रसुवाको भोटेकोसीमा आएको आकस्मिक बाढीबाट प्रभावित ११० जनालाई नेपाली सेना तथा निजी क्षेत्रका हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।
NepalSays/ काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित भएकाहरूको खोज तथा उद्धार कार्य तीव्र पारिएको छ।नेपाली सेनाका अनुसार अहिलेसम्म रसुवाका विभिन्न क्षेत्रबाट ८८ जनालाई उद्धार गरिएको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उद्धारका लागि ६ वटा हेलिकोप्टर परिचालन गरिएको छ भने बाढीमा फसेका नागरिकको अवस्था पहिचान तथा खोजीका लागि ३ वटा ड्रोनसमेत प्रयोगगरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार भने धुन्चे, टिमुरे, मैलुङ, बेत्रावती र त्रिशूली क्षेत्रबाट गरी ११० जनाको उद्धार गरिएको विवरण सार्वजनिक भएको छ। उद्धार गरिएका सबैलाई नेपाली सेना तथा निजी क्षेत्रका हेलिकोप्टरमार्फत सुरक्षित स्थानमा ल्याइएको जनाइएको छ।
रसुवा बाढीबाट हालसम्म ११० जनाको उद्धार।
उद्धारका लागि नेपाली सेना र निजी कम्पनीका ६ हेलिकोप्टर परिचालन।
बाढीमा फसेकाको खोज तथा उद्धारमा ३ वटा ड्रोन प्रयोग।
धुन्चे, टिमुरे, मैलुङ, बेत्रावती र त्रिशूली क्षेत्रबाट प्रभावितको उद्धार।
भोटेकोसी बाढीबाट रसुवासँगै नुवाकोट, धादिङ र चितवनसमेत प्रभावित।
प्रधानमन्त्री कार्यालयका अनुसार धुन्चे क्षेत्रबाट ८५ जना, टिमुरेबाट १३ जना, मैलुङबाट ५ जना, बेत्रावतीबाट ४ जना र त्रिशूली क्षेत्रबाट ३ जनाउद्धार गरिएको छ। बाढीबाट प्रभावित क्षेत्रमा फसेका नागरिकको खोजी तथा उद्धारलाई प्राथमिकतामा राख्दै सुरक्षा निकायले हवाई तथा स्थलमार्गबाट निरन्तर प्रयास गरिरहेको जनाएको छ। नेपाली सेनाका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थप दुई जनालाई बाढी प्रभावित क्षेत्रतर्फ पठाउने तयारी गरिएको छ। उद्धार कार्यलाई थप प्रभावकारी बनाउन आवश्यकताअनुसार थप जनशक्ति तथा स्रोत परिचालन गरिने सेनाले जनाएको छ।
भोटेकोसीमा बुधबार बिहान आएको आकस्मिक बाढीले रसुसँगै नुवाकोट, धादिङ र चितवनलगायतका जिल्लामा समेत ठूलो क्षति पुर्याएको छ। बाढीका कारण नदी तटीय क्षेत्रका बस्ती, सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचना प्रभावित भएका छन्। बाढीको जोखिम कायम रहेकाले भोटेकोसी, त्रिशूली तथा तल्लो तटीय क्षेत्रमा रहेका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। स्थानीय प्रशासन तथा सुरक्षा निकायले जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने तथा प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्।
यसैबीच, बाढी प्रभावित क्षेत्रमा उद्धार गरिएका नागरिकको स्वास्थ्य अवस्था तथा तत्काल आवश्यक राहत व्यवस्थापनका लागि सम्बन्धित निकायले समन्वय गरिरहेका छन्। उद्धार कार्यसँगै सम्पर्कविहीन रहेका व्यक्तिको खोजीलाई समेत तीव्र पारिएको सुरक्षा निकायले जनाएको छ।
प्रतिक्रिया दिनुहोस