रसुवा बाढीमा बेपत्ता भएको लामो समयसम्म कुनै खबर नआएपछि मध्यविन्दुका १२ जनाको धार्मिक परम्पराअनुसार अन्तिम संस्कार गरिएको छ।
NepalSays/मध्यविन्दु
रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएका नवलपुरको मध्यविन्दु नगरपालिकाका १२ जनाको सामूहिक दाहसंस्कार गरिएको छ। लामो समयसम्म खोजी गर्दा पनि उनीहरूको अवस्था पत्ता नलागेपछि धार्मिक परम्पराअनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरिएको हो। अमलटारीस्थित नारायणी नदीको किनारमा १२ जनाको सामूहिक दाहसंस्कार गरिएको मध्यविन्दु नगरपालिका प्रमुख भीमलाल अधिकारीले जानकारी दिनुभयो। भदौ १० गते रसुवाको टिमुरेमा आएको भीषण बाढीपछि उनीहरू बेपत्ता भएका थिए। बेपत्ता नागरिकका परिवार लामो समयदेखि आफन्तको अवस्थाबारे जानकारीको प्रतीक्षामा थिए।
रसुवा बाढीमा बेपत्ता नवलपुरका १२ जनाको सामूहिक दाहसंस्कार गरिएको छ।
अमलटारीस्थित नारायणी नदी किनारमा कुशको शव बनाएर अन्तिम संस्कार गरिएको हो।
उनीहरू भदौ १० गते रसुवाको टिमुरेमा आएको बाढीपछि सम्पर्कविहीन भएका थिए।
मध्यविन्दु–१ का ३ र मध्यविन्दु–५ का ९ जना बाढीपछि बेपत्ता भएका थिए।
नगरपालिकाले प्रत्येक परिवारलाई काजक्रियाका लागि १ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ।
बेपत्ता भएका १२ जना रसुवाको टिमुरेमा रहेको तेन्जिङ शेर्पा हाइड्रोपावरमा लामो समयदेखि काम गर्दै आएका थिए। बाढी आएपछि उनीहरू सम्पर्कविहीन भएका थिए। मध्यविन्दु नगरपालिका–१ सेतापानीका तीन जना र मध्यविन्दु–५ बाघखोरका नौ जना बेपत्ता भएपछि दुवै गाउँ शोकमा डुबेका थिए।
जिल्ला प्रशासन कार्यालयका अनुसार मध्यविन्दु–१ सेतापानीका हेमबहादुर चौधरी, हुसनबहादुर थारु र कालीराम महतो थारु बेपत्ता भएका थिए। त्यस्तै मध्यविन्दु–५ बाघखोरका जीवन विक, गंगाराम मुखिया, विशाल मुखिया, सीताराम महतो, युद्ध महतो, एवदेव महतो, नुमनारायण महतो, केवलप्रसाद महतो र तेजबहादुर थारु बेपत्ता भएका थिए।
सम्पर्कविहीन भएदेखि नै परिवार तथा सम्बन्धित निकायले उनीहरूको खोजी गरिरहेका थिए। लामो समयसम्म खोजी गर्दा पनि अवस्था पत्ता नलागेपछि परिवारले धार्मिक तथा सामाजिक परम्पराअनुसार अन्तिम संस्कार गर्ने निर्णय गरेका हुन्। अमलटारीमा गरिएको सामूहिक दाहसंस्कारमा बेपत्ता व्यक्तिका आफन्त तथा स्थानीयको सहभागिता रहेको थियो।
मध्यविन्दु नगरपालिकाले बेपत्ता नागरिकको खोजीका क्रममा भएको खर्च तथा काजक्रियाका लागि प्रत्येक परिवारलाई एक लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको नगर प्रमुख अधिकारीले बताउनुभयो। बाढीका कारण आफन्त गुमाएका परिवारलाई स्थानीय तहबाट आवश्यक सहयोग गर्ने प्रयास भइरहेको नगरपालिकाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस