२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

कारागारमा अत्यधिक चाप

उदयपुर कारागारमा क्षमताभन्दा झन्डै चार गुणा बढी कैदीबन्दी, जीर्ण भवनमा कष्टकर जीवन

चार दशक पुरानो जीर्ण भवनमा २१८ पुरुष र १४ महिला कैदीबन्दी, नयाँ भवन निर्माणको ठेक्का प्रक्रिया अझै अघि बढ्न सकेन।

बुधवार , कार्तिक १८, २०८३

नेपालसेज/ उदयपुर।
उदयपुर कारागारमा क्षमताभन्दा झन्डै चार गुणा बढी कैदीबन्दी राखिँदा उनीहरूको दैनिक जीवन कष्टकर बनेको छ। ६० जनाको क्षमता रहेको चार दशक पुरानो जीर्ण भवनमा हाल २३२ कैदीबन्दी कोचिएर बस्न बाध्य छन्।
कारागार प्रशासक बैकुण्ठराज रेग्मीका अनुसार कारागारमा २१८ पुरुष र १४ महिला कैदीबन्दी रहेका छन्। क्षमताभन्दा अत्यधिक सङ्ख्यामा कैदीबन्दी राख्नुपर्दा खाने, बस्ने, सुत्ने तथा शौचालय प्रयोग गर्नसमेत समस्या भइरहेको उहाँले बताउनुभयो।

सम्पादकीय सारांश

Verified

उदयपुर कारागारको क्षमता ६० जनाको भए पनि अहिले २३२ कैदीबन्दी छन्।

कारागारमा २१८ पुरुष र १४ महिला कैदीबन्दी रहेका छन्।

खाने, बस्ने, सुत्ने र शौचालय प्रयोग गर्नसमेत समस्या भइरहेको छ।

भवनका गारो र पर्खाल कमजोर हुँदा भत्किने जोखिम रहेको प्रशासनको भनाइ छ।

नयाँ भवन निर्माणका लागि चालु आर्थिक वर्षमा स्रोत सुनिश्चित भए पनि ठेक्का प्रक्रिया अघि बढेको छैन।

साँघुरो ठाउँ, जीर्ण संरचना र वर्षायाममा छानाबाट पानी चुहिने समस्याले कैदीबन्दीको स्वास्थ्यमा समेत असर परेको प्रशासनले जनाएको छ। गर्मी र जाडोका समयमा बिरामी पर्ने समस्या बढ्ने गरेको प्रशासक रेग्मीले बताउनुभयो। पूर्वाधार अभावका कारण वृद्ध तथा दीर्घरोगी कैदीबन्दीको स्वास्थ्य सुरक्षामा चुनौती थपिएको छ। यही अवस्थालाई ध्यानमा राख्दै हालै सात जना कैदीबन्दीलाई काठमाडौँस्थित कारागारमा स्थानान्तरण गरिएको प्रशासक रेग्मीले जानकारी दिनुभयो।

नयाँ भवन निर्माणका लागि एक दशकअघि नै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी योजना स्वीकृत गरिएको थियो। आर्थिक वर्ष २०७१/७२ मा निर्माण योजना स्वीकृत भए पनि भूकम्प र कोभिड महामारीका कारण बजेट उपलब्ध हुन नसकेको कारागार प्रशासनको भनाइ छ। लामो प्रयासपछि चालु आर्थिक वर्षमा सरकारले नयाँ भवन निर्माणका लागि स्रोत सुनिश्चित गरेको छ। सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय सप्तरीमार्फत निर्माण गर्ने तयारी भए पनि हालसम्म ठेक्का प्रक्रिया अघि बढ्न सकेको छैन।

हालको कारागार भवनका गारो भत्किएका छन् भने पर्खालसमेत कमजोर अवस्थामा छन्। पुरानो प्रविधिबाट काठका बटम र पटाहा प्रयोग गरी ढलान गरिएको भवन जुनसुकै बेला भत्किन सक्ने जोखिम रहेको प्रशासनले जनाएको छ। क्षमताभन्दा अत्यधिक कैदीबन्दी, जीर्ण भौतिक संरचना र स्वास्थ्य सुरक्षासम्बन्धी चुनौतीका कारण उदयपुर कारागारमा नयाँ भवन निर्माण तत्काल अघि बढाउनुपर्ने आवश्यकता देखिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images