जीविकोपार्जन पुनःस्थापना योजनाअन्तर्गत व्यास, भिमाद, म्याग्दे र ऋषिङका २२ कृषकलाई व्यावसायिक बाख्रापालन तथा वित्तीय व्यवस्थापनसम्बन्धी तालिम दिइएको छ।
नेपालसेज/ दमौली।
तनहुँ जलविद्युत् आयोजनाले प्रभावित परिवारका सदस्यको आयआर्जन क्षमता अभिवृद्धि गर्दै दिगो जीविकोपार्जनका आधार तयार गर्ने उद्देश्यले व्यावसायिक बाख्रापालन तथा वित्तीय साक्षरतासम्बन्धी तालिम सञ्चालन गरेको छ। आयोजनाको जीविकोपार्जन पुनःस्थापना योजनाअन्तर्गत व्यास तथा भिमाद नगरपालिका र म्याग्दे तथा ऋषिङ गाउँपालिकाका २२ जना कृषकलाई तालिम दिइएको हो।
तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित परिवारका सदस्यलाई व्यावसायिक बाख्रापालन तालिम।
व्यास र भिमाद नगरपालिका तथा म्याग्दे र ऋषिङ गाउँपालिकाका २२ कृषक सहभागी।
पशु स्वास्थ्य, हेरचाह, व्यावसायिक व्यवस्थापन र वित्तीय साक्षरताबारे प्रशिक्षण।
आयोजनाले हालसम्म ३८ वटा जीविकोपार्जन तथा सामुदायिक विकास कार्यक्रम सञ्चालन गरेको छ।
विभिन्न सीप विकास कार्यक्रमबाट प्रभावित परिवारका ७७६ जना लाभान्वित भएका छन्।
भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय, तनहुँसँगको सहकार्यमा सञ्चालन गरिएको तालिममा सम्बन्धित क्षेत्रका विज्ञले व्यावसायिक बाख्रापालन व्यवस्थापन, पशु स्वास्थ्य तथा हेरचाह, आयआर्जनका सम्भावना र वित्तीय व्यवस्थापनका विषयमा प्रशिक्षण दिएका छन्। आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार प्रभावित परिवारको जीविकोपार्जन पुनःस्थापना तथा सामुदायिक विकासलाई प्राथमिकतामा राख्दै आयोजनाले हालसम्म ३८ वटा कार्यक्रम सञ्चालन गरिसकेको छ। ती कार्यक्रमबाट प्रभावित परिवारका ७७६ जना लाभान्वित भएका छन्।
आयोजनाले यसअघि इलेक्ट्रिसियन, प्लम्बिङ, सिलाइकटाइ, मौरीपालन, बाख्रापालन, बङ्गुरपालन, तरकारीखेती, निर्वाहमुखी कृषि तथा हलुका सवारी चालकसम्बन्धी तालिमलगायत विभिन्न सीप विकास कार्यक्रम सञ्चालन गरेको छ।
आयोजनाको जीविकोपार्जन पुनःस्थापना योजनाअनुसार प्रभावित परिवारको सीप विकास, आयआर्जनका अवसर विस्तार, वित्तीय साक्षरता तथा उद्यमशीलता प्रवर्द्धनमार्फत आर्थिक आत्मनिर्भरता र दिगो जीविकोपार्जन सुनिश्चित गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको छ।
प्रतिक्रिया दिनुहोस