विराटनगर । संघीयता कार्यान्वयनलाई प्रभावकारी बनाउँदै सातै प्रदेशबीच विकास साझेदारी र समन्वय बढाउने उद्देश्यसहित अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन–२०८३ आजदेखि विराटनगरमा सुरु हुँदैछ।कोशी प्रदेश सरकारको आयोजनामा हुने दुईदिने सम्मेलनमा सातै प्रदेशका मुख्यमन्त्री सहभागी हुनेछन्। सम्मेलनको दोस्रो दिन विकास साझेदारीका साझा प्रतिबद्धतासहित ‘कोशी घोषणा–२०८३’ जारी गर्ने तयारी छ।
आजदेखि विराटनगरमा दुईदिने अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन सुरु।
सातै प्रदेशका मुख्यमन्त्री सम्मेलनमा सहभागी हुने।
संघीयता, आर्थिक साझेदारी र विपद् व्यवस्थापनमा छलफल हुने।
दोस्रो दिन ‘कोशी घोषणा–२०८३’ जारी गरिने।
प्रदेशहरूबीच साझा विकास र सहकार्यको भावी कार्यदिशा तय गरिने।
सम्मेलनमा संघीयताको सबलीकरण, अन्तरप्रदेश समन्वय, आर्थिक एकीकरण, प्राकृतिक स्रोतको उपयोग, विपद् व्यवस्थापन तथा विकासका साझा योजनाका विषयमा छलफल हुनेछ। प्रदेशहरूबीच देखिएका साझा समस्या पहिचान गरी तिनको समाधानका लागि सहकार्यको आधार तयार गर्ने सम्मेलनको उद्देश्य छ।
पहिलो दिन सातै प्रदेशका उपलब्धि र सफल अभ्यासबारे अनुभव आदानप्रदान गरिनेछ। साथै, संघीयता र संस्थागत विकास तथा अन्तरप्रदेशीय आर्थिक साझेदारीसम्बन्धी कार्यपत्र प्रस्तुत गरिने कार्यक्रम छ।सम्मेलनका क्रममा स्थानीय उद्योगी–व्यवसायीसँग उत्पादन र निर्यात प्रवर्द्धनका विषयमा पनि अन्तरक्रिया हुनेछ। यसले प्रदेशहरूबीच आर्थिक सम्बन्ध विस्तार र स्थानीय उत्पादनको बजार प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
दोस्रो दिन बिहान १० बजे सातै प्रदेशका मुख्यमन्त्रीले ‘कोशी घोषणा–२०८३’ मा हस्ताक्षर गर्ने कार्यक्रम छ। त्यसपछि दिउँसो पत्रकार सम्मेलनमार्फत सम्मेलनका निष्कर्ष र भावी कार्यदिशा सार्वजनिक गरिनेछ।प्रदेशहरूबीच समन्वय र सहकार्यको प्रतिबद्धतालाई व्यवहारमा उतार्न सके सम्मेलनले संघीय शासन प्रणालीलाई थप प्रभावकारी बनाउनुका साथै साझा विकासका योजनालाई अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस