चितवनको नारायणी नदी कटान प्रभावित क्षेत्रको निरीक्षणपछि रास्वपा सभापति रवि लामिछानेले नागरिकको ज्यान, बजारको अस्तित्व र व्यवसायीको सम्पत्ति जोगाउन तत्काल तथा दीर्घकालीन योजना अघि बढाउने बताएका छन्।
नेपालसेज/ चितवन।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नारायणी नदीको कटानबाट बजार क्षेत्रको सुरक्षा गर्न तत्काल र दीर्घकालीन योजना बनाएर अघि बढ्ने बताएका छन्। नारायणी नदी किनारको क्षतिग्रस्त क्षेत्रको स्थलगत निरीक्षणपछि उद्योग वाणिज्य सङ्घ चितवनमा आयोजित सरोकारवालासँगको छलफलमा उनले नागरिकको ज्यान, बजारको अस्तित्व, ऐतिहासिक महत्व र व्यवसायीको सम्पत्ति जोगाउनु अहिलेको प्रमुख प्राथमिकता भएको बताएका हुन्।
नारायणी नदी कटानबाट बजार क्षेत्र जोगाउन तत्काल र दीर्घकालीन योजना बनाइने।
नागरिकको ज्यान, बजारको अस्तित्व र व्यवसायीको सम्पत्ति संरक्षणलाई प्राथमिकता दिइने।
जोखिमबारे अध्ययन गर्न टोली परिचालन भइसकेको लामिछानेको भनाइ।
प्राविधिक अध्ययनले आवश्यक देखाए बजार क्षेत्र स्थानान्तरणको विकल्पसमेत खुला राखिने।
कर्णाली, सुदूरपश्चिम र मधेसलगायतका बाढी प्रभावित क्षेत्रलाई पनि आवश्यकताका आधारमा सम्बोधन गरिने।
लामिछानेका अनुसार बजार क्षेत्रमा देखिएको जोखिमबारे उद्योग वाणिज्य सङ्घले जानकारी गराएलगत्तै उनले सम्बन्धित निकायलाई जानकारी गराएका थिए। आवश्यक अध्ययन तथा योजना निर्माणका लागि टोली परिचालन गरिएको र उक्त टोलीले काम अघि बढाइसकेको उनले बताए। आगामी दिनमा पनि यसलाई निरन्तरता दिने उनको प्रतिबद्धता छ। उनले तत्काल गर्नुपर्ने काम र दीर्घकालीन समाधानका उपाय दुवैलाई ध्यानमा राखेर योजना बनाउनुपर्नेमा जोड दिएका छन्। प्राविधिक अध्ययनका आधारमा भविष्यमा बजार क्षेत्र स्थानान्तरण गर्नुपर्ने अवस्था आउन सक्ने सम्भावनासमेत उनले औँल्याएका छन्। त्यस्तो अवस्था आए सबै सरोकारवाला एकमत भएर निर्णय प्रक्रियामा सहभागी हुनुपर्ने उनको भनाइ छ।
“जनता जोगाउनका लागि बजेट दोस्रो कुरा हो। जनतालाई कसरी जोगाउन सकिन्छ भन्ने पहिलो प्राथमिकता हो,” लामिछानेले भने, “नागरिकको जिउ, बजारको इतिहास र त्यहाँका व्यवसायीको सम्पत्ति जोगाउन तत्काल के गर्न सकिन्छ र दीर्घकालीन रूपमा के गर्नुपर्छ भन्ने विषयमा स्पष्ट योजना आवश्यक छ।”
आफ्नो निर्वाचन क्षेत्र भएकै कारण चितवनलाई विशेष प्राथमिकता दिनुपर्ने मान्यता आफूले नराखेको स्पष्ट पार्दै लामिछानेले देशका विभिन्न क्षेत्रमा बाढीपहिरोले पुर्याएको क्षति र आवश्यकताका आधारमा राज्यले स्रोतसाधन परिचालन गर्नुपर्ने बताएका छन्। कर्णाली, सुदूरपश्चिम र मधेसलगायतका क्षेत्रमा बाढीबाट प्रभावित नागरिकको समस्या पनि उत्तिकै महत्वपूर्ण रहेको उनको भनाइ छ। चितवनको समस्या पनि अन्य प्रभावित क्षेत्रसरह आवश्यकताका आधारमा सम्बोधन हुने बताउँदै उनले तत्काल आवश्यक पर्ने कामको अध्ययन लगभग तयार भइसकेको जानकारी दिएका छन्। अध्ययनबाट पहिचान भएका योजनाका लागि स्रोत सुनिश्चित गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले सरोकारवालालाई आश्वस्त रहन आग्रह गरेका छन्।
छलफलका क्रममा लामिछानेले नारायणी नदीको कटान तथा डुबानबाट बजार क्षेत्रमा परेको जोखिमबारे समयमै जानकारी गराएर अध्ययन टोली परिचालन गर्न सहयोग पुर्याएको भन्दै उद्योग वाणिज्य सङ्घ चितवनलाई धन्यवाद दिएका छन्। छलफलअघि उनले नारायणी नदीले कटान गरेको क्षेत्रको स्थलगत निरीक्षण गरेका थिए।
उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चिरञ्जीवी सुवेदीले नदी कटानको समस्यालाई गम्भीरतापूर्वक लिएर समाधानका उपाय खोज्न लामिछानेले सुरुदेखि नै पहल गर्दै आएको बताएका छन्। उनले नदी कटानको समस्या दीर्घकालीन रूपमा समाधान हुने गरी आवश्यक योजना बनाउन आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस