२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

साँगा–धुलिखेल सडक विस्तार

साँगा–धुलिखेल सडक विस्तार तीव्र, काभ्रेतर्फ ७४ प्रतिशत काम सम्पन्न

अरनिको राजमार्गअन्तर्गत साँगा–धुलिखेल सडक विस्तारलाई तीव्रता दिइएको छ। काभ्रेपलाञ्चोकतर्फ ७४ प्रतिशत र भक्तपुरतर्फ ५४ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ।

शुक्रवार , कार्तिक १३, २०८३

नेपालसेज/ काभ्रेपलाञ्चोक। अरनिको राजमार्गअन्तर्गत साँगा–धुलिखेल सडक विस्तारको कामलाई तीव्रता दिइएको छ। थपिएको एक वर्षको समयसीमाभित्र सम्पूर्ण सडक विस्तार सम्पन्न हुन नसकेपछि आयोजनाले मुख्य निर्माण कार्य पूरा गर्ने लक्ष्यसहित कामलाई तीव्र बनाएको हो। सूर्यविनायक–धुलिखेल सडक आयोजनाका अनुसार पछिल्लो समय बनेपा बजार क्षेत्रमा ढल व्यवस्थापनसँगै पुरानो कालोपत्र हटाएर नयाँ कालोपत्र गर्ने काम सुरु गरिएको छ।

सम्पादकीय सारांश

Verified

साँगा–धुलिखेल सडक विस्तारमा काभ्रेपलाञ्चोकतर्फ ७४ प्रतिशत काम सम्पन्न।

भक्तपुरको सूर्यविनायक–साँगा खण्डमा ५४ प्रतिशत भौतिक प्रगति।

साँगा–धुलिखेल खण्डको मुख्य निर्माण कार्य आगामी मङ्सिर २३ गतेसम्म सक्ने लक्ष्य।

बनेपा बजार क्षेत्रमा ढल व्यवस्थापनसँगै पुरानो कालोपत्र हटाएर नयाँ कालोपत्र गर्न थालिएको छ।

जगाति खोला, महादेवखोला र पुण्यमाता खोलामा पुल निर्माण नहुँदा यातायात सञ्चालनमा समस्या।

भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्मको करिब १५.८ किलोमिटर सडकलाई छ लेनमा विस्तार गर्ने योजनाअन्तर्गत दुई खण्डमा ठेक्का सम्झौता गरिएको छ। साँगा–धुलिखेल खण्डको आठ किलोमिटर सडक विस्तारका लागि २०७९ मङ्सिर २७ गते सम्झौता भएको थियो। उक्त सम्झौताअनुसार २०८२ मङ्सिर २५ गते निर्माण सम्पन्न गर्नुपर्ने भए पनि तोकिएको अवधिमा ६० प्रतिशत मात्र काम भएपछि एक वर्ष समय थपिएको थियो।

सूर्यविनायक–धुलिखेल सडक आयोजनाका प्रमुख सुपरिटेन्डेन्ट इन्जिनियर विजयकुमार महतोका अनुसार काभ्रेपलाञ्चोकतर्फ साँगादेखि धुलिखेलसम्म ७४ प्रतिशत र भक्तपुरतर्फ सूर्यविनायकदेखि साँगासम्म ५४ प्रतिशत भौतिक प्रगति भएको छ। भक्तपुरतर्फ सडक विस्तारको ठेक्का सम्झौता ढिलो भएकाले त्यहाँ कामको प्रगति तुलनात्मक रूपमा कम देखिएको आयोजनाले जनाएको छ।

काभ्रेपलाञ्चोकतर्फ साढे तीन किलोमिटर सडकमा छ लेनमै पहिलो तहको कालोपत्र गरिएको छ। साँगा–धुलिखेल खण्डको ७.९ किलोमिटर सडकमध्ये साढे छ किलोमिटरमा चार लेनमा पहिलो तहको कालोपत्र सम्पन्न भएको महतोले जानकारी दिनुभयो। अब काभ्रेतर्फ करिब डेढ किलोमिटर सडकमा कालोपत्र गर्न बाँकी रहेको छ। निर्माण व्यवसायीसँगको सम्झौताको म्याद आगामी मङ्सिर २३ गतेसम्म रहेकाले प्रतिकूल परिस्थिति नआए मुख्य काम निर्धारित समयमै सम्पन्न हुने आयोजनाको अपेक्षा छ।

भक्तपुरतर्फ सूर्यविनायक–साँगा खण्डमा साइड स्ट्रक्चर निर्माणको काम लगभग सकिएको छ। उक्त खण्डमा हालसम्म डेढ किलोमिटर सडकमा छ लेनमै पहिलो तहको कालोपत्र गरिएको छ। साँगाको अन्डरपासमा पनि दुई लेनमा १.२ किलोमिटर सडकमा पहिलो तहको कालोपत्र भएको महतोले बताउनुभयो। भक्तपुरतर्फको सडक विस्तारको म्याद आगामी फागुन महिनामा सकिँदैछ।

सूर्यविनायक–साँगा खण्डको ७.३ किलोमिटर सडक विस्तारका लागि २०७९ पुसमा आशिषकुमार श्रेष्ठ–बन्धन–भगवती जेभीसँग मूल्य अभिवृद्धि करसहित तीन अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। निर्माण कम्पनीले समयसीमाभित्र मुख्य काम पूरा गर्ने र बाँकी कामका लागि केही समय थप गरी २०८४ असारभित्र सम्पूर्ण निर्माण सम्पन्न गर्न सकिने आयोजनाले जनाएको छ।

सडक विस्तारले पछिल्लो महिनादेखि गति लिए पनि जगाति खोला, महादेवखोला र पुण्यमाता खोलामा पुल निर्माण नहुँदा यातायात सञ्चालनमा समस्या देखिएको छ। ती स्थानमा विशेषगरी रातिको समयमा मालवाहक सवारीसाधन सञ्चालन हुँदा सडकमा खाल्डाखुल्डी र जामको समस्या हुने गरेको छ। सडक विस्तारसँगै पुल निर्माण सम्पन्न गर्नुपर्ने चुनौतीसमेत आयोजनासामु रहेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images