२०८३, कार्तिक २६ गते

बिहिवार, कार्तिक २६ गते २०८३

श्रीलंका टप्पुमा मतदान केन्द्र

श्रीलंका टप्पुमा मतदान केन्द्र स्थापनाका लागि प्रमुख जिल्ला अधिकारीसहितको टोलीद्वारा स्थलगत निरीक्षण

बिहिवार , कार्तिक १९, २०८३

 

सम्पादकीय सारांश

Verified

सुनसरीको श्रीलंका टप्पुमा मतदान केन्द्रको माग उठेपछि स्थलगत निरीक्षण गरिएको छ।

प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद रिजालसहित सुरक्षा निकायका प्रमुखहरू निरीक्षणमा सहभागी भएका छन्।

वराहक्षेत्र–६ स्थित जनता माध्यमिक विद्यालयमा निरीक्षण गरिएको हो।

मतदान स्थल पुनरावलोकन र आवश्यकताअनुसार नयाँ मतदान स्थल थप्ने विषयमा सहमति भएको छ।

नयाँ मतदान स्थल निर्धारणका लागि जिल्ला निर्वाचन कार्यालयले प्राविधिक सहयोग उपलब्ध गराउनेछ।

नेपालसेज/सुनसरी। सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नम्बर ६ र ९ मा पर्ने श्रीलंका टप्पुमा मतदान केन्द्र स्थापनाको माग उठेपछि प्रमुख जिल्ला अधिकारीसहितको टोलीले स्थलगत निरीक्षण गरेको छ। स्थानीय मतदातालाई सहज रूपमा मतदान गर्ने व्यवस्था मिलाउने उद्देश्यले प्रशासन र सुरक्षा निकायका अधिकारीहरूले टप्पु क्षेत्रको अवस्थाबारे जानकारी लिएका हुन्।

वराहक्षेत्र नगरपालिका वडा नम्बर ६ स्थित जनता माध्यमिक विद्यालयमा प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद रिजालसहितको टोलीले निरीक्षण गरेको वराहक्षेत्र नगरपालिकाका नगरप्रमुखको सचिवालयले जनाएको छ। सुनसरी जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का क्रममा मतदान स्थलहरूको पुनरावलोकन तथा व्यवस्थापन गर्ने विषयमा अध्ययन प्रतिवेदन तयार पारिएकाे थियाे । साे बारे राजनीतिक दल, स्थानीय तह र सरोकारवालाबीच सहमति जुटेको भोलिपल्ट बिहीबार निरीक्षण गरिएको हो।

यसअघि मतदान स्थलहरूको स्थलगत अनुगमनबाट प्राप्त प्रतिवेदनका आधारमा मतदान स्थल तथा मतदान केन्द्रको पुनरावलोकन गर्ने विषयमा बुधबार बैठक बसेको थियो। बैठकमा अनुगमन प्रतिवेदन गृह मन्त्रालयअन्तर्गत शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखामा पठाइएको जानकारी सहभागीहरूलाई गराइएको थियो।

बैठकले अनुगमन प्रतिवेदनले औँल्याएका विषय सम्बोधन गर्न सम्बन्धित वडा कार्यालयहरूले समन्वय गरी कार्यान्वयन गर्ने सहमति गरेको थियो। साथै, राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका प्रमुख तथा सरोकारवालाले उठाएका विषय सम्बोधन गर्न जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिमार्फत थप स्थलगत अनुगमन गर्ने निर्णय गरिएको थियो।

मतदाताको मतदान गर्ने अधिकारलाई सहज र प्रभावकारी बनाउन आवश्यकताअनुसार केही मतदान स्थल विभाजन गरी नयाँ मतदान स्थल कायम गर्न सम्बन्धित वडा मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिलाई अनुरोध गर्ने निर्णयसमेत बैठकले गरेको छ। नयाँ मतदान स्थल कायम गर्ने प्रक्रियाका लागि आवश्यक मतदाता नामावली, अनुसूची फारामलगायत प्राविधिक सहयोग जिल्ला निर्वाचन कार्यालयले उपलब्ध गराउने सहमति भएको छ।

त्यस्तै, मतदान स्थल परिवर्तन, थपघट वा नयाँ स्थल निर्धारण गर्नुपर्ने भए मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०८१ अनुसार प्रक्रिया पूरा गरी सम्बन्धित वडा समितिबाट सर्वसम्मत निर्णय गराएर जिल्लास्तरीय सिफारिस समितिमा पठाउनुपर्ने निर्णय गरिएको छ। वडा समितिबाट प्राप्त निर्णय तथा प्रमाणित अनुसूचीहरू एकीकृत गरी जिल्लास्तरीय समितिको अर्को बैठकमा थप छलफल गरिने जनाइएको छ।

यसैबीच, वराहक्षेत्र नगरपालिकाको आयोजना तथा विश्व खाद्य कार्यक्रम र निड्स नेपालको प्राविधिक सहयोगमा सञ्चालित बाढी पूर्वतयारी, पूर्वकार्य तथा प्रतिकार्यसम्बन्धी एकीकृत कृत्रिम घटना अभ्यास (सिमेक्स) कार्यक्रमको तेस्रो दिन स्थलगत अभ्यासका क्रममा उक्त निरीक्षण गरिएको हो।

निरीक्षण तथा अभ्यासमा प्रमुख जिल्ला अधिकारी रिजाल, जिल्ला प्रहरी कार्यालयका प्रमुख पुष्पराज मल्ल, सशस्त्र प्रहरी बल सुनसरीका प्रमुख लभकुमार सापकोटा, राष्ट्रिय अनुसन्धान सुनसरीका प्रमुख विमल घिमिरे, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव राजेन्द्र शर्मा र जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् उपसचिव विभूति पोखरेललगायत सहभागी थिए।

टप्पुका स्थानीय बासिन्दा निर्वाचनका बेला कोशीका तीनवटा भँगाला तरेर प्रकाशपुर आइपुग्न बाध्य छन्। उदयपुरको रामपुरबाट उनीहरूले झन्डै ४० किलोमिटर यात्रा गर्नुपर्छ।श्रीलंका टापुमै मतदान केन्द्र स्थापना भए स्थानीय बासिन्दा लाभान्वित हुनेछन्।

WhatsApp Image 2026-11-05 at 7.10.31 PM.jpeg

 

 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images