२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

रसुवा बाढीबारे चिनियाँ राजदूत

भूकम्पपछि हिमपहिरो र हिलोपहिरोले रसुवामा विपद् आएको चिनियाँ राजदूतको भनाइ

चिनियाँ राजदूत झाङ माओमिङले प्रारम्भिक जानकारीअनुसार भूकम्पपछि हिमपहिरो र हिलोपहिरो आउँदा नेपाल–चीन सीमाक्षेत्रमा ठूलो क्षति भएको बताएका छन्।

बिहिवार , भाद्र ११, २०८३

NepalSays/ काठमाडौं
नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले रसुवामा भएको भीषण बाढी तथा विपद्बारे प्रारम्भिक जानकारी सार्वजनिक गरेका छन्। NTV Worldसँगको कुराकानीमा राजदूत झाङले विपद्का कारण भएको जनधनको क्षतिप्रति चीन गहिरो दुःखी रहेको बताएका छन्। उनले मृतकप्रति गहिरो समवेदना तथा शोकसन्तप्त परिवारप्रति सहानुभूति व्यक्त गरेका छन्। साथै, कठिन परिस्थितिमा चीन नेपालसँगै उभिएको बताएका छन्। चीनले घटनाक्रमलाई नजिकबाट नियालिरहेको र सम्भव भएसम्म आवश्यक सहयोग तथा सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। नेपाल र चीनबीच विपद् प्रतिकार्यमा सहकार्य भइरहेको उनले जानकारी दिएका छन्।राजदूत झाङका अनुसार हाल उपलब्ध प्रारम्भिक सूचनाअनुसार बिहीबार बिहान नेपाली भूभागमा भूकम्प गएको थियो। उक्त भूकम्पपछि हिमपहिरो र त्यसपछि हिलोपहिरो आएको उनको भनाइ छ। हिमपहिरो र हिलोपहिरोका कारण नेपाल–चीन सीमाको जिलुङ–रसुवागढी क्षेत्रमा ठूलो क्षति पुगेको तथा नेपाल र चीन दुवैतर्फ मानिसको मृत्यु र बेपत्ता भएको उनले बताएका छन्।

सम्पादकीय सारांश

Verified

रसुवा विपद्प्रति चीन गहिरो दुःखी रहेको चिनियाँ राजदूतले बताएका छन्।

प्रारम्भिक जानकारीअनुसार भूकम्पपछि हिमपहिरो र हिलोपहिरो आएको उनको भनाइ छ।

नेपाल र चीन दुवैतर्फ जनधनको क्षति तथा मानिसहरू बेपत्ता भएको बताइएको छ।

चीनले नेपाललाई आपत्कालीन सामग्री र नगद सहयोगको तयारी थालेको छ।

भविष्यमा पूर्वसूचना र संयुक्त विपद् उद्धार प्रणाली बलियो बनाउनुपर्नेमा जोड दिइएको छ।

विपद्पछि चिनियाँ राष्ट्रपति सी चिनफिङले घटनालाई उच्च प्राथमिकतामा राख्दै उद्धार तथा खोजी कार्यलाई तीव्र बनाउन निर्देशन दिएको राजदूतले बताएका छन्। बेपत्ता नागरिकको खोजी तथा उद्धार, जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण, घाइतेको तत्काल उपचार तथा मानवीय क्षति न्यूनीकरणलाई प्राथमिकता दिन निर्देशन दिइएको उनले जानकारी दिए।

चिनियाँ दूतावासले नेपालमा रहेको आपत्कालीन प्रतिक्रिया संयन्त्र तत्काल सक्रिय गरेको र प्रभावित क्षेत्रमा रहेका चिनियाँ नागरिक तथा व्यवसायको अवस्थाबारे जानकारी सङ्कलन गरेको राजदूतले बताए। दूतावासले प्रभावित क्षेत्रमा कार्यदल पठाएर उद्धार तथा राहत प्रयासमा समन्वय गरिरहेको उनले जानकारी दिए।

चीनतर्फ पनि सीमाक्षेत्रमा ठूलो क्षति भए पनि नेपाललाई सहयोग गर्न तत्काल आपत्कालीन सामग्री तथा नगद सहायता उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको राजदूत झाङले बताएका छन्। चीनका सम्बन्धित मन्त्रालय तथा तिब्बत स्वायत्त क्षेत्रका निकायहरूले नेपाली पक्षसँग समन्वय गरी विपद् मूल्याङ्कन, खोज तथा उद्धार र आगामी प्रतिकार्यका विषयमा सहकार्य गरिरहेको उनको भनाइ छ।

राजदूतका अनुसार चीन र नेपालले भविष्यमा यस्ता विपद्को प्रभाव न्यूनीकरण गर्न मौसम, जलविज्ञान तथा भूगर्भीय विपद्सम्बन्धी सूचना आदानप्रदान र पूर्वसूचना प्रणाली थप बलियो बनाउन आवश्यक छ। सीमापार विपद्का सम्बन्धमा समयमै सूचना आदानप्रदान गरी जोखिमको प्रारम्भिक पहिचान, पूर्वसूचना र तत्काल प्रतिक्रिया दिने संयन्त्र विकास गर्नुपर्ने उनले बताए।

त्यस्तै, दुवै देशबीच आपत्कालीन उद्धारका क्षेत्रमा सञ्चार, समन्वय र संस्थागत सहकार्यलाई थप बलियो बनाउनुपर्नेमा उनले जोड दिएका छन्। आकस्मिक विपद्का बेला संयुक्त रूपमा प्रतिक्रिया जनाउन सक्ने उद्धार संयन्त्र विकास गर्नुपर्ने उनको भनाइ छ।

उनले उद्धारकर्मीको क्षमता विकास, प्राविधिक आदानप्रदान तथा आपत्कालीन सामग्रीको व्यवस्थापनमा पनि नेपाल–चीन सहकार्य बढाउनुपर्ने बताएका छन्। स्थानीय तहसम्म विपद् पूर्वतयारी र प्रतिकार्य क्षमता विस्तार गर्न आवश्यक रहेको उनको सुझाव छ।

चिनियाँ राजदूतले विपद्को समयमा नेपाली सरकार तथा सम्बन्धित निकायले गरिरहेको उद्धार तथा राहत प्रयासको प्रशंसा गरेका छन्। उनले विपद्को सामना गरिरहेका नेपाली नागरिकको धैर्य र प्रयासको समेत प्रशंसा गर्दै नेपाललाई आवश्यक सहयोग जारी राख्ने बताएका छन्। नेपाल र चीन पहाड तथा नदीले जोडिएका निकट छिमेकी भएकाले विपद् व्यवस्थापनमा निरन्तर सहकार्य आवश्यक रहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images