नेपालसेज/ काठमाडौं। पर्यटन विभागले प्रतिकूल मौसमका कारण उच्च हिमाली क्षेत्रमा हिमपात तथा हिमपहिरोको जोखिम बढ्न सक्ने भन्दै पर्यटक तथा पर्वतारोहीलाई त्यस्ता क्षेत्रमा नजान आग्रह गरेको छ। राष्ट्रिय समाचार समिति (रासस) का अनुसार विभागले कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा तथा हिमाली क्षेत्रमा हिमपात र हिमपहिरोको जोखिम रहेको जनाउँदै सतर्कता अपनाउन अनुरोध गरेको हो। नेपाल मौसम विज्ञान विभागको मौसम बुलेटिनअनुसार उक्त अवधिमा मेघगर्जन, चट्याङ र हुरीबताससहित भारी वर्षा हुन सक्ने सम्भावना छ। वर्षाका कारण बाढीपहिरो तथा भूक्षयको जोखिम बढ्नुका साथै हिमाली क्षेत्रमा हिमआँधी र हिमपहिरो जान सक्ने पूर्वानुमान गरिएको छ।
सम्पादकीय सारांश
Verified
पर्यटन विभागले कात्तिक ११ देखि १५ गतेसम्म उच्च हिमाली क्षेत्रमा नजान आग्रह गरेको छ।
देशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान।
हिमाली क्षेत्रमा हिमआँधी र हिमपहिरोको जोखिम बढ्न सक्ने चेतावनी।
पदयात्री तथा पर्वतारोहीलाई आधिकारिक मौसम सूचना हेरेर मात्र यात्रा योजना बनाउन अनुरोध।
खुम्बु, मनाङ, काठमाडौं र पोखराका स्वास्थ्य संस्थामा उच्च हिमाली क्षेत्रमा हुने स्वास्थ्य समस्याको उपचार सेवा सहज बनाउन अपिल।
प्रतिकूल मौसमले पदयात्रा तथा हिमाल आरोहण प्रभावित हुन सक्ने भएकाले उच्च हिमाली क्षेत्रमा यात्रा नगर्न विभागले आग्रह गरेको छ। त्यस्ता क्षेत्रमा पुगिसकेका पर्वतारोही तथा पदयात्रीलाई पनि आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ। विभागले आधिकारिक निकायबाट जारी हुने मौसमसम्बन्धी अद्यावधिक सूचना हेरेर मात्रै यात्रा योजना बनाउन आग्रह गरेको छ। मौसमको अवस्थाबारे जानकारी लिँदै सम्भावित जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउनुपर्नेमा विभागले जोड दिएको छ।
यसैगरी, खुम्बु, मनाङलगायतका हिमाली क्षेत्र तथा काठमाडौं र पोखरास्थित स्वास्थ्य संस्थामा उच्च हिमाली क्षेत्रमा देखिने स्वास्थ्य समस्या एक्युट माउन्टेन सिकनेस (Acute Mountain Sickness) को उपचार सेवा सहज र निरन्तर उपलब्ध गराउन विभागले सम्बन्धित निकायलाई अपिल गरेको छ।
प्रतिक्रिया दिनुहोस