२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

‘मायादेवी’ सिजन १ सुरु, पहिलो एपिसोड सार्वजनिक

बिहिवार , भाद्र २५, २०८३

काठमाडौं । नेपाली समाज, परिवार, सम्बन्ध र ग्रामीण जीवनका विविध पक्षलाई कथामा उतारिएको नयाँ नेपाली सिरियल 'मायादेवी’को पहिलो एपिसोड सार्वजनिक भएको छ।

सिल्भर वुल्फ मिडिया तथा यादबिका एण्ड रियासा फिल्म्सको प्रस्तुतिमा निर्माण भएको सिरियलको सिजन १, एपिसोड १ भदौ २४ गते दर्शकमाझ ल्याइएको हो।

नेपाली गाउँको परिवेशमा तयार गरिएको ‘मायादेवी’ले परिवारभित्रका सम्बन्ध, प्रेम, परम्परा, संघर्ष, सामाजिक यथार्थ र मानिसका दैनिक जीवनका उतारचढावलाई कथाको केन्द्रमा राखेको छ। पहिलो एपिसोडबाटै सिरियलका प्रमुख पात्र, उनीहरूबीचको सम्बन्ध र आगामी कथाको आधार दर्शकसामु प्रस्तुत गरिएको छ।

सिरियलको कथा तथा निर्देशन उत्तम अधिकारीले गरेका हुन् भने सागर कार्की लेखक हुन्। रुद्रबहादुर थापा कार्यकारी निर्माता रहेको सिरियलमा राजु खतिवडा मुख्य सहायक निर्देशक तथा चक्रबहादुर बराल (बासु) छायांकारका रूपमा रहेका छन्।

‘मायादेवी’मा सुधीर श्रेष्ठ, दिया जी.सी., उत्तम के.सी., कर्मा लामा, सरिता भण्डारी, रामहरी खड्का, अञ्जु गुरुङ, देव महर्जन, बद्री पुडासैनी, प्रवन भुसाल, दीपक के.सी., रेणुका आचार्य, मीना तामाङ, कल्पना बस्नेत, निर्मल लम्साल, अर्जुन साह, अनु खड्का, सुजन गिरी, अर्जुन श्रेष्ठ र हरि श्रेष्ठ लगायत कलाकारको अभिनय छ।

स्थापित तथा नयाँ पुस्ताका कलाकारलाई एउटै कथामा जोडिएको सिरियलले नेपाली गाउँघरको जीवनशैलीसँगै बदलिँदो सामाजिक सोच, पारिवारिक जिम्मेवारी र मानवीय भावनालाई समेत प्रस्तुत गर्ने प्रयास गरेको छ।

सिरियलको सम्पादन सन्तोष श्रेष्ठले गरेका छन् भने पोस्ट प्रोडक्सन ईगल फिल्म्सले सम्हालेको छ। निर्माण नियन्त्रक सुजन गिरी हुन्। शृङ्गार रवि के.सी., बीटीएस छायांकन सन्तोष ढकाल तथा फोकस पुलर सुदर्शन गौतम रहेका छन्।

सिरियलको सांगीतिक पक्षमा हिमाल श्रेष्ठको संगीत तथा शब्द रहेको छ। निशु शर्माको गायन रहेको गीतमा बुद्ध स्याङ्बाले एरेन्ज गरेका छन्। हिमाल श्रेष्ठ, निशु शर्मा र सुरवी पौडेलको कोरस भोकल रहेको छ भने प्रमोद परियारले पार्श्व संगीत दिएका छन्।

यसअघि सार्वजनिक भएको ट्रेलरबाटै पारिवारिक तथा भावनात्मक कथावस्तुको संकेत दिएको ‘मायादेवी’ अब पहिलो एपिसोडसँगै औपचारिक रूपमा दर्शकमाझ आएको हो।

पहिलो एपिसोडमा ग्रामीण परिवेश, पात्रहरूको पारिवारिक सम्बन्ध तथा उनीहरूले सामना गर्ने परिस्थितिलाई क्रमशः स्थापित गरिएको छ। आगामी एपिसोडसँगै पात्रहरूको जीवन, सम्बन्ध र संघर्षको कथा थप खुल्दै जानेछ।

‘मायादेवी’को पहिलो एपिसोड आधिकारिक युट्युब च्यानलमार्फत हेर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार