भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाका लागि नेपाल चेम्बर अफ कमर्सले सहयोग तीव्र बनाएको छ।
NepalSays/ काठमाडौं — भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा ठूलो जनधन तथा भौतिक संरचनामा क्षति पुगेपछि नेपाल चेम्बर अफ कमर्सले उद्धार, राहत तथा पुनर्स्थापनाका लागि राहत अभियान अघि बढाएको छ। प्रभावित क्षेत्रमा उद्धार, राहत तथा समन्वयलाई थप प्रभावकारी बनाउन चेम्बरले विपद् व्यवस्थापन कोष स्थापना गरेको छ, जसको नेतृत्व चेम्बरका उपाध्यक्ष दीपक मल्होत्राले गरिरहेका छन्। कक्षमार्फत प्रभावित क्षेत्रको अवस्था बुझ्ने, आवश्यक राहत पहिचान गर्ने तथा सरकारी निकाय, जिल्ला चेम्बर र निजी क्षेत्रसँग समन्वय गरी उद्धार तथा राहत कार्यलाई सहजीकरण गरिनेछ। चेम्बरले बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ।
रसुवा, नुवाकोट र धादिङका प्रभावितलाई नगद तथा जिन्सी सहयोग उपलब्ध।
उद्धारका लागि ५० किलो पेलोड क्षमताको ड्रोन विदुर पठाइयो।
१०० किलो पेलोड क्षमताको ड्रोन पठाउने तयारी अन्तिम चरणमा।
प्रभावित क्षेत्रमा १२५ वटा पावर बैंक उपलब्ध गराइयो।
नेपाल युथ चेम्बरद्वारा रक्तदान कार्यक्रम आयोजना।
चेम्बरले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित सर्वसाधारण, स्वदेशी तथा विदेशी यात्रु, उद्योगी–व्यवसायी र स्थानीय समुदायको साथमा सधैं रहने प्रतिबद्धता जनाएको छ। बाढीका कारण घर, पसल, निजी तथा सार्वजनिक सवारीसाधन, मालवाहक सवारी, भन्सार यार्डमा रहेका सवारीसाधन, पुल, जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुगेको चेम्बरले जनाएको छ।

विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले चेम्बरले राहत संकलन तथा वितरण कार्य अघि बढाएको छ। रसुवा, नुवाकोट तथा धादिङमा सम्बन्धित जिल्ला चेम्बरमार्फत तत्काल नगद तथा जिन्सी सहयोग उपलब्ध गराइएको छ। आवश्यकता अनुसार प्रभावित क्षेत्रमा थप राहत सहयोग जारी राख्ने प्रतिबद्धता पनि चेम्बरले जनाएको छ।
उद्धार कार्यलाई थप प्रभावकारी बनाउन चेम्बरले ५० किलो पेलोड क्षमताको ड्रोन र एउटा सर्भिलेन्स ड्रोन विदुर नगरपालिकामा पठाइसकेको छ। त्यस्तै, १०० किलो पेलोड क्षमताको अर्को ड्रोन पठाउने तयारी अन्तिम चरणमा रहेको जनाएको छ। विपद् व्यवस्थापन कक्षले आवश्यकताका आधारमा उद्धार तथा राहतका लागि थप स्रोत परिचालन र सम्बन्धित निकायसँग समन्वय गर्नेछ। प्रभावित क्षेत्रमा चेम्बरले १२५ वटा पावर बैंक समेत उपलब्ध गराइसकेको छ। यसैगरी नेपाल युथ चेम्बरले बिहीबार जमलस्थित सचिवालयमा रक्तदान कार्यक्रम आयोजना गरेको र आवश्यकता अनुसार कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
चेम्बरले मातहतका जिल्ला तथा नगर चेम्बर, नेपाल महिला चेम्बर, नेपाल युथ चेम्बर, विपद् व्यवस्थापन परिषद् तथा अन्य वस्तुगत संघलाई उद्धार, राहत तथा आवश्यक व्यवस्थापन कार्यमा तत्काल सक्रिय हुन आग्रह गरेको छ। विपद्को कठिन घडीमा सरकार, निजी क्षेत्र, सामाजिक संघसंस्था तथा आम नागरिक सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्दै एकजुट हुनुपर्ने चेम्बरले जनाएको छ। तत्कालीन उद्धार तथा राहतसँगै प्रभावित क्षेत्रको पुनर्स्थापना र पुनर्निर्माणमा समेत आवश्यक सहयोग तथा सहकार्य गर्ने प्रतिबद्धता चेम्बरले जनाएको छ।
प्रतिक्रिया दिनुहोस