नेपाली दूतावास र नेपाल पर्यटन बोर्डको सहकार्यमा ढाकामा आयोजित कार्यक्रममा नेपाल र बङ्गलादेशका पर्यटन व्यवसायीबीच संयुक्त पर्यटन प्याकेज, सामूहिक भ्रमण तथा पर्यटन सहकार्य विस्तारबारे छलफल भएको छ।
नेपालसेज/ काठमाडौं।
नेपाली पर्यटनको अन्तर्राष्ट्रिय प्रवर्द्धन गर्ने उद्देश्यले बङ्गलादेशको राजधानी ढाकामा पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरिएको छ। ढाकास्थित नेपाली दूतावास र नेपाल पर्यटन बोर्डको सहकार्यमा बुधबार ‘नेपाल बोलाउँदैछः भ्रमण गरौँ, अन्वेषण गरौँ र अनुभव गरौँ’ नारासहित कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा नेपाल र बङ्गलादेशका पर्यटन क्षेत्रका व्यवसायीबीच व्यावसायिक छलफल भएको थियो। छलफलमा संयुक्त पर्यटन प्याकेज निर्माण, सामूहिक भ्रमण तथा पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने विषयमा विचार आदानप्रदान भएको नेपाली दूतावासले जनाएको छ।
ढाकामा ‘नेपाल बोलाउँदैछः भ्रमण गरौँ, अन्वेषण गरौँ र अनुभव गरौँ’ नारासहित पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना।
नेपाल र बङ्गलादेशका पर्यटन व्यवसायीबीच व्यावसायिक छलफल।
संयुक्त पर्यटन प्याकेज र सामूहिक भ्रमण प्रवर्द्धनमा जोड।
नेपाली राजदूत घनश्याम भण्डारीद्वारा बङ्गलादेशी पर्यटकलाई नेपाल भ्रमणको आग्रह।
नेपाली पर्यटन व्यवसायी ढाकामा आयोजित १४औँ Bangladesh Travel and Tourism Fair मा सहभागी।
कार्यक्रममा बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले पर्यटन र जनस्तरको सम्बन्ध नेपाल–बङ्गलादेश सम्बन्धका महत्वपूर्ण आधार भएको बताउनुभयो। उहाँले बङ्गलादेशी पर्यटकलाई नेपाल भ्रमण गर्न आग्रह गर्दै नेपालको भौगोलिक निकटता, सांस्कृतिक समानता र विविध पर्यटकीय गन्तव्यबारे जानकारी गराउनुभयो। कार्यक्रमका प्रमुख अतिथि बङ्गलादेश सरकारको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव नुरुन नहर चौधरीले पर्यटन सहकार्य तथा हवाई र अन्य सम्पर्क विस्तारले दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने बताउनुभयो। उहाँले दुवै देशका पर्यटन व्यवसायीलाई व्यावसायिक सञ्जाल विस्तार, साझेदारी तथा संयुक्त पर्यटन प्याकेज विकास गर्न आग्रह गर्नुभयो।
नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सन्तोषकुमार घिमिरेले नेपालको प्राकृतिक, सांस्कृतिक, आध्यात्मिक, साहसिक तथा स्वास्थ्य पर्यटनका सम्भावनाबारे जानकारी गराउनुभयो। उहाँले नेपाललाई वर्षभरि भ्रमण गर्न सकिने सुरक्षित र आतिथ्यपूर्ण गन्तव्यका रूपमा प्रस्तुत गर्नुभयो। कार्यक्रममा नेपाली दूतावासका उपप्रमुख प्रतीक कार्की, बङ्गलादेशका Tour Operators Association का अध्यक्ष मोहम्मद हनिफ र Asian Tourism Fair का अध्यक्ष मोहिउद्दिन हेलालले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो।
यसैबीच, नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपाली पर्यटन व्यवसायी तथा ट्राभल एजेन्सीका प्रतिनिधि ढाकामा जारी तीनदिने १४औँ Bangladesh Travel and Tourism Fair मा सहभागी भएका छन्। उक्त सहभागिताले नेपाली पर्यटनको प्रचारप्रसार र दुई देशका पर्यटन व्यवसायीबीच सहकार्यका अवसर विस्तार गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस