२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

कांग्रेसको १५औँ महाधिवेशनमा

कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ कार्यसमितिका लागि उम्मेदवारी दर्ता सुरु

२९७ सदस्यीय कांग्रेस केन्द्रीय कार्यसमितिका लागि दिउँसो १२ः३० बजेदेखि उम्मेदवारी दर्ता

मंगलवार , आश्विन २०, २०८३

नेपालसेज/काठमाडौं
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमितिका लागि आजदेखि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको छ। पार्टीको निर्वाचन समितिले काठमाडौंस्थित राष्ट्रिय सभागृहमा कार्यालय स्थापना गरी उम्मेदवारी फाराम वितरण तथा उम्मेदवारी दर्ता सुरु गरेको हो। निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार आज दिउँसो १२ः३० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि कुल ७ हजार ११४ महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्। उम्मेदवारी दर्ता सुरु भएसँगै सभापतिदेखि केन्द्रीय सदस्यसम्मका विभिन्न पदमा प्रतिस्पर्धा गर्ने नेताहरूले आफ्नो उम्मेदवारी औपचारिक रूपमा अघि बढाउने प्रक्रिया सुरु भएको छ।

सम्पादकीय सारांश

Verified

कांग्रेसको नयाँ कार्यसमितिका लागि आजदेखि उम्मेदवारी दर्ता सुरु भएको छ।

७ हजार ११४ महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछन्।

केन्द्रीय कार्यसमितिको आकार १६७ बाट बढाएर २९७ सदस्यीय बनाइएको छ।

पदाधिकारीको संख्या १४ बाट बढाएर २६ पुर्‍याइएको छ।

वरिष्ठ उपसभापति, महिला उपसभापति र महिला महामन्त्रीको नयाँ व्यवस्था गरिएको छ।

कांग्रेसले यसपटक केन्द्रीय कार्यसमितिको आकार १६७ बाट बढाएर २९७ सदस्यीय बनाएको छ। सोमबार संशोधित विधान पारित गर्दै पार्टीले केन्द्रीय पदाधिकारीको संरचनामा समेत व्यापक परिवर्तन गरेको हो। नयाँ व्यवस्थाअनुसार पदाधिकारीको संख्या १४ बाट बढाएर २६ पुर्‍याइएको छ। संरचनामा वरिष्ठ उपसभापति र महिला उपसभापतिको नयाँ व्यवस्था गरिएको छ भने उपसभापतिको संख्या चार पुगेको छ। महामन्त्रीको संख्या तीन बनाइएको छ र तीमध्ये एक पद महिला महामन्त्रीका लागि अनिवार्य गरिएको छ। नयाँ विधानअनुसार कांग्रेसमा एक वरिष्ठ उपसभापति र चार उपसभापति रहनेछन्। चार उपसभापतिमध्ये एक महिला र एक समावेशी समूहबाट निर्वाचित हुने व्यवस्था गरिएको छ। त्यस्तै तीन महामन्त्रीमध्ये एक महिला महामन्त्री अनिवार्य गरिएको छ। दुई खुला सहमहामन्त्री थपिएपछि सहमहामन्त्रीको संख्या ११ पुगेको छ। पार्टीले प्रवक्ता पदसमेत थप गरेको छ भने आवश्यकताअनुसार विषयगत सहप्रवक्ता नियुक्त गर्न सकिने व्यवस्था गरेको छ।

नयाँ संरचनामा विभिन्न समुदाय, क्षेत्र र समूहको प्रतिनिधित्वलाई समेत समेटिएको छ। सहमहामन्त्रीतर्फ खुला, महिला, आदिवासी जनजाति, दलित, मधेशी, खसआर्य, थारु, मुस्लिम, पिछडिएको क्षेत्र तथा अल्पसंख्यक समुदाय र अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित गरिएको छ। केन्द्रीय सदस्यतर्फ पनि महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेशी, थारु, मुस्लिम, पिछडिएको क्षेत्र, अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति, श्रमिक, पेशागत क्षेत्र र युवाका लागि छुट्टाछुट्टै प्रतिनिधित्वको व्यवस्था गरिएको छ।

कांग्रेसको नयाँ संरचनामा युवा प्रतिनिधित्वलाई समेत विशेष स्थान दिइएको छ। युवा महाधिवेशन प्रतिनिधिबाट मात्रै उम्मेदवारी दिन मिल्ने गरी प्रत्येक प्रदेशबाट एक महिलासहित दुई जना र खुलातर्फ सात जना गरी २१ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ। त्यस्तै, महिला महाधिवेशन प्रतिनिधिमध्येबाट १५ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। प्रत्येक प्रदेशबाट एक महिलासहित चार जना गरी २८ जना र काठमाडौं उपत्यकाबाट एक महिलासहित दुई जना सदस्य प्रत्यक्ष निर्वाचित हुने व्यवस्था पनि गरिएको छ।

दलित महाधिवेशन प्रतिनिधिमध्येबाट १४ जना, आदिवासी जनजाति प्रतिनिधिमध्येबाट २० जना, खसआर्यबाट १८ जना, मधेशीबाट १३ जना, थारुबाट ६ जना र मुस्लिम प्रतिनिधिमध्येबाट पाँच जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। पिछडिएको क्षेत्रबाट दुई जना, अल्पसंख्यक र अपाङ्गता भएका महाधिवेशन प्रतिनिधिबाट एक–एक जना सदस्य निर्वाचित हुने व्यवस्था छ। श्रमिक क्षेत्रबाट एक महिलासहित तीन जना तथा पेशागत विषयगत क्षेत्रबाट दुई महिलासहित सात जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।

यसैगरी नेपाली जनसम्पर्क समितिबाट दुई महिला खुलासहित सात जना, प्रजातन्त्र सेनानी, शहीद परिवार तथा द्वन्द्व प्रभावित परिवारका महाधिवेशन प्रतिनिधिमध्येबाट शहीद परिवारका एक जनासहित तीन जना सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ। केन्द्रीय सभापतिले ६६ जना सदस्य मनोनित गर्न सक्नेछन्। प्रतिनिधिसभा संसदीय दलका नेता र प्रदेश कार्यसमितिका सभापति भने केन्द्रीय कार्यसमितिको पदेन सदस्य रहने व्यवस्था गरिएको छ।

उम्मेदवारी दर्ता सुरु भएसँगै कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धा औपचारिक चरणमा प्रवेश गरेको छ। सभापति, वरिष्ठ उपसभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्रीसहित विभिन्न पदमा आकांक्षी नेताहरूले आज उम्मेदवारी दर्ता गराउनेछन्। यसअघि नै विभिन्न नेताहरूले आ–आफ्नो पदमा उम्मेदवारी घोषणा गरिसकेका छन्। नयाँ विधानअनुसार थपिएका पद र समावेशी संरचनाका कारण यसपटकको निर्वाचनमा पदाधिकारी तथा केन्द्रीय सदस्यको प्रतिस्पर्धा थप व्यापक हुने देखिएको छ। कांग्रेसको १५औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टीको आगामी राजनीतिक, सांगठनिक र आर्थिक कार्यदिशासमेत तय गर्नेछ। ७ हजार ११४ महाधिवेशन प्रतिनिधिले चयन गर्ने २९७ सदस्यीय केन्द्रीय कार्यसमितिले आगामी दिनमा कांग्रेसको संगठन र राजनीतिक भूमिकालाई अघि बढाउनेछ। उम्मेदवारी दर्तासँगै सुरु भएको निर्वाचन प्रक्रियाले अब कांग्रेसभित्रको नेतृत्व समीकरण, समूहगत प्रतिस्पर्धा र नयाँ पुस्ताको सहभागितालाई थप स्पष्ट बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images