काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तत्काल पार्टी एकता सम्भव नभएको बताएका छन् । विगतको पृष्ठभूमि र समीक्षा गर्दा एमालेसँग तत्काल एकता हुने सम्भावना नदेखिएको उनको भनाइ छ । उनले एमालेलाई ‘भ्रष्टाचारी जोगाउने पार्टी’को संज्ञासमेत दिएका छन् ।
प्रचण्डले तत्काल एमालेसँग पार्टी एकता सम्भव नभएको बताए।
एमालेसँग एकता हुने प्रचारमा सत्यता नभएको उनको स्पष्टीकरण।
प्रचण्डद्वारा एमालेलाई ‘भ्रष्टाचारी जोगाउने पार्टी’को संज्ञा।
अन्य दलले आत्मसमीक्षा नगरेको प्रचण्डको टिप्पणी।
माओवादी विचार र शक्ति नेकपाभित्रै रहेको प्रचण्डको दाबी।
जागरण अभियान उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले विगतमा जसका विरुद्ध लडाइँ लडियो, उसैसँग वार्ताको टेबलमा बसेर देशलाई शान्तिको मार्गमा अघि बढाएको स्मरण गरे । आवश्यकताअनुसार सबैसँग मिलेर अघि बढ्न सकिने भए पनि एमालेसँग तत्काल एकता हुन लागेको भन्ने प्रचारमा सत्यता नभएको उनले स्पष्ट पारे ।
‘एमालेसँग अहिले नै एकता भइहाल्छ भन्ने हल्ला देशभित्र र बाहिरबाट पनि चलाइएको सूचना पाएको छु । तर, यथार्थ त्यस्तो होइन,’ उनले भने ।
प्रचण्डले आफ्नो पार्टीले विगतका गल्तीको समीक्षा गरेको उल्लेख गर्दै अन्य दलले भने आत्मसमीक्षा गर्ने नगरेको टिप्पणी गरे । ‘हामीले समीक्षा गरेका छौँ । गल्ती गरेका छौँ भनेका छौँ,’ उनले एमालेतर्फ लक्षित गर्दै भने, ‘अरू दलहरू आत्मसमीक्षा भन्ने गर्दै गर्दैनन् ।’
‘माओवादी पार्टी सकियो’ भन्ने टिप्पणीप्रति असन्तुष्टि जनाउँदै प्रचण्डले माओवादी विचार र शक्ति नेपाली कम्युनिस्ट पार्टीभित्रै रहेको दाबी गरे । विचारको राजनीति कहिल्यै नहराउने उल्लेख गर्दै उनले विगतमा ६० जनाले सुरु गरेको जनयुद्धलाई पछि ६० लाखले समर्थन गरेको र त्यही शक्तिको बलमा देशमा गणतन्त्र स्थापना भएको दाबी गरे ।
प्रतिक्रिया दिनुहोस