकताबारे पनि अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने तयारी गरेको छ। विपद् जोखिम न्यूनीकरण र जलवायु–उत्थानशील पूर्वाधार निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता नेपालले उठाउनेछ।
महासभाको अवसरमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क का परराष्ट्रमन्त्रीहरूको अनौपचारिक बैठक भने यसपटक पनि नबस्ने भएको छ। सार्कको अध्यक्ष राष्ट्र नेपालले बैठकका लागि प्रस्ताव गरे पनि भारत र भुटानको सहमति नजुटेपछि बैठक अनिश्चित बनेको हो।
बैठक बसेको भए सार्कको नयाँ महासचिव नियुक्तिको विषयमा समेत छलफल गर्ने तयारी थियो। सार्कको स्थापित वर्णानुक्रमअनुसार भुटानले १६औँ महासचिवका रूपमा दासो सोनाम तोब्गेको नाम प्रस्ताव गरिसकेको छ। वर्तमान महासचिव बंगलादेशका गुलाम सरवारको कार्यकाल अक्टोबरको अन्त्यमा सकिँदैछ।सन् २०१४ मा काठमाडौंमा १८औँ सार्क शिखर सम्मेलन भएयता संगठनको अर्को शिखर सम्मेलन हुन सकेको छैन। सन् २०१६ मा पाकिस्तानको इस्लामाबादमा १९औँ शिखर सम्मेलन गर्ने तयारी भए पनि भारत र पाकिस्तानबीचको तनावपछि सम्मेलन स्थगित भएको थियो। त्यसयता सार्कको शिखर सम्मेलन पुनः आयोजना हुन सकेको छैन।
परराष्ट्रमन्त्री खनालको अमेरिका भ्रमणका क्रममा संयुक्त राष्ट्रसंघ महासभासँगै विभिन्न द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ता पनि हुने अपेक्षा गरिएको छ। महासभामा नेपालको सहभागिताले मुलुकका समसामयिक कूटनीतिक, जलवायु तथा विकाससम्बन्धी प्राथमिकता अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसर प्रदान गर्नेछ।
प्रतिक्रिया दिनुहोस